
कोसीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?
यसले पुरानो घटनाक्रम दोहोरिन लागेको संकेत गरेको छ । राष्ट्रिय राजनीतिमा स्थायित्वका लागि कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने आवाज बारम्बार उठिरहेकै छ । त्यसैले, कोसीमा यी दुई दल नजिकिनु अस्वाभाविक होइन । कांग्रेसको आन्तरिक राजनीतिमा वैकल्पिक समूहका नेता शेखर कोइरालाले संविधानले दिएको विकल्पको दृढतापूर्वक प्रयोग गरेका छन् । संविधानको धारा १६८ (५) ले सुरक्षित गरेको दलको ह्विप नलाग्ने व्यवस्थाको प्रयोगबाट यो सरकार बनेको छ । यसलाई हामीले स्वाभाविक मान्नुपर्छ ।
शेखर कोइरालाको ‘मुभ’ ले राजनीतिमा कस्तो अर्थ राख्छ ?
कोसी क्षेत्रको राजनीतिमा कोइराला परिवारको प्रभाव र वर्चस्व लामो समयदेखि कायम छ । त्यसैले, अहिले कोसीमा देखिएको राजनीतिक घटनाक्रमको पनि विशेष अर्थ त हुन्छ नै । तर, यो घटना कोसीमा मात्र सीमित रह्यो भने यसको प्रभाव क्षेत्रीय राजनीतिमै मात्र सीमित हुन पनि सक्छ । अन्यथा, यसले केन्द्रीय राजनीतिमै पनि प्रभाव नपार्ला चाहिँ भन्न सकिन्न । जसले केन्द्रको समीकरणमै पनि प्रभाव पार्न सक्छ ।
कोसीमा विकसित घटनाक्रमले राजनीतिक स्थिरता दिन सक्ने सम्भावना कति देख्नुहुन्छ ?
यसले कोसीको राजनीतिमा स्थिरता दिन्छ या दिँदैन भन्ने यो सरकारले विश्वासको मत कसरी पाउँछ, त्यसमा निर्भर हुन्छ । तर, तत्कालका लागि कांग्रेसको आन्तरिक राजनीतिमा खेल्ने केपी ओलीको प्रयोग सफल भएको छ । यसले कांग्रेसलाई विभाजनकै स्थितिमा पुर्याउँछ या पुर्याउँदैन, भविष्यले नै देखाउनेछ । तत्कालका लागि संघमा प्रतिपक्षमा रहेको एमाले कोसीमा भने सत्तापक्षमा पुगेको छ ।