पाकिस्तानले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा लगातार चौथो हारपछि जित निकालेको छ । भारतमा चलिरहेको विश्वकपअन्तर्गत ३१औँ खेलमा पाकिस्तानले मंगलबार बंगलादेशलाई सात विकेटले हरायो । यसअघि पाकिस्तान लगातार चार खेलमा पराजित भएको थियो । पाकिस्तान भारतसँग सात विकेट, अस्ट्रेलियासँग ६२ रन, अफगानिस्तानसँग आठ विकेट र दक्षिण अफ्रिकासँग एक विकेटले पराजित भएको थियो । जितसँगै पाकिस्तान ६ अंकका साथ पाँचौँ स्थानमा उक्लँदै शीर्ष चारको सम्भावना जीवितै राखेको छ । पाकिस्तानको जितले अफगानिस्तान छैटौँ स्थानमा पुगेको छ ।
कोलकाताको इर्डन गार्डेन मैदानमा पहिलो ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओभरमा सबै विकेट गुमाएर दुई सय चार रनको मध्यम योगफल खडा गर्यो । प्रत्युत्तरमा पाकिस्तानले ३२.३ ओभरमा तीन विकेटको क्षतिमा दुई सय पाँच रन जोड्यो । पाकिस्तानले एक सय पाँच बलअघि जित निकाली रनरेटमा समेत सुधार गरेको छ । पाकिस्तानको जितमा ओपनर अब्दुलाह सफिकले ६९ बलमा ६८ रनको योगदान गरेका थिए । उनले नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी, अर्का ओपनर फखर जमामले ७४ बल सामना गरी सर्वाधिक ८१ रन बनाए । उनले सात छक्का र तीन चौका प्रहार गरे ।
विकेटकिपर ब्याट्सम्यान मोहमद रिजवानले २१ बलमा २६ रन र इफ्तिखर अहमेद १७ रनमा नटआउट रहे । बंगलादेशको बलिङमा मेहदी हसनले नौ ओभरमा ६० रन खर्चेर सर्वाधिक तीन विकेट लिए । पाकिस्तानका ओपनरले पहिलो विकेटका लागि २१.१ ओभरमा एक सय २८ रनको साझेदारी गरेका थिए । यसअघि ब्याटिङ गरेको बंगलादेशले पाकिस्तानको घातक बलिङ सामना गर्न सकेन । फास्ट बलर साहिन साह अफ्रिदीले नौ ओभरमा २३ रन खर्चेर तीन विकेट लिए । मोहमद वासिमले ८.१ ओभरमा ३१ रन खर्चंदै तीन विकेट हात पारे । बंगलादेशका लागि महमुदुल्लाहले सर्वाधिक ५६ रन जोडे । उनले ७० बलमा ६ चौका र एक छक्का प्रहार गरे । लिटन दासले ६४ बलमा ४५ रन र कप्तान सकिव अल हसनले ६४ बलमा ४३ रनको योगदान दिए ।