Skip This
प्रेरक प्रसंग : मिटरब्याजी र चलाख युवती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १८ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १८ बिहीबार o५:५८:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : मिटरब्याजी र चलाख युवती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १८ बिहीबार o५:५८:oo

सयौँ वर्षपहिले इटलीको एउटा सहरमा एकजना साना व्यवसायी बस्थे । व्यवसाय अघि बढाउने क्रममा उनले एक मिटरब्याजीबाट ठूलो रकम ऋण लिए । तर, व्यापार राम्ररी फस्टाउन नसक्दा उनले समयमै ऋण चुक्ता गर्न सकेनन् ।

वृद्ध मिटरब्याजी खराब थियो । कसैलाई ऋण दिनु र उसलाई ट्र्यापमा पारेर स्वार्थ पूरा गर्नु उसको विशेषता नै थियो । मिटरब्याजीको आँखा व्यवसायीकी सुन्दर, सुशील र बुद्धिमान् छोरीमाथि परेको थियो । उसले व्यवसायीसित भन्यो– तिमीले सर्तअनुसार ऋण तिर्न सकौला जस्तो लागेन । त्यसैले, अब म तिमीलाई अन्तिम मौका दिन चाहन्छु । म तिम्रो बगैँचाबाट एउटा कालो र अर्को सेतो ढुंगा टिपेर झोलामा राख्छु । तिम्री छोरीले झोलामा हात हालेर छामेकै भरमा एउटा ढुंगो निकाल्नुपर्नेछ । यदि उनले कालो ढुंगो निकालिन् भने तिमीले मेरो बाँकी ऋण तिर्नुपर्नेछैन ।

तर, तिम्री छोरीको बिहे मसित गरिदिनुपर्नेछ । सेतो ढुंगो निकालिन् भने ऋण पनि मिनाहा हुनेछ र उनको बिहे पनि मसित गरिदिनुपर्नेछैन । व्यवसायीले मिटरब्याजीको प्रस्ताव स्विकारेनन् । तर, उनकी छोरीले बुबालाई ऋणमुक्त गर्न उसको प्रस्ताव स्विकारिन् । मिटरब्याजीले बगैँचाबाट दुईवटा ढुंगा टिपेर झोलामा राख्यो । उसले दुवै कालो ढुंगा टिपेको व्यापारीकी छोरीले देखिन् । उनले एकैछिन सोचेर झोलामा हात घुसारिन् । पालैपालो दुवै ढुंगा छामेजस्तो गरिन् । अनि एउटा ढुंगो टिपेर ढुंगाको थुप्रोमा फुत्त फालिदिइन् । उनले यति शीघ्रतासाथ काम गरिन् कि उनले कालो या सेतो कुन ढुंगो टिपेर फालिन् भन्ने कसैले भेउ पाउनै सकेन ।

यसपछि उनले मिटरब्याजीलाई भनिन्– महोदय, झुक्केर मेरो हातबाट एउटा ढुंगो त खसेर थुप्रोमा मिसिइहाल्यो । त्यो कुन रङको थियो, पत्तो भएन । त्यसैले, अब आफ्नो झोलाको ढुंगो देखाउनुहोस्, मैले निकालेको ढुंगो त्यसको विपरीत रङको हुनेछ । म परिणाम भोग्न तयार छु । उनको प्रस्तावले मिटरब्याजी झस्कियो । ऊ आनाकानी गर्न थाल्यो । तर, त्यहाँ उपस्थित सबैले उसको झोला तानेर ढुंगो निकाले । झोलामा कालो रङको ढुंगो थियो । त्यसैले, व्यवसायीकी छोरीले सेतो ढुंगो निकालेको ठहरियो । व्यवसायी ऋणमुक्त भए र उनकी छोरीको बिहे पनि लोभी र खराब मिटरब्याजीसित गर्नुपरेन ।