१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
कृष्णचन्द्र शर्मा पौडेल काठमाडाैं
२o८१ जेठ ६ आइतबार १७:o१:oo
Read Time : > 5 मिनेट
ad
ad
ब्लग डिजिटल संस्करण

पण्डित ऋषिराम वाग्ले : एक अथक समाजसेवी

Read Time : > 5 मिनेट
कृष्णचन्द्र शर्मा पौडेल काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १७:o१:oo

वाग्लेहरू महर्षि भारद्वाज ऋषिका सन्तति मानिन्छन् । तनहुँ जिल्लाको मानुङ गुणादीमा पनि वाग्लेहरूको बसोवास छ । यी वाग्लेका पूर्वज भारतको महाराष्ट्रबाट नेपालको डोटी हुँदै गुल्मीको वाङ्ग्ला भन्ने ठाउँमा आई बसोवास गरेका रहेछन् । वाङ्ग्ला भन्ने ठाउँमा बसोवास गरेको आधारमा वाग्ले थर कायम भएको र वाङ्ग्लाबाट पूर्वी बागलुङ हुँदै स्याङ्जाको किचनास र किचनासबाट तनहुँकै धरमपानी हुँदै मानुङ गुणादी आई बसोवास गरेको बुझिन्छ । पण्डित देवीप्रसाद वाग्ले र लीलादेवी वाग्लेको कोखबाट प्रथम पुत्रको रूपमा पण्डित ऋषिरामको जन्म वि.सं. १९५५ साल साउन १० गते स्याङ्जा जिल्लाको मग्याम चिसापानीस्थित मामाघरमा भएको थियो । उनी त्यो युगमा पनि उच्च रूपले शिक्षित एक अथक समाजसेवी थिए । समाजले यस्ता युगचेतलाई कहिल्यै बिर्सन हुँदैन ।

पण्डित ऋषिरामले बाल्यकालमा पिताजीबाट रुद्री, चण्डी, कौमुदी, गीता आदिको प्रारम्भिक ज्ञान आर्जन गरेका थिए । नेपालमा पठनपाठन सहज वातावरण नभएको कारण उनका पिताजीले भारत गएर अध्ययन गर्ने प्रेरणा दिएका रहेछन् । पढाउने गुरुको खोजी गर्दै १२ वर्षको उमेरमै गाउँका पण्डित नरहरि खनालसँग गोरखा गएर अध्ययनमा लागेका रहेछन् ऋषिराम । भारत गएर पढ्ने प्रगाढ इच्छा भएका कारण उनले घरमा पनि खबर नगरी बाटोखर्चको आफैँले बन्दोबस्त गरी तीर्थयात्रीको साथमा गोरखाबाटै भारतको वनारस गएर अध्ययन सुरु गरे । वनारस गुरुकुलमा करिब तीन वर्ष अध्ययन गरेर वृन्दावन गई करिब पाँच वर्ष बसी गहन रूपले शास्त्री (स्नातक) सम्मको अध्ययन गरे । पढाइमा तीक्ष्ण भएको हुँदा श्रीमदभागवत पुराण कथावाचन कलामा पनि निपुण थिए । उनले ‘भागवत भूषण’को उपाधिसमेत प्राप्त गरेका थिए । 

पढाउने गुरुको खोजी गर्दै १२ वर्षको उमेरमै गाउँका पण्डित नरहरि खनालसँग गोरखा गएर अध्ययनमा लागेका रहेछन् ऋषिराम

वनारस र वृन्दावनको शिक्षा आर्जनले उनलाई भावनात्मक रूपमा भारतको स्वाधीनता आन्दोलनसँग नजिक गरायो । महात्मा गान्धीको नेतृत्वमा ब्रिटिस उपनिवेशवादविरुद्ध चलेको भारत छोडो आन्दोलनमा पण्डित ऋषिराम वाग्ले पनि जोडिए । नेपालको जहानियाँ निरंकुश राणा शासनले ब्रिटिसलाई भारतमा टिकाइराख्न मद्दत गरेको हुँदा भारतमा संस्कृत अध्ययन गर्ने नेपाली विद्यार्थी भारत स्वतन्त्र भएपछि नेपालमा पनि राणाशासन हटाउन सकिन्छ भन्ने मनोभावनाको साथमा ब्रिटिसको विरोध गर्थे । यसैबीच राणाशासनको निरंकुशताविरुद्ध आवाज उठाउँदै सम्पूर्ण प्रजातन्त्रवादीलाई एकजुट भएर संघर्षका लागि बिपी कोइरालाले सन् १९४६ मा एउटा अपिल जारी गरे । यसबाट प्रभावित भएर पण्डित ऋषिराम पनि बिपीको पार्टीमा आबद्ध भए । 

