सुन्धारास्थित धरहराको भूमिगत पार्किङ सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिकाले दसैँ–तिहारलगायत चाडबाडलाई लक्षित गरी धरहराको भूमिगत पार्किङ सञ्चालनमा ल्याएको हो । आइतबारदेखि सञ्चालनमा आएको भूमिगत पार्किङ नि:शुल्क भएको महानगरले जनाएको छ ।
‘चाडबाडलाई लक्षित गरेर न्युरोड, सुन्धारालगायत क्षेत्रमा हुने पार्किङको समस्या समाधान गर्न यो पार्किङ सञ्चालनमा ल्याएका हौँ । यहाँ पार्किङ गर्दा शुल्क लाग्दैन,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने ।
तीन तलामध्ये पहिलो तलाको पार्किङ खुला गरिएको हो । उक्त तलामा करिब पाँच सय चारपांग्रे र दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिनेछ । भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको धरहरा क्षेत्र निर्माणाधीन अवस्थामै छ ।