Skip This
देशका लागि काम गर्ने हुटहुटी जगाउन जागरण अभियान : माधव नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २२ सोमबार
  • Saturday, 27 July, 2024
२o८o असोज २२ सोमबार १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशका लागि काम गर्ने हुटहुटी जगाउन जागरण अभियान : माधव नेपाल

संकट समाधानका लागि एमालेसहितको बैठक बस्नुपर्नेमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २२ सोमबार १५:२२:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इमानदारीपूर्वक काम गरे मुलुकको विकास गर्न सकिने बताएका छन्।

नेपालको विकासका मूल मेरुदण्ड पर्यटन र जलविद्युत् भएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन्। पार्टीको मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत सोमबार बुटवलमा उद्योगी–व्यवसायीहरूसँग अन्तर्क्रिया गर्दै अध्यक्ष नेपालले मुलुकका लागि केही गरौँ भन्ने संकल्प, दूरदृष्टि र इमानदारीसहितको हुटहुटी चाहिने बताए। मुलुकका लागि काम गर्ने हुटहुटी जगाउन नै पार्टीले अभियान थालेको उनको भनाइ थियो।

अहिले मुलुकको आर्थिक संकट, युवाशक्तिको विदेश पलायन र जनसरोकारका मुद्दालाई लिएर पार्टीले अभियान सुरु गरेको जिकिर गर्दै नेपालले यी समस्याका सम्बन्धमा प्रतिपक्षी दलसहित बैठक बस्ने तयारी भएको जानकारी दिए।

‘प्रमुख प्रतिपक्षी दललाई पनि सहभागी गराउनुहोस् भनेको छु, मिलाउनु त पर्‍याे। तर, हाम्रो नामै नसुन्ने खालका कुरा पनि सुनिन्छ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षलाई हाम्रो नाम सुन्दा सासै गन्हाउँछ कि भन्ने अवस्था पनि सुनिन्छ। सासै गन्हाउँछ भने ठीकै छ, जसजसको वासना आउँछ, तिनैसँग बसे भो। देशको समस्या समाधान होस् भन्ने चाहन्छौँ।’

देश र जनताको भविष्य राम्रो बनोस् भन्नेमा आफूहरूको अभियान केन्द्रित रहेको दाबी गर्दै उनले अभियान उत्पादन र उद्यमशीलतासँग जोडिएको बताए।

अन्तर्क्रियामा उद्योगी–व्यवसायीहरूले बैंकको चर्को ब्याज, व्यापार–व्यवसायमा देखिएको शून्यता, मूल्य अभिवृद्धि करमा वृद्धि, कच्चा पदार्थको अभावजस्ता समस्याहरू भोगेको उल्लेख गर्दै आफूहरू विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका थिए।