पण्डित ऋषिरामकाे योगदान 
पण्डित ऋषिराम प्रजातन्त्रप्रति प्रतिबद्ध व्यक्ति थिए । आफ्नो दैनिक आचारणमा पनि प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्थे । सबैको कुरा सुन्ने र आफ्नो धारणा प्रस्ट रूपमा राख्ने व्यवहारले उनलाई समाजमा स्थापित गरायो । श्रीभद्र शर्मा खनाल, गोवर्धन शर्मा, कविराज रामप्रसाद खनालजस्ता साहसी व्यक्ति उनका राजनीतिक संगी थिए भने तारादेवी खनाल भान्जी थिइन् । उनीहरू सँगसँगै पण्डित ऋषिराम नेपाली कांग्रेसको गुप्त संगठन विस्तारमा सक्रिय रहे । २००३ साल फागुन ३० गते विराटनगरमा भएको मजदुर आन्दोलनमा बन्दी गराइएका नेता–कार्यकर्ताको रिहाइ, जातीय विभेदको अन्त्य र राणाविरोधी गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले २००३ साल चैत ३० बाट देशव्यापी सत्याग्रह प्रारम्भ भयो । नेपालका प्रमुख सहरमा गरिएको सत्याग्रहमा थुप्रै मानिसको सहभागिता थियो । त्यसै क्रममा तनहुँको बन्दीपुरमा पनि कविराज रामप्रसाद खनाल र तारादेवी खनालको नेतृत्वमा धेरै मानिस भेला भई सत्याग्रह आन्दोलनलाई अगाडि बढाए । पण्डित ऋषिराम वाग्लेको पनि यसमा सक्रियता रह्यो । 

भारत गएर पढ्ने प्रगाढ इच्छा भएका कारण उनले घरमा पनि खबर नगरी बाटोखर्चको आफैँले बन्दोबस्त गरी तीर्थयात्रीको साथमा गोरखाबाटै भारतको वनारस गएर अध्ययन सुरु गरे ।

नेपाली कांग्रेसले स्थानीय सरकार निर्माण गर्ने मुख्य उद्देश्यका साथ २००७ सालको क्रान्ति सफल पार्न देशव्यापी रूपमा मुक्तिसेना परिचालन गरेको थियो । २००७ साल पुस २४ गते श्रीभद्र शर्मा खनालको अगुवाइमा कविराज रामप्रसाद खनाल, शीलकुमारी श्रेष्ठ, ज्ञानहरि पण्डित, लालप्रसाद प्रधान, कोमलनारायण पिया, रामकुमार श्रेष्ठ, कदमकुमार पिया, उमाभद्र खनाल, मैयादेवी श्रेष्ठ, पण्डित ऋषिराम वाग्लेसहितका व्यक्ति विनाहातहतियार करिब एक सय ५० को संख्यामा रहेका मुक्तिसेनालाई लिएर पोखरा कब्जा गर्न हिँडेका रहेछन् । बीचबाटोमा पुग्दा नेपाली कांग्रेसको पार्टी केन्द्रबाट ‘कब्जा गरेको ठाउँ नछाड्नु र नयाँ ठाउँ कब्जा गर्नतिर नलाग्नू’ भन्ने व्यहोराको पत्र आएकाले पोखरा जाने कार्य स्थगित गरी तनहुँका जनतालाई राणाशासनविरुद्धको आन्दोलनमा सशक्त रूपमा उत्रन आह्वान गर्दै श्रीभद्र शर्माकै नेतृत्वमा आमसभाको साथै चारतारे झन्डा फहराउँदै तनहुँ जिल्लामा कांग्रेसले विगुल फुक्ने कार्य भयो । यस्तो गतिविधि राणाहरूलाई सह्य भएन । २००७ साल पुस २६ गते श्रीभद्र शर्मालाई पक्राउ गरी पोखरातर्फ लगेपछि आन्दोलन झन् भड्कियो । 

