मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
नयाँ पत्रिका नेपालगञ्ज
२०८० असोज १७ बुधबार १४:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्जमा निषेधाज्ञा यथावत्, सामाजिक सदभावका लागि सहयाेग गर्न अनुरोध

भारतबाट जमुनाह नाका हुँदै स्वदेश फर्केका नागरिकलाई गन्तव्यसम्म लगिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नेपालगञ्ज
२०८० असोज १७ बुधबार १४:४३:००

बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यु) यथावत् छ। 

जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीद्वारा जारी विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधारणसहित २२ जना घाइते भएका तथा उनीहरूमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ। 

स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगन्जमा धार्मिक तथा सामाजिक सदभावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न–नगराउन अनुरोध गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले सदभावको सहरका रुपमा रहेको नेपालगन्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आमनागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्‍याउनसमेत आग्रह गरेको छ। 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको, तर बैठक बस्ने समय भने निश्चित नभएको जानकारी दिए। उनले निषेधाज्ञामा कडाइ गरिएको उल्लेख गर्दै भारतबाट जमुनाह नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन थालिएको जानकारी दिए।  

प्रहरी चौकी जमुनाहका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले अहिलेसम्म एक हजार पाँच सय नेपालीलाई गन्तव्यमा पुर्‍याइएको जानकारी दिए। उनले भारतको सिम्ला, कालापहाड, दिल्लीलगायतका ठाउँबाट दसैँ मनाउन घर फर्केका नागरिकलाई राँझाचोकसम्म पुर्‍याइएको र त्यहाँबाट नागरिकहरू गन्तव्यमा पुगिरहेका पनि बताए।