सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्त लुम्बिनी भ्रमणमा आएका वेला लुम्बिनी गुरुयोजनाको सुरुवात भएको थियो । बर्माका नागरिक थान्तको प्रयासमा सुरु भएको गुरुयोजनाअनुसारको काम अझै अधुरै छ ।
तत्कालीन महासचिव थान्तले मायादेवीको पुरानो मन्दिर र त्यसको आडमा अशोक स्तम्भबाहेक लुम्बिनीमा अरू केही देखेका थिएनन् । मन्दिर क्षेत्रको जीर्ण अवस्था देखेर बौद्धमार्गी थान्त लुम्बिनीका लागि केही गर्ने अठोट लिएर गुरुयोजना बनाउन लागिपरेका थिए । उनले तत्कालै नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरुयोजना’ बनाएर अघि बढ्न प्रस्ताव गरे । सन् १९७२ मा जापानी वास्तुविद् प्राध्यापक केन्जो टांगेले लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिएका थिए । प्रख्यात वास्तुविद्का रूपमा रहेका टांगेले सन् १९७८ मा सरकारलाई हस्तान्तरण गरेको गुरुयोजना स्वीकृत भएपछि योजनाबद्ध रूपमा लुम्बिनीमा काम सुरु भएको हो ।
राष्ट्रिय गौरवका परियोजनाका रूपमा रहेको गुरुयोजना सन् १९७८ मा सुरु हुँदा लागत ५५ मिलियन अमेरिकी डलर थियो । सन् १९९५ मा सम्पन्न हुने लक्ष्य राखिएको यो योजना अहिले ४७ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।
लुम्बिनी गुरुयोजना तयार भएपछि कार्यान्वयनका लागि सन् १९७८ मा विकास समिति गठन ऐन २०१३ का आधारमा लुम्बिनी विकास समिति गठन भएको थियो । ०४२ मा लुम्बिनी विकास कोष ऐनद्वारा लुम्बिनी विकास कोषको गठन भई लुम्बिनी गुरुयोजनाको कार्यान्वयन प्रक्रियामा गएको थियो । १७ वर्षमा पूरा गर्ने गरी गुरुयोजना बनाइए पनि ४७ वर्षमा जम्मा ८६ प्रतिशत काम पूरा भएको छ ।
अहिले लुम्बिनी विकास कोष गुरुयोजनाअनुसार काम सक्नुभन्दा पनि गुरुयोजनालाई तोडमोड गरी काम बढाउन लागिपरेको छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले हाल ८६ प्रतिशत काम पूरा भएको बताए । एकैपटक बजेट विनियोजन हुन नसक्दा गुरुयोजनाका काममा ढिलाइ भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले दाबी गरे ।
लुम्बिनीमा अहिले चार अर्बको ठेक्कामार्फत १४ किलोमिटर मुख्य सडक, भित्री सडक २२ किलोमिटर, ५२ किलोमिटर ढल निर्माण, हरियाली, विद्युतीकरण र १२ वटा गेट निर्माणका कार्य भइरहेको छ । गुरुयोजना पूरा गर्न बाँकी कामका लागि तीन अर्बको ठेक्का अन्तिम चरणमा पुगेको योजना प्रमुख सरोज भट्टराईले बताए ।
लुम्बिनीको विकासमा अहिलेसम्म १० अर्बभन्दा बढी खर्च भइसकेको छ । गुरुयोजनाभित्र विहार क्षेत्रमा सबैभन्दा बढी करिब चार अर्ब रुपैयाँ खर्च भएको छ । विभिन्न १७ मुलुकले २५ वटा विहार निर्माण गरेका छन् । लुम्बिनी गुरुयोजनाको पूर्वतर्फ श्रीलंका, बर्मा, थाइल्यान्ड, कम्बोडिया, क्यानडासहितका १३ देश र पश्चिमतर्फ चीन, सिंगापुर, जापान, कोरिया, फ्रान्स, जर्मनी, भियतनामलगायतले बुद्धविहार निर्माण गरेका छन् ।