श्रीभद्र शर्माकी आमा तारादेवी खनाल ज्यादै क्रान्तिकारी महिला थिइन् । उनले २००७ साल माघ १ गते गाउँगाउँबाट ठूलो संख्यामा बन्दीपुरस्थित अड्डा कब्जा गर्न भनी मानिस ल्याएकी थिइन् । यी मानिसलाई आन्दोलन अवधिभर खान–बस्नका लागि ठाउँ–ठाउँबाट सहयोग संकलन गरिएको थियो । पण्डित ऋषिराम वाग्लेले आफूलगायत मानुङ, बच्य्राङ, थानसिङबाट आर्थिक सहयोग रकम उठाएका थिए । पण्डित ऋषिराम वाग्ले, काशीनाथ खनाल, राजदल रानाभाटलगायत ठूलो संख्यामा मानिस बन्दीपुर गएका रहेछन् । लमजुङ जिल्लाको कुन्छा अड्डा कब्जा गरी २००७ साल माघ १ गते गोवर्धन शर्मा र कृष्णदत्त वाग्लेसहितका मुक्तिसेनाका जवान बन्दीपुर आइपुगेको खबर बन्दीपुरमा जम्मा भएका आन्दोलनकारीले थाहा पाएपछि उत्तेजित भएर नेपाली कांग्रेसको झन्डा हातमा लिई चर्काे स्वरमा ‘राणा शाही मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद’को नारा लगाउँदै ब्यारेकतिर अगाडि बढ्न लाग्दा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलायो । तारादेवी खनालको पछाडि रहेका धर्मध्वज गुरुङको कञ्चटमा गोली लागेपछि सुरक्षाकर्मीको हातबाट बन्दुक खोसी ‘तँलाई पनि यसरी नै मारौँ भन्दै तारादेवी चिच्याएको बताइन्छ । सो घटनामा धर्मध्वज गुरुङ (पुलिमराङ), उत्तर कुमार श्रेष्ठ (तनहुँसुर), चन्द्रबहादुर सार्की (सिम्पानी), खड्गबहादुर गोदार (वसन्तपुर), सन्तबहादुर रानामगर ( तनहुँसुर), धर्मराज श्रेष्ठ (तनहुँसुर) सहादत भएका थिए । 

श्रीभद्र शर्माकी आमा तारादेवी खनाल ज्यादै क्रान्तिकारी महिला थिइन् । उनले २००७ साल माघ १ गते गाउँ–गाउँबाट ठूलो संख्यामा बन्दीपुरस्थित अड्डा कब्जा गर्न भनी मानिस ल्याएकी थिइन् ।

यसरी अन्धाधुन्ध गोली चलेपछि आन्दोलनकारी तितरबितर भए । त्यसै रात बन्दीपुरमा कर्फ्यु लगाइयो । राणाकाा फौज सबै शव जम्मा गरी रात्रिमा बन्दीपुरमाथि रहेको टुँडिखेलबाट फाली आफूहरूले गरेको जघन्य अपराधलाई अब जनताले सहनेछैनन् भन्ने ठानेर अड्डा खाली गरी सराङघाटको बाटो हुँदै चितवनतिर भागेछन् । यसप्रकार राणाशासनविरुद्धको आन्दोलनमा बन्दीपुरले अहं भूमिका निर्वाह गरेको देखिन्छ । नेपाली कांग्रेस पार्टीको निर्देशनबमोजिम बन्दीपुरमा जनसरकार गठन भयो । पण्डित ऋषिराम वाग्लेले श्रीभद्र शर्मालाई गभर्नर चुन्ने प्रस्ताव ल्याएको आधारमा श्रीभद्र शर्मा गभर्नर चुनिएका थिए । 

देशभर आन्दोलन हुँदै जाँदा अन्तमा २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्र स्थापना भएपछि तारादेवी खनाल र पण्डित ऋषिराम वाग्लेलगायत नेताले प्रजातन्त्र ल्याउन बन्दीपुरमा आफ्नैअगाडि देश र जनताका लागि जीवनको आहुति दिने आफ्ना प्यारा साथीहरूको आत्माको मोक्ष र चिरशान्तिका लागि श्रीमदभमगवत ज्ञान महायज्ञ लगाउने प्रस्ताव नेपाली कांग्रेस पार्टीसमक्ष राखे । सबैको सहमतिमा बन्दीपुरको टुँडिखेलमा श्रीमदभागवत कथावाचन भागवत भूषण पण्डित ऋषिराम वाग्लेबाट भएको थियो । पण्डित ऋषिराम वाग्लेको योगदान प्रजातन्त्र स्थापनाका लागि प्रशंसनीय थियो । 

