१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
सामाजिक सुरक्षा भत्ताका लागि माङ्सेबुङ– ५ को वडा कार्यालयमा भेला भएका ज्येष्ठ नागरिक । दसैँ–तिहारलगत्तै माङ्सेबुङका ६ वटै वडामा यसरी नै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।
२o८१ बैशाख २२ शनिबार o६:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गाउँमै सुरक्षा भत्ता पाएपछि वृद्धवृद्धा खुसी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o३:oo

इलाम माङ्सेबुङ– ५ की डम्बरकुमारी लिम्बू (७५)को अनुहारमा बिहीबार खुसीको मुस्कान देखिन्थ्यो । किनकि गाउँमै वृद्धभत्ता पाएपछि सहर जानुपर्ने बाध्यता हटेको थियो । बैंक गाउँमै आएर दसैँको मुखमा उनको हातमा १२ हजार थमाएपछि उनी प्रफुल्ल देखिन्थिन् । भत्ताको रकमले उनी यसपटकको दसैँ उत्साहपूर्वक मनाउँदै छिन् । 

‘वृद्धभत्ता लिन दमक पुग्नुपथ्र्यो । दमक पुगेर आउँदा एक हजार भाडा र यताउता गर्दा झन्डै दुई हजार सकिन्थ्यो,’ लिम्बूले भनिन्, ‘तर, यसपटक त वडा कार्यालयमै पैसा पाएँ । दसैँमा पैसा निकाल्न जान भ्याउँदिनँ कि भन्ने थियो । तर, हातमै पैसा आयो, खुसी त कति कति !’

पूर्वी इलामको देहात माङ्सेबुङमा बैंक छैन । सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमै हाल्नुपर्ने भएपछि यहाँका वृद्धवृद्धा त्यसका लागि कि त झापाको दमकमा झर्नुपर्छ कि त गाउँपालिकाको कार्यालय इभाङ पुग्नुपर्छ । सामाजिक सुरक्षा भत्ता लिनका लागि दिन माया मारेर जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले सिटिजन बैंकसँगको सहकार्यमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । जुन अभियानको सुरुवात माङ्सेबुङ– ५ बाट गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । 

‘यो वडाबाट बैंकसम्म पुग्न सबैभन्दा टाढा भएकाले यहीँबाट सुरु गरेका हौँ । भत्ता लिन कि त दमक पुग्नुपर्छ कि त गाउँपालिका रहेको इभाङमा सिटिजन बैंक छ त्यहाँ पुग्नुपर्छ,’ राईले भने, ‘भत्ता लिन जाँदा र आउँदा दुई हजार खर्च हुन्छ । वृद्धवृद्धा आफैँ जान नसक्दा छोराछोरी वा आफन्तलाई पठाउँदा हातमा पैसा नै नदिएका घटना पनि छन् । तसर्थ हामीले यो अभियानको सुरुवात गरेका हौँ ।’ 

यो अभियानलाई सबै वडामा पुर्‍याउने उनले बताए । उनका अनुसार दसैँ–तिहारलगत्तै माङ्सेबुङका ६ वटै वडामा यसरी नै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । गाउँपालिकाको समन्वयमा सबै वडामा सिटिजन बैंक पुग्नेछ । त्यहीँ वृद्धवृद्धालाई भत्ता वितरण गरिने अध्यक्ष राईले बताए । ‘बैंकका कर्मचारी तीन महिनामा एकपटक सबै वडामा पुग्दा ज्येष्ठ नागरिकले गाउँमै भत्ता पाउँछन् । हामीले बैंकका कर्मचारीलाई वडासम्म पुग्ने यातायात सुविधा दिएका छौँ,’ उनले भने, ‘उनीहरू गाउँमै गएर वृद्धभत्ता वितरण गर्नुपर्नेछ ।’

गाउँपालिकाले वडामै भत्ता उपलब्ध गराउन थालेपछि वृद्धवृद्धा भने खुसी देखिन्थे । प्यारालाइसिसले हिँडडुल गर्न पनि मुस्किल भएका माङ्सेबुङ– ५ का ७१ वर्षीय हेमकर्ण नेम्वाङ खुसी देखिन्थे । उनी बोल्न नसके पनि अनुहारमा खुसी देख्न सकिन्थ्यो । माङ्सेबुङ– ५ की ७३ वर्षीया वृद्धा सुकरानी राईले बिहीबार बैंकको चेक र आफ्नो नागरिकता वडामा आइपुगेका बैंकका कर्मचारीलाई दिइन् । केही समयपछि बैंकका कर्मचारीले बसेकै ठाउँमा पुगेर १२ हजार रुपैयाँ दिए । यसरी गाउँमै वृद्धभत्ता पाउँदा सहज भएको उनले बताइन् । ‘हामीले गाउँमा भत्ता नपाएको धेरै भएको थियो । अहिले गाउँमै पाउँदा त धेरै खुसी छौँ । सधैँ यसरी नै गाउँमै पाइयोस्,’ उनले भनिन् । 

गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने एक हजार सात सय ६५ जना रहेको गाउँपालिकाले जनाएको छ । जसमध्ये बिहीबार वडा नम्बर ५ का एक सय ९८ जनालाई वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । सरकारले सामाजिक सुरक्षा भत्ता प्रत्येक तीन महिनामा वितरण गर्छ । तीन महिनामा ज्येष्ठ नागरिकले एकमुस्ट १२ हजार रूपैयाँ पाउँदै आएका छन् । 

 

ad
ad