१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

प्रहरी अधिकृतको संगीत मोह 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१५:oo

२४ घन्टा डिउटी हाम्रो, देशको सेवा गर्ने 
कहिले हिमाल, कहिले पहाड, कहिले तराई झर्ने 
यो छातीमा कुल्चे पनि देश उठ्छ भने
सहन्छुमा हाँसी–हाँसी मुटु फुट्छ भने
राष्ट्र सेवक हौँ, हामी प्रहरी.... 

यी हुन् प्रहरीले मुलुकलाई गरेको योगदान र पीडालाई समेटेर तयार पारिएका गीतका हरफ। ०७३ सालमा प्रहरी सेवामा प्रवेश गरेसँगै दाङ तुलसीपुर उपमहानगरपालिका– ७ झुमरेनिवासी भूपेन्द्र बुढाथोकीले प्रहरीले गर्ने सेवा र प्रहरीले भोग्ने पीडा देखे। अनि थाले गीत लेख्न। 

फलस्वरूप ०७४ सालमा उनले ‘हामी नेपाल प्रहरी’ शीर्षकको गीत बजारमा ल्याए। प्रहरी संगठनभित्र धेरै रुचाइएको गीत थियो, त्यो। 

उनी ०७३ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रवेश गरे। त्यसपछि ०७७ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भए। हाल उनी मुगुस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्। यसबीचमा उनले १० वटा आधुनिक गीत बजारमा ल्याएका छन् भने दर्जनभन्दा बढी गीत रेकर्डिङको तयारीमा छन्।  

उनी जहाँ जस्तो परिस्थिति र समस्या आउँछ, त्यस्तै गीत लेख्छन्। समय सान्दर्भिक गीत लेख्ने भएकाले पनि उनी प्रहरी अधिकृतसँगै कला क्षेत्रमा पनि स्थान जमाउन सफल भएका छन्। 

उनले ०७७ को दसैँ–तिहारमा प्रदेशीको पीडालाई समेटेर गीत लेखे। त्यो गीतमा पनि दसैँजस्तो महान् पर्वमा पनि घर आउन नपाउँदाको पीडा समेटिएको गीत बजारमा ल्याए।  

अर्काको देशमा भए पनि सम्झना घरकै आउँछ
चाडपर्व आउँदा यी आँखाभरि दुःखको बादल छाउँछ
बाबा र आमा टोलाउँदै होलान् मूलबाटो हेरेर 
सानी पनि फुरुंगै होलिन् दाइ आउँछ भनेर 
उता रातो टीका र जमरा 
यता पसिना गालैमा । यो साल पनि यस्तै भो बाटा 
आउँछु अर्को सालैमा....  

घर–आँगनमा खुसियाली छाउँदा प्रहरी र प्ररदेसिएकाहरूको पीडा एउटै–एउटै देखेपछि गीतमा उतारेको भूपेन्द्रले बताए। अहिले आफू विकट जिल्लामा रहेकाले त्यहाँ हिँडडुल गर्दा धेरै समस्या देख्ने र ती कुरालाई ‘डायरी’मा टिपिहाल्ने गरेको उनी बताउँछन्। ‘म जहाँ जे देख्छु, त्यहीँ डायरीमा टिपिहाल्छु,’ उनले भने, ‘उचित लागेमा गीत लेख्छु।’  

उनले मायाप्रेमका गीत पनि उत्तिकै लेखेका छन् । ०७७ सालमा ‘डाँडापारि मेरो माया’ आधुनिक गीत सार्वजनिक गरे । त्यो गीत एक करोड १५ लाखभन्दा बढीले हेरे । उनले एक वर्षअघि मात्रै सार्वजनिक गरेको ‘धोकामाथि धोका’ गीत ट्रेन्डिङको दोस्रो नम्बरमा पर्न सफल भएको थियो। 

उनले ‘फूल भनौँ जिन्दगीलाई’, अब खुसी, डाँडापारि मेरो माया, मुटु  टुट्दालगायतका आधुनिक गीत बजारमा ल्याएका छन्।  

बुढाथोकीले अहिलेसम्म आफ्नै लगानीमा गीत निकालेका छन्। उनी सानैदेखि संगीतमा रुचि राख्थे। विद्यालय तहदेखि यस्ता विभिन्न प्रतियोगितामा भाग लिन्थे। 

सानैदेखि संगीतमा रुचि भएकाले पनि आफूले प्रहरी अधिकृतको जागिर हुँदा पनि गीत–संगीतलाई पनि समय दिएको बताए। ‘गीत–संगीतमा मेरो सानैदेखिको रुचि हो,’ उनले भने, ‘त्यसैले अहिले पनि संगीतलाई नै समय दिने गरेको छु।’

गीत लिखिसकेपछि धेरैले रुचाएकाले पनि आफूलाई थप हौसला हुने गरेको उनी बताउँछन्। प्रहरी संगठनभित्र पनि त्यत्तिकै प्रशंसा हुने गरेको उनी बताउँछन्। प्रहरीबाट रिटायर्ड भएपछि पनि गीत–संगीतलाई नै निरन्तरता दिने उनको भनाइ छ। 

चारवटा अवार्ड प्राप्त 

उनले गीत–संगीतअन्तर्गतका चारवटा अवार्ड प्राप्त गरेका छन्। नेसनल राप्ती म्युजिक अवार्ड, नेसनल ब्रान्ड म्युजिक अवार्ड, ओएस नेपाल म्युजिक अवार्ड र सगरमाथा म्युजिक अवार्ड प्राप्त गरिसकेका छन्। ओएस म्युजिक अवार्ड भर्खरै मात्रै प्राप्त गरेको उनले बताए। अन्य अवार्डहरू भने केही समयअघि प्राप्त गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए। 

उनको व्यक्तिगत युट्युब च्यानलमा पनि एक लाख सब्स्क्राइब पुगिसकेकाले युट्युब सिल्भर बडन अवार्ड पनि पाएका छन्। अधिकांश गीत उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्ने गरेका छन्। 

को हुन् भूपेन्द्र ?  

०५१ सालमा सल्यानमा सामान्य परिवारमा जन्मिएका उनको परिवार दाङको तुलसीपुर बसाइँ सर्‍याे। त्यसपछि उनले तुलसीपुरबाट प्रमाणपत्र तहसम्मको पढाइमा उत्कृष्टता हासिल गरे। सुरक्षा क्षेत्रमा जोडिने सपना बुनेका उनी ०७३ सालमा उनी प्रहरी सहायक निरीक्षक भए।  ०७७ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भए। 

ad
ad