पण्डित ऋषिराम वाग्लेले प्रजातन्त्र स्थापना गर्नका लागि गरेको संघर्ष र योगदानको उच्च मूल्यांकन गर्दै ०५६ साल मंसिर २५ मा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले बन्दीपुरस्थित सहिद स्मारक वाटिकाको उद्घाटन कार्यक्रमबीच सम्मानपत्र प्रदान गरेका थिए । प्रजातन्त्रको स्थापनापश्चात् पनि पण्डित ऋषिराम वाग्ले समाज सुधारको काममा अनवरत जुटिरहे । राजा महेन्द्रको देश भ्रमणको अवसरमा राजाको टोलीसँग उनले जिल्लाका सामाजिक तथा आर्थिक क्षेत्रका विविध समस्या प्रस्तुत गरेको बताइन्छ । पहिला तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरमा थियो । समयक्रममा कार्यालय, स्कुल, कलेज र अन्य संस्था बढ्दै गएकाले स्थानाभाव हुन गयो र सदरमुकाम अन्य उपयुक्त ठाउँमा सार्नुपर्ने भयो । सदरमुकाम सार्ने चर्चा प्रारम्भ भएदेखि नै जिल्लामा विभिन्न मतमतान्तर थिए । एउटा मत कुनै पनि पूर्वाधार नभएको स्थानमा सदरमुकाम सार्न उपयुक्त हुँदैन भन्ने थियो । अनि ऐतिहासिक प्रसंग पनि आउँथे । 

त्यस किसिमका चर्चा हुँदा दमौली वेदव्यासको जन्मथलो, सेती मादीको पवित्र संगम उत्तर वाहिनी सेतीको दर्शन, व्यास, पराशर ऋषिको तपोभूमिको साथै छाब्दी बाराही आदिको समेत प्रसंग ल्याएर यो पवित्र भूमि शास्त्रीय र धार्मिक दृष्टिकोणबाट उपयुक्त छ भनी चर्चा चालउनेमा पण्डित ऋषिराम वाग्ले अग्रणी थिए । यस्तो विचार राख्नेमा कविराज प्रेमराज न्यौपाने, पण्डित रुद्रमणि अधिकारीलगायत र वेलाबखत आएर पुट दिने इतिहास मर्मज्ञ योगी नरहरिनाथसमेत थिए । योगीले त पौराणिक शास्त्रहरूको उल्लेख गर्दै वेदव्यासको जन्म दमौलीमा भएको ठोकुवा गर्थे । यसबाट पनि यो पवित्रस्थलको महिमा बढेर गयो । अहिले व्यास ऋषिको नामबाट व्यास नगरपालिका दमौलीको नामकरण र वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माणको प्रसंग पनि उनीहरूको चर्चा–परिचर्चाबाट उत्प्रेरित भएको मान्न सकिन्छ । 

पण्डित ऋषिराम वाग्लेले शिक्षालाई सधैँ महत्व दिन्थे । त्यसैकारण आफू सानै उमेरमा अध्ययनका लागि भौँतारिँदै भारत पुगे । त्यहाँ उनले शास्त्रीसम्मको अध्ययन गर्नुको साथै श्रीमदभागवत पुराणहरूको कथावाचन गर्ने कला पनि सिके । उनी शिक्षा एक ज्योति हो, यसले मानिसको जीवनलाई सही बाटो हिँडाउँछ । त्यसैले मानिसले शिक्षाको अवसर पाउनुपर्छ भन्थे । विद्यालयलाई जग्गा प्रदान गर्ने, स्कुल भवनहरू निर्माण गर्न आर्थिक सहयोग जुटाउने र पठनपाठन सञ्चालन गर्ने–गराउने वातावरण सिर्जना गर्ने काममा उनको अग्रणी भूमिका पाइन्छ । 

०१५ सालमा पहिलोपटक नेपाली कांग्रेस पार्टीको सरकार बन्दा जिल्ला विकास बोर्डमा सदस्यको रूपमा बसी केही समय तनहुँ जिल्लाको विकास निर्माणमा पनि उनी संलग्न रहे । उनको सक्रियतामा तनहुँ जिल्लामा केही विकास निर्माणका काम सम्पन्न भएका थिए । ०१९ सालमा दमौलीबाट पाटन जाने बाटोमा पर्ने मादीनदीमा झोलुंगे पुल निर्माणका लागि उनको सक्रियतामा आर्थिक सहयोग जुटाई कार्य सम्पन्न भएको थियो । ०२० सालमा सेतीनदीमा चुलेसी झोलुंगे पुल विभिन्न संस्थाबाट सहयोग जुटाई निर्माण गर्नमा योगदान गरे । दमौली व्यास गुफा, पराशर गुफा, दमौली बेनी र पाटनआसपासका सार्वजनिक जग्गालाई संरक्षण गर्ने कार्यमा पनि उनको योगदान रह्यो । ०४४ साल पुस महिनामा देहान्त नहुँदासम्म उनले समाजको सेवा गरी नै रहे । पण्डित ऋषिरामजस्ता प्रबुद्ध र उदारमना व्यक्तिको व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउनु सबैको दायित्व र कर्तव्य हुन जान्छ । 

ad
ad