नवरात्र सुरु भएसँगै उपत्यकासहित देशैभरका शक्तिपीठहरूमा श्रद्धालु भक्तजनको भिड बढेको छ । शक्तिपीठका रूपमा रहेका काठमाडौंको कालिकास्थान, नक्साल भगवती, गुह्येश्वरी, शोभा भगवती, हनुमानढोका, दक्षिणकालीलगायत देवीका मन्दिरहरूमा बिहान सबेरैदेखि भक्तजनको भिड लाग्ने गरेको छ ।
धार्मिक र प्रचलित मान्यताअनुसार देवीलाई तीन शक्ति महासरस्वती, महालक्ष्मी र महाकालीका रूपमा लिने गरिन्छ । महासरस्वतीको पूजा गर्दा ज्ञान र विद्या प्राप्त हुने विश्वास छ । महालक्ष्मीलाई सम्पत्तिकी अधिष्ठात्रीका रूपमा लिइन्छ भने महाकालीलाई इच्छाअनुसार शक्ति दिने महादेवीका रूपमा लिने गरिन्छ ।
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव तथा संस्कृतिविद् गोविन्द टन्डनका अनुसार देवीका अनेका रूप रहेको र उक्त रूपअनुसार फरक–फरक शक्ति दिने धार्मिक विश्वास र किंवदन्ती छ ।
संस्कृतिविद् गोविन्द टन्डन भन्छन्–
देवीका अनेका रूप छन् । रूपअनुसार फरक–फरक शक्ति दिने धार्मिक विश्वास र किंवदन्ती छ । देवीलाई शक्तिका प्रतीकका रूपमा लिइन्छ । नवरात्रमा शक्तिपीठको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास र मान्यता छ ।
‘देवीलाई शक्तिको प्रतीकका रूपमा लिइन्छ,’ उनले भने, ‘नवरात्रमा शक्तिपीठको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास र धार्मिक मान्यता छ ।’ उनका अनुसार नवरात्रिको पहिलो दिन–शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुस्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदातृको पूजाआजा गर्ने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन सबै शक्तिपीठ (देवीको मन्दिर)मा जमरा राख्ने गरिन्छ । यसै दिनदेखि सर्वसाधारणले पनि घरमा भएका हातहतियारलगायत सामग्रीहरू धोइपखाली पूजाआजा गर्ने चलन छ । किंवदन्तीअनुसार महिषासुर राक्षसको वध गरी भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेका थिए । दुर्गाले दैत्य चण्ड–मुण्ड तथा शुम्भ–निशुम्भलाई वध गरेको खुसीयालीस्वरूप दसैँ मनाउन थालिएको विश्वास छ ।
शक्तिपीठमा पूजा गर्दा मनोकांक्षा पूरा हुने मान्यता रहेको संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठको भनाइ छ । उनका अनुसार शक्तिपीठमा पुगेर उपासना वा पूजाआजा गर्दा शक्ति मिल्ने र मनोकांक्षा पूरा हुने विश्वास छ । शक्तिपीठको पूजा गर्दा राष्ट्रको भलोका साथै व्यक्तिलाई ऊर्जा, शक्ति, आँट र सम्पत्ति आर्जन हुन्छ ।’
उपत्यकाबाहिर अधिकांश देवीका मन्दिर पनि नवरात्र सुरु भएसँगै भरिभराउ हुन थालेका छन् । अग्लो स्थान वा देवीको मन्दिरका यी ठाउँलाई कोट भन्ने गरिन्छ । कोटहरूमा पनि भक्तजनहरूको भिड लाग्ने गरेको छ । पश्चिम क्षेत्रका केही जिल्लामा देवीको आलम निकालेर ‘सराय नाच’ प्रदर्शन गर्ने चलन पनि छ । गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठानलगायत जिम्मामा देखाइने यो नाच दशमीका दिनदेखि सुरु हुन्छ ।
यी हुन् विशेष शक्तिपीठ
उपत्यकाका तलेजु भवानी, दक्षिणकाली भगवती, गुह्येश्वरी, बज्रयोगिनी, बंगलामुखी, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी नरदेवी, नक्साल भगवती, कंकेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकालीसहितका पीठमा नवरात्रभर दिव्य पूजाआजा र भिडभाड हुने गर्छ ।
यस्तै रक्तकाली, मनमानेश्वरी, बज्रबाराही, दन्तकाली, जालपादेवी, छत्रेश्वरी, मनकामना, कमलाक्षी, गलेश्वरी, ज्वालापादेवी देवलहाट मन्दिर, मालिकादेवी, कालिकादेवी, बडी मालिकास्थान, चन्दननाथ दतात्रय, त्रिपुरासुन्दरी, शिरस्थानदेवी, खैरावाङदेवी, देवीस्थान भगवती, माइपोखरी, अर्घाकोट भगवती, स्वर्गद्वारी, विन्ध्यवासिनी, गढीमाई, पलाञ्चोक, कोडकडेनी देवी, छिन्ताङ भगवती, पाथीभरा देवी, पाथीभरा, छिन्नमस्ता भगवती, टुँडालदेवी, खाँचीकोट भगवतीलगायत देवीका मन्दिरहरूमा भक्तजनको भिड लाग्ने गर्छ ।