१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कल्याणपुर नगरपालिकामा १६ दिनदेखि वडाध्यक्षहरू धर्नामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५६:oo

सिराहाको कल्याणपुर नगरपालिकामा वडाध्यक्षहरूको धर्ना जारी छ । आठौँ नगरसभामा आयव्यय सार्वजनिक गर्नुपर्ने र वडाहरूलाई समान रूपमा बजेट उपलब्ध गराउनुपर्ने माग राख्दै १५ असोजदेखि कल्याणपुर नगरपालिकाका विभिन्न पाँचवटा वडाका अध्यक्षहरूले धर्ना दिएका हुन् ।

वडाध्यक्षहरूले कल्याणपुर नगरपालिका कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेपछि कार्यालयको कामकाज प्रभावित बनेको छ । गत आर्थिक वर्ष ०७९÷८० को आयव्यय सार्वजनिक गर्नुपर्ने र वडालाई दिँदै आएको बजेट समान रूपमा उपलब्ध गराउनुपर्ने माग राख्दै धर्ना सुरु गरेको १५ दिन पुगेको छ ।

तीन राजनीतिक दलका पाँचजना वडाध्यक्षहरू धर्नामा बसेका छन् । जनता समाजवादीवाट निर्वाचित वडाध्यक्षहरू जयराम कामती (वडा नम्बर १), मोहम्मद सकिर (वडा नम्बर २), नन्दकिशोर साह (वडा नम्बर १०), कांग्रेसबट निर्वाचित किशोरी यादव (वडा नम्बर ८) र जनमत पार्टीवाट निर्वाचित विनोद यादव (वडा नम्बर ९) धर्नामा बसेका छन् । आफूहरूको माग पूरा नभएसम्म शान्तिपूर्ण धर्ना जारी राख्ने वडाध्यक्ष जयराम कामतीले बताए । धर्नामा जनता समाजवादी पार्टी, कांग्रेस, माओवादी, जनमत पार्टी, राप्रपालगायतको समर्थन छ ।

शान्तिपूर्ण धर्ना जारी रहेकै वेला कल्याणपुर नगरपालिकामा मेयर रामपुकार साह पक्ष र आन्दोलनमा उत्रिएका वडाध्यक्षपक्षबीच १८ असोजमा दोहोरो झडप भएको थियो । झडपमा ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा प्रहरीले २७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । पाँच राउन्ड हवाइफायर पनि गरिएको थियो । झडपमा परी सुरक्षा निकायका ६ जना गरी १५ जनाभन्दा वढी समान्य घाइते भएका थिए ।

कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले २१ असोजमा पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गर्ने घोषणा गरेका थिए । विपक्षीहरूले आफूलाई असफल बनाउन आन्दोलन र अनेक षड्यन्त्र गरेको उनको दाबी थियो । ‘लोकतन्त्रमा आन्दोलन गर्न पाइन्छ । आन्दोलन जायज हुनुपर्छ,’ साहले भने,‘आन्दोलनमा उठाइएका हरहिसाब सार्वजिक गर्नुपर्ने माग पूरा गर्न तयार छु । वार्ताका लागि आह्वान गरेको छु । निकास निकाल्न सुरक्षा निकाय पनि जुटेको छ ।’

कल्याणपुर नगरपालिकामा जारी धर्ना रोक्न जिल्ला प्रशासन कार्यालय सिराहाले पहल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन । जिल्ला प्रशासन कार्यालयमा १७ असोजमा दुवै पक्षबीच छलफल चलिरहँदा मेयर साहले आन्दोलनकारीलाई ‘आतंककारी’ भनेपछि सहमति बिथोलिएको थियो । त्यसपछि आन्दोलनरत वडाध्यक्षसहितको टोली नाराबाजी गर्दै कल्याणपुर फर्किएका थिए । यसबीचमा जिल्ला प्रशासनले समस्या आन्दोलनरत र मेयर पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर छलफल गरे पनि सहमति बन्न सकेको छैन । 

ad
ad