१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
प्रवास डिजिटल संस्करण

एनआरएनएको अध्यक्षमा कसले मार्ला बाजी ?

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२४:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी निर्वाचनमा चारजनाबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षका लागि पाँचजनाले उम्मेदवारी घोषणा गरे पनि चारजनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन्। 

संघका वर्तमान कार्यकारी अध्यक्ष डा.बद्री केसी, अध्यक्ष रबिना थापा तथा उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि युकेका विनय अधिकारीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। अन्त्यमा उनी घोषणाबाट पछि हटेका थिए।

अध्यक्षका प्रत्यासीहरू आ–आफ्नो एजेन्डा अघि सारेर टिम निर्माणमा जुटेका छन्। उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

को हुन् आरके शर्मा  ?
लामो समयदेखि कतारमा बस्दै आएका आरके शर्माले कतारलाई नै आफ्नो कर्मभूमि बनाएका छन्। अध्ययनको सिलसिलामा नेपालबाट विदेशिएर कतारमा व्यसाय गरिरहेका शर्माले कोरोनाकालमा काम ठप्प हुँदा अध्ययनलाई पुनः जारी राखे। यसै वर्ष उनले ‘उद्यमशीलता’मा एमबीएको पढाइ पूरा गरेका छन्। उनले पेरिसको प्रसिद्ध विश्वविद्यालय एचइसीबाट अहिलेको श्रम बजार, भू–राजनीतिलगायतका विषयहरूमा ज्ञान हासिल गरेका छन्। 

एचइसीमा फ्रान्सलगायत विभिन्न राष्ट्रका राष्ट्र प्रमुखबाहेक विश्वप्रसिद्ध कम्पनीका सिइओहरूले पनि लेक्चर लिने गरेका आरके बताउँछन्। ‘यस्तो समूहमा पढ्न पाउनु त मेरो लागि बडो गर्वको विषय हो,’ उनी भन्छन्। सो विश्वविद्यालयको अल्मुनाई एसोसिएसनमार्फत संसारका ठूला कम्पनीका सिइओहरूलगायत युरोपियन युनियनका आर्थिक सल्लाहकारहरूसँग भेट हुने गरेको उनले सुनाए। फ्रान्सका पूर्वराष्ट्रपति र अन्य राजनीतिकर्मीहरू पनि यस अल्मुनाईका सदस्य छन्। 

शर्मा सन् २००६ देखि संघमा आबद्ध भएका हुन्। अहिले उनी केन्द्रीय उपाध्यक्ष पदबाट अध्यक्ष पदमा जान खोजिरहेका छन्। शर्मा सन् २००३ मा कतारमा श्रमिकका रूपमा पुगेका थिए। ‘५० डिग्रीको तातो घाममा काम गरेँ । हिजो मा जुन अवस्थाको श्रमिक बनेर देश छाडेको थिएँ, अहिले पनि त्यही अवस्थाको श्रमिक बनेर देश छाड्ने क्रम जारी छ। हिजो देशमा रोजगारी नभएकोले बाबु बिदेसियो। आज छोरो पनि बिदेसिएको छ र भोलि नाति पुस्ता पनि बिदेसिने क्रममा छ। हरेक दिन त्रिभुवन विमानस्थलमा देखिने आँसु र दुःखले चिमोटिरहेको छ,’ उनले भने।

अहिले झन्डै ७० लाख नेपाली देशबाहिर रहेको उल्लेख गर्दै शर्माले ठूलो हिस्सा श्रमिकका रूपमा मध्यपूर्वका विभिन्न खाडी मुलुक हुँदै जापान, कोरिया, अफ्रिका र पछिल्लो समय युरोप पुगेको बताए। ‘हामीले गैरआवासीय नेपाली संघ सबैको साझा हो भन्दै गर्दा मैले नेपाली श्रमिकहरूको ठूलो बसोबास भएको मुलुकको नेतृत्व यो संघमा भएको छ कि छैन भनेर हेरेँ। मैले सन्तोषजनक र सम्मानजनक उत्तर भेट्न सकेको छैन। मलाई अब यी मुलुकमा काम गरेर देशमा रेमिट्यान्स पठाइरहेका र भुइँ मानिस भनिएकाहरूको पनि नेतृत्व हुनुपर्छ भन्ने लागेको छ,’ उनले भने।

