
राजनीतिक सञ्चारमा ठूलो झूटलाई ‘भ्रामक सत्य प्रभाव’ भनेर चिनिन्छ । यो प्रभाव तब देखिन्छ, जब बारम्बार मिथ्या सूचनालाई फैलाइन्छ र आममानिसले त्यस सूचनालाई सत्य ठानेर विश्वास गर्छन् । बारम्बार फैलाउँदा झुटले स्वीकृति हासिल गर्ने गर्छ । आममानिसले जति धेरैपटक झुटमा आधारित विचार र विषयवस्तुबारे जानकारी पाउँछन्, त्यति धेरैपटक मिथ्या सूचनालाई वास्तविकताको रूपमा ग्रहण गरिने सम्भावना बढ्छ ।
इन्टरनेट र सामाजिक सञ्जालमा मिथ्या समाचार अत्यधिक मात्रामा फैलिने गर्छ । मिथ्या सूचनाले गलत वा अपूरो जानकारीलाई जनाउँछ र त्यसैगरी दुराशययुक्त सूचना अभियानले नियतवश भय र शंका उत्पन्न गर्न प्रोपोगान्डाको प्रसार गर्छ । दुराशययुक्त सूचना उद्योग चलाउने र झुटको कारोबार गर्ने दलालमाझ बृहत् सार्वजनिक वृत्तमा प्रोपोगान्डा र षड्यन्त्रका सिद्धान्त फैलाउने ठुलै खुबी हुने गर्छ ।
सामाजिक आख्यानको उत्पादन
इस्लामद्वेषी र प्यालेस्टाइनविरोधी विचार एवं षड्यन्त्र मिडिया च्यानल र संगठित सञ्जालमार्फत फैलिँदै आएको छ । फैलावटका क्रममा विशेषतः युद्ध, द्वन्द्व र बढ्दो राजनीतिक तनावको समयमा यस्ता विचार एवं षड्यन्त्र सामाजिक तथ्यको रूपमा ग्रहण हुने गर्छ ।
उल्लिखित तनावका समयमा हिंसालाई बढ्दो रूपमा फैलिने अमानवीकृत भाष्य र ‘भयका कथा’ले बल पु¥याउने काम गर्छ । यस्ता लक्ष्यित प्रोपागान्डाले सम्पूर्ण जनसंख्यालाई नै अपराध र सामाजिक समस्या फैलाउने पथभ्रष्ट ‘लोक सैतान’का रूपमा चित्रण गर्छ । फलतः नैतिक सन्त्रासको उत्पादन हुन्छ र उत्पीडन जायज ठहरिन पुग्छन् ।
हिंसात्मक जोखिम
मेरो पुस्तक ‘अन्डर सिज : इस्लामोफोबिया एन्ड द ९/११ जेनेरेसन’मा मैले अमेरिकामा सेप्टेम्बर ११, २००१ मा भएको आतंककारी घटनापछि विश्वभरका दुई अर्ब मुसलमानले सामूहिक दण्ड पाएका थिए भन्ने उल्लेख गरेकी छु । मुसलमानलाई पश्चिमा समाजलाई क्षति पुर्याउने लोक सैतान बनाइयो अर्थात् मुसलमान समुदायलाई हिंसालाई समर्थन गर्ने र फैलाउने समूहका रूपमा चिनाइयो ।
हालैका दिनमा यस्तो भाष्यलाई प्रधानमन्त्री जस्टिन ट्रुडोलगायत अन्य क्यानेडेली नेताले सार्वजनिक भाषणमा व्यक्त गरिरहेका छन् । टोरोन्टोका मेयर ओलिभिया चाउले हालैका प्यालेस्टाइन ऐक्यबद्धता ¥याली र आन्दोलनलाई ‘हिंसा’को महिमामण्डन गर्ने काम भन्दै यस्ता कार्यक्रममा साहभागिता जनाउने व्यक्तिलाई ‘हमास समर्थक’को बिल्ला भिराएका छन् ।
इस्लामद्वेषको सर्वव्यापकताले सबै मुसलमान, प्यालेस्टिनी र गैरमुसलमान प्यालेस्टिनीलाई समेत सम्भावित हिंस्रक एवं आतंककारीका रूपमा पेस गरेको छ । जब यस्ता नश्लभेदी भाष्यलाई नेताले प्रयोग गर्छन्, तब प्यालेस्टिनी जनतालाई दिइने समर्थनलाई आतंकवादलाई समर्थन गरेको अर्थ लगाइन्छ । मुलुकभित्र र अन्यत्रका मुसलमानविरुद्ध भय र नैतिक सन्त्रासको सिर्जना गरिन्छ ।
अफवाह र इस्लामद्वेषको सर्वव्यापकताले सबै मुसलमान, प्यालेस्टिनी र गैरमुसलमान प्यालेस्टिनीलाई समेत आतंककारीका रूपमा पेस गरेको छ
मुसलमानविरोधी नीति
