
निर्णायक खेलमा नेपाललाई चार विकेटले हराउँदै युएईले टी–२० ट्र्यांगुलर सिरिजको उपाधि जितेको छ । लिग चरणका दुईवटै खेलमा नेपालसँग पराजित भए पनि फाइनलमा युएईले नेपाललाई चार विकेटले पराजित गर्याे ।
नेपालले दिएको एक सय ६३ रनको लक्ष्य युएईले एक बल बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गर्याे । नेपालले आजको खेलमा आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सकेन । विशेष गरी फिल्डिङमा नेपालले निकै कमजोर प्रदर्शन गर्याे ।
नेपाली फिल्डरले निराशाजनक प्रदर्शन गर्दा युएईको जितमा निर्णायक बनेका कप्तान मुहम्मद वसिमले दुईपटक जीवनदान पाएका थिए । जसका कारण उनले २२ बलमा ४५ रन बनाउँदै युएईको जितको आधार खडा गरे ।
यस्तै, नेपालको खराब फिल्डिङका कारण युएईले केही अतिरिक्त रन पनि पाएको थियो । युएईको जितमा वसिमबाहेक भृत्य अरविन्दले २५ बलमा २६, आर्यन्स शर्माले २६ बलमा २५ तथा अलिसान सराफुले १६ बलमा २२ रन बनाए ।
१६ बल खेलेर २२ रन बनाएका बसिल हमिदले अविजित रहँदै युएईलाई जिताए । उनले करण केसीको अन्तिम ओभरमा तीन बलमा जितका लागि दुई रन चाहिएका वेला छक्का प्रहार गरेका थिए ।
नेपालका बलरहरू आज प्रभावहीन देखिए । नेपाली स्पेल सुरु गरेका सोमपाल कामीले पहिलो ओभरमै १५ रन दिएका थिए । उनले पहिलो बलमै नोट बल फालेपछि त्यसको फाइदा उठाउँदै फ्री हिटमा वसिमले विशाल छक्का प्रहार गरेका थिए ।
गुल्सन झाले तीन ओभरमा १९ रन दिएर दुई विकेट लिए । यस्तै, अविनाश बोहाेराले पनि दुई विकेट लिए भने कुशल मल्लको खातामा एक विकेट रह्यो । फाइनल खेलमा करण, सोमपाल र ललित राजवंशी विकेटविहीन रहे ।
सोमपालले दुई ओभरमा २८, ललितले चार ओभरमा ३३ र करणले ३.५ ओभरमा ४२ रन खर्चिए ।
त्यसअघि कुशल भुर्तेलको आक्रमक अर्धशतकको मद्दतमा नेपालले युएईलाई जितका लागि एक सय ६३ रनको मध्यम लक्ष्य दिएको थियो ।
कीर्तिपुरस्थित क्रिकेट खेलमैदानमा टस जितेर युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । २९ बल खेलेका कुशलले ६ चौका र तीन छक्का प्रहार गरे । टी–२० करिअरको छैटौँ अर्धशतक बनाएलगत्तै उनी जहुर खानको बलमा बोल्ड हुन पुगे ।
आठौँ नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले १७ बलमा अविजित २३ रन, दीपेन्द्रसिंह ऐरीले १५ बलमा २०, कप्तान रोहित पौडेलले १७ बलमा १८ बनाए । यस्तै, सोमपाल कामीले आठ बलमा १३, सन्दीप जोराले १० बलमा १०, आसिफ सेखले १२ बलमा सात, गुल्सन झाले आठ बलमा पाँच तथा कुशल मल्लले दुई बलमा एक रन बनाए । दुई बल खेलेका अविनाश बोहाेरा शून्य रनमा अविजित रहे ।
नेपालले सुदृढ सुरुवात गरे पनि लगातार अन्तरालमा विकेट गुमाएपछि युएई खेलमा फर्किएको हो । नेपालले पाँचौँ ओभरको अन्तिम बलमा आसिफलाई पहिलो विकेटका रूपमा गुमाएको थियो ।
त्यसपछि ६३ रन बनाउँदा दोस्रो, ६८ मा तेस्रो विकेट गुमायो । रोहित र दीपेन्द्रसिंह ऐरीले केहीबेर इनिङ सम्हाले पनि १२.१ ओभरमा एक सय आठ रनको अवस्थामा कप्तान रोहित आउट भएपछि नेपालले पुनः लगातार विकेट गुमायो ।
रोहित आउट भएलगत्तै दीपेन्द्र आउट भए । नेपालले एक सय २३ रनको अवस्थामा सन्दीप जोरालाई गुमायो । नेपालले एक सय ३१ रनमा गुल्सन झा र एक सय ४३ रनको अवस्थामा सोमपाललाई गुमायो ।
नवौँ विकेटका रूपमा करण केसी र अविनाश बोहाेराबीच १७ रनको साझेदारी भएपछि नेपालले २० ओभरमा एक सय ६२ रन बनायो ।
तर, अन्तिम ओभरमा युएईले जम्मा दुई रन दियो । अन्तिम ओभर बलिङ गर्न आएका जहुर खानले पाँच बल डट राखेका थिए । उनको ओभरमा करणले जम्मा दुई रन लिन सके ।
युएईका लागि आयन अफजल खानले तीन, अली नासिर र जाहुर खानले दुई–दुई तथा जुनैद सिद्धिकीले एक विकेट लिए ।
जारी प्रतियोगिताको लिग चरणमा खेलिएका चारवटै खेल जित्दै नेपाल फाइनल पुगेको थियो । युएईले भने एक खेल मात्र जिते पनि नेट रनरेटका आधारमा हङकङलाई पछि पर्दै फाइनल यात्रा गरेको थियो ।
नेपालले लिग चरणमा युएईलाई पहिलो खेलमा सात तथा दोस्रो खेलमा पाँच विकेटले हराएको थियो ।
तस्बिरहरू : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका