
सत्ता राजनीतिले प्रभावित हुँदै आएको कोशी प्रदेश सभाको चौथो अधिवेशन १७ असोजदेखी सुरु हुने भएको छ ।
राजनैतिक स्वार्थले गर्दा पटकपटक अन्त र स्थगित भएर सुरु हुँदै आएको कोशी प्रदेश सभाको बैठकको चौथो अधिवेशन १७ असोजदेखि सुरु हुने भएको हो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङगले कोशी प्रदेश सभाको चौथो अधिवेशनको बैठक १७ असोज दिउँसो १ बजे आश्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्त्ता नरेन्द्रकुमार श्रेष्ठले बताए । कोशी प्रदेश सभाको चौथो अधिवेशनमा सर्वोच्च अदालतको परामादेशबाट नियुक्त्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुपर्नेछ।
२०७९ को आम निर्वाचनपछि दोस्रो कार्यकालका लागि सुरु भएको कोशी प्रदेश सभाको पहिलो र हिउँदे अधिवेशनको पहिलो बैठक १७ पुस २०७९ मा सुरु भएको थियो । सोही अधिवेशनको अन्तिम बैठकले १७ फागनु २०७९ मा दुई तिहाई बढि बहुमतले तत्काल १ नम्बर प्रदेशको नाम कोशीप्रदेश नामाकरण गरेपछि उक्त्त अधिवेशन १७ फागुनदेखि स्थगित भएको थियो ।
कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन १४ जेठ २०८० मा सुरु भएको थियो । तर एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कामचलाउ सरकारले जेठ अन्तिममा अध्यादेशमार्फत नीति कार्यक्रम र बजेट प्रस्तुत गरेपछि उक्त्त बजेट अधिवेशन अन्त गराएका थिए । त्यसपछि कामचलाउ मुख्यमन्त्री कार्कीले १४ असार २०८० मा विश्वासको मत लिनका लागि तेस्रो अधिवेशन बोलाएका थिए ।
१५ असारमा उनले विश्वासको मत प्राप्त गर्न नसकेपछि उक्त्त बैठक अनिश्चितकालका लागिस्थगित भएको थियो । त्यसपछि पुर्नजिवित गठनबन्धनबाट नियुक्त्त भएका कांग्रेसका मुख्यमन्त्री उद्धव थापाले १ भदौमा स्थगित भएको कोसी प्रदेश सभाको तेस्रो अधिवेशन बोलाएका थिए । उनले ४ भदौमा संसदबाट विवादास्पद रुपमा विश्वासको मत लिएपछि ६ भदौदेखि उक्त्त अधिवेशन पनि अन्त भएको थियो ।
राजनैतिक सत्ता स्वार्थले गर्दा दोस्रो कार्यकालका लागि सुरु भएको कोशी प्रदेश सभाको बैठक सुरु भएको १० महिना बितिसक्दा अझै प्रदेश सभाले आफ्नो नयाँ नियमावली बनाएको छैन । साथै कोशी प्रदेश संसदमा अझै विषयगत समितिहरु पनि निर्माण भएका छैनन ।