१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २७ शनिबार
  • Tuesday, 18 June, 2024
नाटकमा प्रदर्शन गर्दै परिवर्तन थिएटरका कलाकार। तस्बिर सौजन्य : मनिष भण्डारी।
२o८o असोज २७ शनिबार १२:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘म्लेच्छ’मा आदिवासीका कथा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २७ शनिबार १२:३६:oo

हिजो सिकारी युगमा पनि आदिवासीका अनेक दुःख थिए। जंगलमा रहँदा/ बस्दा पनि खानाका लागि संघर्ष गर्नुपर्थ्यो। पानीसमेत खान नपाएपछि विद्रोहमा निस्किएका आदिवासी अन्ततः थातथलो छाडेरै बसाइँ हिँड्नपर्ने विवशता भयो। आज परिस्थिति बदलिए पनि नियति उस्तै छ। 

विगतदेखि अहिलेसम्म कसरी थिचोमिचो व्यहोरिरहेका छन् आदिवासीहरू? जमिनबाट कसरी बेदखल गर्दै छ हिजो र आजको सत्ताले? झापा, काँकडभिट्टाको परिवर्तन थिएटरमा जारी नाटक ‘म्लेच्छ’ ले यी र यस्तै आदिवासी  हक अधिकारका मुद्दालाई पेचिलो ढंगबाट उठान गरेको छ। 

सिकारी आदिवासी आज खेतीमा पसिना बगाउन थालेको छ। जंगलभित्रै छ, एउटा आदिवासी बस्ती। जहाँ उनीहरू ‘जंगलको सत्ता’सँग पानीका लागि संघर्ष गर्दै छन्। त्यही संघर्षका कारण उनीहरूले जंगल छाड्नुपरेको छ। 

अर्को सुरक्षित स्थानमा गएका आदिवासी समुदाय सिकारी युगबाट क्रमशः कृषि युगमा प्रवेश गर्छन्। तर, जंगल फाडेर खेतीयोग्य जमिनका जमिन्दार बनेका सोझा आदिवासी सत्ताको जालझेलको सिकार हुन्छन्। जमिनदार आदिवासी सत्ता र शक्तिको जालझेलले सुकुमबासी बन्छन्। विभेदको चपेटामा पर्छन्। आफैँले चर्चेको भूमिबाट उनीहरूको उठिवास लाग्छ। कसरी उनीहरू उठिवास हुन्छ त? त्यो थाहा पाउन भने एक घन्टा लामो ‘म्लेच्छ’ हेर्नै पर्ने हुन्छ।

नाटकमा आदिवासीको उद्गम अवस्थादेखि आजको परिस्थितिसम्मलाई निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ। सामाजिक मुद्दामा आधारित नाटकले अहिले पनि आदिवासीको अवस्था किन फेरिन सकेन, भूमिपुत्रहरू किन भूमिहीन बने? भन्ने अनेक प्रश्नहरू सतहमा ल्याएको छ। 

कलाकारको जीवन्त अभिनयले नाटक उत्कृष्ट बनेको छ। जंगल छाडेर भाग्ने क्रममा आदिवासीहरू ब्रह्मपुत्र नदी तर्छन्। नदी तरेको त्यो दृश्य सिंगो नाटककै उत्कृष्ट दृश्य हो। ‘नाटकमा आदिवासीको पीडालाई देखाइएको छ। जसमा आदिवासी समुदाय कसरी सुकुमबासी भयो भन्ने उल्लेख छ,’ नाटक हेरेपछि विद्यार्थी नवीन ल्वागुनले भने, ‘इतिहासलाई महसुस गर्न पायौँ। नाटक निकै उत्कृष्ट छ। नाटकले सबैको मन छुन्छ।’

नाटकका दर्शक प्राज्ञ तथा कवि मुनाराज शर्माले नाटकको कथाले दर्शकको मन रुवाउने प्रतिक्रिया दिए। ‘म्लेच्छमा उत्पीडित र सीमान्तकृतहरूले राज्यबाट सहेको दलनको मार्मिक कथा छ। कथाले मन रुवाउँछ,’ उनले भने।

पत्रकार पर्वत पोर्तेलले लेखेको नाटकलाई युवा निर्देशक गणेश बस्नेतले निर्देशन गरेका छन्। नाटक उत्कृष्ट बनाउन उनले गरेको मिहिनेत नाटकमा प्रस्ट देखिन्छ। २५ असोजबाट सीमान्त सहर काँकडभिट्टामा मञ्चन भइरहेको नाटक ३ कात्तिकसम्म रहनेछ। नाटक नेपाल र भारतका दर्शकहरूले हेरिरहेको परिवर्तन थिएटरले जनाएको छ।

नाटकमा कविता नेपाल, गणेश बस्नेत, लोमस पौडेल, लीला विष्ट, प्रतीक्षा आचार्य, गगन क्षत्री, राजन जिरेल, एन्जल खड्का, कविता पौडेल, सञ्जोग राई, अनिश बस्नेत, सुष्मा पोखरेल, झरना खनाल, भावना न्यौपाने, कृष्ण पौडेल र नवराज पाठकले अभिनय गरेका छन्।

 

ad
ad
ad
ad