मिडिया र मुसलमानविरोधी भाष्य प्रवद्र्धन गर्ने विभिन्न सामाजिक मञ्चबाट नियमित रूपमा पूर्वाग्रही एवं पक्षपाती समाचार उपभोग गर्ने व्यक्तिले स्वाभाविक रूपमा मुसलमान हिंसात्मक हुन्छन् भन्ने धारणामा विश्वास गर्छन् । मुसलमानप्रतिको नकारात्मक धारणा क्यानडामा पनि देख्न सकिन्छ ।
सन् २०१७ मा रेडियो क्यानडाको सर्वेक्षणले धेरै क्यानेडेली र क्युबेक क्षेत्रका क्यानेडेलीले मुलुकका मुसलमानलाई लिएर चिन्ता व्यक्त गरेको देखाएको छ । क्यानडका आधा उत्तरदाता र क्युबेकका आधाभन्दा बढीले मुसलमानको उपस्थितिका कारण सुरक्षाबारे चिन्ता महसुस गरेको बताएका छन् । यसबाहेक करिब एकचौथाइ क्यानेडेली र क्युबेकवासी एकतिहाइले मुलुकमा मुसलमान आप्रवासीलाई प्रतिबन्ध लगाउनुपर्ने कुरा गरेका छन् ।
व्यापक इस्लामद्वेषी भावना मुसलमानविरोधी नीति र अभ्यासमा प्रतिबिम्बित हुने गर्छ । हालै क्यानडा ओन्टारियोको मार्कहम पब्लिक लाइब्रेरीले आफ्ना शाखाबाट अस्थायी रूपमा इस्लामिक सम्पदा प्रदर्शनमा रोक लगाएको छ । रोक लगाउने क्रममा कर्मचारीलाई ‘मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै, इस्लामिक सम्पदा महिनालाई सक्रिय रूपमा प्रवद्र्धन नगर्नु हाम्रो लागि उत्तम हो’ भन्ने व्यहोरासहित इमेल लेखिएको छ ।
क्यानडामा इस्लामद्वेषका घातक परिणाम पनि सतहमा आएका छन् । ओन्टारियो सहरमा सन् २०२१ मा ट्रकले कुल्चेर पाकिस्तानी मूलका क्यानेडेली परिवारका चार सदस्यको हत्या गरिएको थियो । हत्याको अभियोग लगाइएको व्यक्तिले अनुसन्धानका क्रममा अपराध गर्नुका पछाडि मुसलमान ‘ग्रुमिङ गिरोह’ अर्थात् बालबालिका अपहरण गरेर यौन दुव्र्यवहार गर्ने गिरोहका कारण गरेको बताएका थिए । जबकि यस्ता मुसलमान ‘ग्रुमिङ गिरोह’का भाष्यमा कुनै पनि किसिमको सत्यता मौजुद छैन ।
अनलाइन अफवाह र दुराशययुक्त सूचना
हमासले ४० इजरायली बालबालिका घाँटी रेटेर जलाएको भन्ने अपुष्ट दाबीलाई विभिन्न मुलुकका नेतृत्वदायी भूमिकाका व्यक्ति, सेलिब्रेटी र मिडियाले फैलाएका थिए । जबकि यो नृशंस अपराधको दाबीलाई इजरायली अधिकारीले समेत कुनै औपचारिक पुष्टि गरेको थिएन । यसका बाबजुद फैलिएको मिथ्या सूचनाले प्यालेस्टिनी जनताको अमानवीकरण गरेको छ । नतिजा प्यालेस्टिनीलाई ‘रक्तप्यासी राक्षस’ र ‘पशु मानव’को संज्ञा दिइएको छ । यसकारण प्यालेस्टाइनविरोधी नश्लभेद अत्यधिक बढेको छ । दुराशययुक्त सूचना र राक्षसीकरणको अभियानले अमेरिकाको प्लेनफिल्डमा प्यालेस्टिनी मूलका ६ वर्षीय अमेरिकी मुसलमान बालक वदिया अल–फयुमीको दुःखद हत्या निम्त्याएको थियो । यी बालकलाई गोरा घरबेटीले २६ पटक छुरा घोपेका थिए र बालककी आमालाई ‘तिमी मुसलमानहरू मर्नैपर्छ !’ भनेका थिए ।
युद्धका हताहती
यी हिंसात्मक परिणामले ग्रिक नाटककार एस्किलसको ‘युद्धमा सबैभन्दा पहिला सत्यको हत्या हुन्छ’ भन्ने सैन्य भनाइको सम्झना गराउँछ । युद्ध र द्वन्द्वका वेला दुराशययुक्त सूचना सबैभन्दा पहिले प्रयोग गरिने अस्त्र हो । राजनीतिक नेता र मिडियाका भाष्यलाई आँखा चिम्लेर पत्याउने सुविधा हामीसँग छैन । यो कहालीलाग्दो समयमा आममानिसले सत्य र असत्य आख्यानबीचको भेदलाई छुट्याउन सक्नुपर्छ ।
द कन्भर्सेसनबाट (जाइन विल्फ्रेड लौरियर विश्वविद्यालयकी समाजशास्त्रकी प्राध्यापक हुन्)