को हुन् डा. बद्री केसी ?
सन्  २००३ देखि एनआरएनए अभियानमा होमिएका डा. बद्री केसी २००७ सम्म एनसिसी रुसको साधारण सदस्य रहेका थिए। त्यसपछि २००७ देखि २००९ सम्म एनसिसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे। सन्  २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ –२०१५ मा भने कोषाध्यक्ष चयन भए।

त्यसपछि सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र सन् २०१९–२०२१ मा उपाध्यक्ष रहेका उनले अहिले संघको कार्यकारी अध्यक्षको उम्मेदवारी समालेका छन्। बायोटेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ।

संघको १०औं महाधिवेसनमा नेतृत्वको निर्वाचन हुन नसकेपछि डा. केसीले ११औं महाधिवेसनमा नेतृत्व निर्वाचनबाटै ल्याउने प्रतिबद्धतासहित तीन अध्यक्षमध्ये अन्तिम कार्यकालको लागि कार्यकारी अध्यक्ष हुन राजी भएका थिए।

केसीकै नेतृत्वमा संघका सबै राष्ट्रिय समितिमा निर्वाचन विवादरहित रूपमा सम्पन्न भएको छ। संघको अक्टोबरमा हुने ११ औँ महाधिवेशनको लागि तयारीहरू सुरु भएका छन्। नयाँ नेतृत्वको लागि हाइब्रिडमार्फत हुने निर्वाचनको लागि एक निर्वाचन समितिसमेत गठन भएको छ।

को हुन् रबिना थापा ?
जन्मघर म्याग्दी र ‘कर्मघर’ पोखरा रहेको रबिना थापाले आफ्नो कर्मथलो अमेरिकालाई बनाएकी छिन्। थापा अमेरिकामा रेस्टुरेन्ट व्यवसाय गर्दे आएकी छिन्। उनी व्यवसाय मात्रै नभई समाजसेवामा पनि उतिकै सक्रिय छिन्। थापा अमेरिका बस्दा होस् या नेपाल, उनी समाजसेवामा उतिकै सक्रिय छिन्। विशेष गरी थापाले महिलाको स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न काम गर्दे आएकी छिन्।

थापाले गैरआवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्षबाट संघको यात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले गैरआवासीय नेपाली संघको वरिष्ठ महिला उपाध्यक्ष निर्वाचित भै जिम्मेवारीसमेत पूरा गरिन्। त्यस्तै, उनी कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्को संरक्षक पनि हुन्। थापा संघको पहिलो महिला अध्यक्ष पनि हुन्। 

को हुन् महेश श्रेष्ठ ?
लामो समयदेखि जापानमा बसेर उद्यम गरिरहेका महेश श्रेष्ठ सन् २००३ देखि एनआरएनएमा आबद्ध भएका हुन्। जापानबाट राष्ट्रिय समन्वय परिषद्को संस्थापक, संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषध्यक्ष हुँदै अहिले उनी उपाध्याक्षको जिम्मेवारीमा छन्।

गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशनमा उम्मेदवारीसँगै उनको नारा छ, ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’। बाग्लुङमा जन्मेर कामको सिलसिलामा जापान पुगेका उनी अहिले त्यहीँ व्यवसायमा संलग्न छन्। 

रेमिट्यान्स, सूचना प्रविधि, पर्यटन र वित्तीय क्षेत्रमा श्रेष्ठले गरेका काम र लगानी उल्लेख्य छन्। पछिल्लो समय उनी कृषिकर्ममा समेत जोडिएका छन्। विदेशमा सिकेका र अनुभव गरेका कृषि प्रणालीलाई नेपालमा पनि अभ्यास गर्ने उनको योजना छ।

एसएलसीपछि पोखराको पश्चिमाञ्चल क्याम्पसबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेका उनी क्याम्पस जीवनमै राजनीतिमा प्रवेश गरेका थिए। त्यहाँ नेपाल विद्यार्थी संघको अध्यक्षसमेत बने । पोखरापछि उनी काठमाडौं आए। पछि तत्कालीन काठमाडौं नगरपालिकामा दुई वर्ष काम गरेका श्रेष्ठ पढाइलाई जारी राख्न जापान गए। जापानमा मानवशास्त्रमा स्नातकोत्तर गरेका उनले रेस्टुरेन्ट व्यवसायमा हात हाले। ‘संगम’ नामको रेस्टुरेन्टलाई विस्तार गर्दै अहिले सो संख्या सात वटासम्म पुर्‍याएका छन्।

ad
ad