१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘पुतली बाजे’का नामले परिचित कोलिन स्मिथको ८७ वर्षको उमेरमा निधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:३४:oo

बेलायतबाट नेपाल आएर पुतलीको खोज र अनुसन्धानमा जीवन बिताएका ‘पुतली बाजे’का नामले परिचित कोलिन स्मिथको शनिबार निधन भएको छ । पेटसम्बन्धी रोगका कारण विगत दुई महिनादेखि पोखराको हरियोखर्क अस्पतालमा उपचारका लागि भर्ना भएका उनको ८७ वर्षको उमेरमा निधन भएको हो । 

युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी अध्ययन गरेका उनी युनाइटेड मिसन टु नेपालमार्फत पढाउन भन्दै ०२२ को अन्त्यतिर नेपाल आएका थिए । सुरुमा उनले पोखरा लामाचौरस्थित नेपाल आदर्श विद्यालयमा पढाउन थाले । मिसनसँग खटपट परेपछि दुई वर्ष पढाएर उनी पुनः आफ्नै देश फर्किए । त्यसको ६ महिनापछि मिसनले उनलाई फेरि गोरखाको अमरज्योति स्कुलमा पठायो । जहाँ उनले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँगै स्वर्गीय डा. उपेन्द्र देवकोटालाई पढाएका थिए । चार वर्षको गोरखा बसाइपछि उनी काठमाडौं गएर आनन्दकुटीमा पढाउन थाले । आन्दकुटी हुँदै उनी त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरी प्राकृतिक विज्ञान संग्रहालयका लागि काम गरेका थिए । 

५८७ प्रजातिका पुतली संकलन
स्मिथले नेपालका ४० भन्दा बढी जिल्ला पुगेर २५ हजारभन्दा बढी पुतली संकलन गरेका थिए । उनका काका बेलायतमा पुतलीसंग्रह गर्दर्थे । काकाको काम देखेर उनीसमेत आकर्षित थिए । १३ वर्षको उमेरमा उनी स्काउटबाट जंगल घुम्न जाँदा पुतली देखेर झन् मोहित भए । त्यसपछि उनी काकासँग मिलेर पुतली संकलनमा लागे । बेलायतमा पुतली संकलनको काम गर्ने रहर लागेर पूरा गर्न नपाएका उनले नेपाल आएर आफ्नो रहर पूरा मात्र गरेनन्, आफूलाई पुतली बाजेको नामले चिनाउन सफल भए । 

अध्यापनका लागि पोखरा आएपछि उनको भेट पिसकोर भोलेन्टियर डोरोथी मिरोसँग भएको थियो । मिरोले पोखराको पृथ्वीनारायण क्याम्पसमा ०२३ तिर म्युजियम निर्माण सुरु गरेका थिए । मिरोसँग भेटपछि स्मिथले पुतली खेजेर ल्याउने र क्याम्पसको म्युजियममा राख्ने सहमति भएको थियो । पुतलीसंग्रहको काममा ०५५ देखि स्मिथसँगसँगै काम गर्दै आएका पोखरा महानगरपालिका–३ नदीपुरका सुरेन्द्र परियारले नेपालमा पाइने ६६० प्रजातिका पुलतीमध्ये ५८७ प्रजातिका पुतली स्मिथले संकलन गरेको जानकारी दिए । संकलन गरेका पुतलीहरू पृथ्वीनारायण क्याम्पसको हाताभित्र रहेको म्युजियममा छन्, जसको सञ्चालन अन्नपूर्ण प्रकृति संरक्षण कोषले गर्दै आएको छ । 

नेपालमा पुतलीको अध्ययन र खोजमा विशेष योगदान दिएका उनको शिरमा प्रायः ढाकाटोपी हुन्थ्यो । नेपालका ४० बढी जिल्ला पुगेर २५ हजार बढी पुतली संकलन गरेका उनी नेपाली भएर मर्न चाहन्थे । उनले करिब २० वर्षको प्रयासपछि ०७६ मंसिरमा सम्मानार्थ नेपाली नागरिकता पाएका थिए ।

ad
ad