१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
वीरगन्जको घडीअर्बा पोखरी
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख १९ बुधबार o८:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आर्थिक नगरीका पर्यटकीय गन्तव्यहरू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:४८:oo

देशको देशको आर्थिक नगरीको पहिचान बनाएको वीरगन्ज महानगरपालिकाभित्र र यसआसपासका क्षेत्रमा आधा दर्जनभन्दा बढी इतिहास बोकेका धार्मिक र पर्यटकीय स्थल छन् । वीरगन्जनजिकै गढीमाई मन्दिर छ, त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज पनि छ । यस्ता चर्चित ठाउँसँगै कम सुनिएका तर निकै महत्वका स्थान वीरगन्जमा धेरै छन् ।

शंकराचार्यद्वार
वीरगन्ज रक्सोल सीमाक्षेत्रको शंकराचार्यद्वार अहिले सबैको आकर्षणस्थल बनेको छ । सरकारी उदासीनता र उपेक्षाकै कारण फोहोरमैला फाल्ने डम्पिङस्थलको रूपमा परिणत भएको भन्सार क्षेत्रमा महानगरपालिकाले सरसफाइ र सौन्दर्यीकरण गरी प्रवेशद्वार निर्माण गरेपछि अहिले सबैको चासो बढेको छ । अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटक तस्बिर खिचाउन, टिकटक बनाउन भिड लाग्ने गर्छन् । विदेशबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्वारमा अंग्रेजी भाषाको डिजिटल बत्ती लगाएको छ । 

काठमाडौं, जनकपुर, विराटनगर, चितवन, नवलपरासी, मकवानपुरसम्मका आगन्तुक यहाँ घुम्न आउँछन् । भारतीय सीमानजिक पर्ने भएकाले यो द्वार भारतीय पर्यटकको समेत आकर्षणको केन्द्र बनेको छ । काँची कामकोटी विद्यापीठपति जगदगुरु शंकराचार्य श्री १००८ जयन्द्र सरस्वती स्वामीले २०४४ साल चैतमा यो गेट शिलान्यास गरेका थिए । गेट निर्माणका लागि वीरगन्जका उद्योगी व्यवसायीले चन्दा सहयोग गरेका थिए ।

घडीअर्बा पोखरी
वीरगन्जको मध्यभागमा पर्छ, घडीअर्बा पोखरी । ०५२ सालमा वीरगन्ज नगरपालिकाले निर्माण गरेको यो पोखरी १३ पुस ०५६ मा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेका थिए । त्यसअघिसम्म यो खुला पोखरीका रूपमा थियो । अहिले यो धार्मिक र पर्यटकीय गन्तव्य बनेको छ । करिब पाँच बिघामा फैलिएको पोखरीको मध्यभागमा दक्षिण एसियाकै ठूलो सूर्यमूर्ति छ । सोही मन्दिरमा गंगाको मूर्ति पनि स्थापना गरिएको छ । हरेक आइतबार साँझ जनकपुरको गंगासागर तथा भारतको वनारस र हरिद्वारमा जस्तै सूर्य–गंगा आरती हुन्थ्यो । आरती केही वर्षयता रोकिएको छ ।

यहाँ छठ पर्वको वेला मेला लाग्ने गर्छ । छठकै लागि सूर्य र गंगाका मूर्ति स्थापना गरिएको हो । दैनिक करिब पाँच सयजना पोखरीमा घुम्न आउँछन् । आगन्तुकसँग २५ रुपैयाँ शुल्क लिने गरिएको छ । वीरगन्ज महानगरपालिकाले पोखरीमा नौकाविहारको सुविधा पनि उपलब्ध गराएको छ । अहिले यो स्थान सपरिवार छुट्टी मनाउने थलो बनेको छ । भारतीय पर्यटकको समेत आकर्षणको केन्द्र बनेको छ, यो पोखरी । नेपालका करिब २० वटा जिल्लाका आगन्तुक यहाँ घुम्न आउँछन् ।

घन्टाघर
वीरगन्जको मुटुको रूपमा रहेको घन्टाघर अलग पहिचान बोकेको स्थान हो । घन्टाघर चोकमा आएका जोकोहीले पनि एउटा तस्बिर खिचाउँछन् । नेपालको अन्य ठाउँको घन्टाघरभन्दा यहाँको घन्टाघर छुट्टै किसिमको देखिन्छ । वीरगन्जको परिचयका रूपमा रहेको घन्टाघर मर्मत र रेखदेखका लागि भन्दै वीरगन्ज महानगरपालिकाले स्वामित्व लिएको छ । घन्टाघर वीरगन्जको राजनीतिक आन्दोलनहरूको साक्षी पनि हो । घन्टाघर अहिले पनि आन्दोलनको केन्द्र नै हो ।

वीरगन्जका मन्दिरहरू
गहवामाई मन्दिर वीरगन्जको एक प्रसिद्ध मन्दिर हो । यो गहवामाई भगवतीको मन्दिर हो । वीरगन्जवासीको आस्थाको केन्द्र मानिने गहवामाई मन्दिरको सयौँ वर्ष पुरानो इतिहास छ । सहरको बीच भाग माईस्थानमा अवस्थित गहवामाई मन्दिरलाई माईस्थान मन्दिर पनि भनिन्छ । प्रत्येक वर्ष दसैँको घटस्थापनादेखि दशमीसम्म गहवामाई मन्दिरमा भक्तजनको ठूलो भिड लाग्छ । भारतीय सीमानजिक पर्ने भएकाले भारतीय पर्यटकको समेत आकर्षणको केन्द्र बनेको छ । 

विन्दवासिनी मन्दिर वीरगन्जबाट आठ किलो मिटर पश्चिममा रहेको ऐतिहासिक मन्दिर हो । यहाँ पनि दसँैमा घुइँचो लाग्ने गर्छ । यो मन्दिरमा पनि विभिन्न ठाँउका भक्तजन देवीको पूजा गर्न आउँछन् । 

वीरगन्जको पिपरास्थित चिनीमिल आवास क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर पनि पछिल्लो समय भक्तजनहरूको आस्थाको केन्द्र बन्दै गएको छ । यहाँ साउन महिनाभरि भक्तजनहरू शिवको पूजापाठ गर्न पुग्छन् ।
 

ad
ad