
दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई एक सय ९० रनको फराकिलो अन्तरले हराउँदै आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमाथि कब्जा जमाएको छ । पुनेमा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा चार विकेट गुमाएर तीन सय ५७ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा न्युजिल्यान्डले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रन मात्र जोड्यो । जितसँगै दक्षिण अफ्रिकाले सात खेलबाट १२ अंक जोडेको छ । न्युजिल्यान्ड आठ अंकका साथ चौथो स्थानमा सीमित भएको छ ।
दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डी कोक र भान डे दुसानले शतकीय इनिङ्स खेलेका थिए । दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई सन् १९९९ को विश्वकपपछि हराएको हो । दुई दशकपछि दक्षिण अफ्रिकाले न्युजिल्यान्डमाथि विश्वकपमा सानदार जित निकाल्न सफल भयो । चालू विश्वकपमा दक्षिण अफ्रिकाले सात खेल खेल्यो । यसक्रममा चारपटक दक्षिण अफ्रिकाले तीन सय ५० रनमाथिको योगफल खडा गरेको छ । डी कोकले आफ्नो २१औँ एकदिवसीय अन्तर्राष्ट्रिय शतक
पूरा गरे ।
उनले सन् २०१५ र २०१९ को संस्करणमा पनि शतक लगाएका थिए । न्युजिल्यान्डविरुद्धको खेलमा दक्षिण अफ्रिकाले अन्तिम २० ओभरमा दुई सय दुई रन बनाएको थियो । पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३१ देखि ५० ओभरसम्म तीन विकेट मात्र गुमाएको थियो । यसक्रममा डेभिड मिलरले ३० बलमा दुई चौका र चार छक्का प्रहार गरी ५३ रन बनाए । भान डेरले एक सय १८ बलमा एक सय ३३ रन जोडे । उनले नौ चौका र पाँच छक्का ठोके ।
डी कोकको विश्वकपमा चौथो शतक
दक्षिण अफ्रिकाका ओपनर डी कोकले आइसिसी एकदिवसीय विश्वकपमा चौथो शतक प्रहार गरेका छन् । उनले विश्वकपअन्तर्गत न्युजिल्यान्डविरुद्धको महत्वपूर्ण खेलमा शतकीय इनिङ्स खेलेका हुन् । उनले एक सय तीन बलमा शतक पूरा गरेका हुन् ।
चालू विश्वकपमा उनले श्रीलंकाविरुद्ध सय रन, अस्ट्रेलियाविरुद्ध एक सय ९ र बंगलादेशविरुद्ध एक सय ७४ रनको इनिङ्स खेलेका थिए । एकै विश्वकपमा सर्वाधिक शतक लगाउने भारतका कप्तान रोहित शर्मा हुन् । डी कोक एकै विश्वकपमा चार शतक संख्या पूरा गर्ने विश्वका तेस्रो र दक्षिण अफ्रिकाका पहिलो खेलाडी हुन् । न्युजिल्यान्डविरुद्धको इनिङ्समा उनले एक सय १६ बलमा १० चौका र तीन छक्का प्रहार गरेका थिए । उनले आफ्नो इनिङ्समा एक सय १४ रन बनाए ।
लक्ष्य पछ्याएको न्युजिल्यान्डको इनिङ्समा केशव महराजले ४६ रन खर्चेर सर्वाधिक चार विकेट लिए । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा समान चार चौका र छक्का प्रहार गरे । यसैगरी, विली योङले ३७ बलमा पाँच चौकाको सहयोगमा ३३ रन बनाए ।