मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Monday, 16 December, 2024
विपिन जोशी
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ३० मंगलबार o६:o९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपिनको खोजी गर्न मध्यपूर्वी देशमा कूटनीतिक पहल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार o६:o९:oo

परराष्ट्रमन्त्री एनपी साउदले गरे कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन संवाद

प्यालेस्टिनस्थित हमास समूहको नियन्त्रणमा रहेको आशंकापछि सरकारले नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि मध्यपूर्वमा कूटनीतिक पहल थालेको छ । २० असोजमा इजरायलमा हमास समूहको आक्रमणमा परेर बाँचेका नेपालीले जोशीलाई हमासले लिएर गएको बताएपछि सरकारले उनको खोजी गर्न थालेको हो ।

सोही सिलसिलामा परराष्ट्रमन्त्री एनपी साउदले सोमबार कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन कुराकानी गरेका छन् । प्यालेस्टिन क्षेत्र तथा इजरायलको पछिल्लो परिस्थिति र दुई देशबीच सहकार्यका विषयमा छलफल भएको कतारी समाचार संस्था द पेनिन्सुला कतारले उल्लेख गरेको छ । 

मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ । सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको हो । परराष्ट्रमन्त्री साउदले सोमबार नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिसँगको भेटमा नेपाली विद्यार्थी रिहाइका लागि प्रयास गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए । 

इजरायल र प्यालेस्टिनमा हिंसा बढिरहेकोमा कतारका राज्यमन्त्रीले चासो राखेका थिए । उनले हिंसा भड्किन नदिन र तनाव कम गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयास हुनुपर्नेमा जोड दिएका थिए । परराष्ट्रमन्त्री साउदले सुदूरपश्चिमका पत्रकारहरूको कार्यक्रममा सोमबार हमाससँग नजिक रहेका मुलुकहरूसँग पनि नेपाली विद्यार्थी जोशी पत्ता लगाउन छलफल भइरहेको बताए । तर, उनले विस्तृतमा बताएनन् ।

इजरायल सरकारले त्यहाँ निधन भएका दशजना नेपाली विद्यार्थीमध्ये पाँचजनाको शव आइतबार तेलअभिभस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको छ । नेपाली राजदूत कान्ता रिजालले बाँकी शव प्राप्त हुने क्रममा रहेको र बेपत्ता अवस्थाका नेपाली विद्यार्थीको खोजी कार्य जारी रहेको जानकारी दिइन् । सेडोट नेगेभ एग्रिकल्चर सेन्टरअन्तर्गत किबेज अलुमिममा उनीहरूमाथि २० असोजमा हतियारधारी हमास समूहले आक्रमण गरेका थिए । 

नेपाली राजदूतावासका अनुसार कैलाली घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, दार्चुलाको मल्लिकार्जुन नगरपालिका– ४का लोकेन्द्रसिंह धामी, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, दार्चुलाको लेकम गाउँपालिका– ५ दीपेशराज विष्ट र कैलाली बौनियाँका आशिष चौधरीको शव प्राप्त भएको छ । डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा, सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह र सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको शव प्राप्त हुन बाँकी छ । 

आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका (१ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका) छन् । दुईजनाको उपचार भइरहेको छ । इजरायलमा रहेका विद्यार्थीहरूमध्ये २५३ जनाको शुक्रबार उद्धार भएको थियो ।