Skip This
नयाँ शैलीको बैंकिङ ठगी : एसबिआई बैंकले गुमायो डेढ करोड 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Saturday, 27 July, 2024
नवराज मैनाली काठमाडाैं
२o८o असोज ११ बिहीबार o६:१४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नयाँ शैलीको बैंकिङ ठगी : एसबिआई बैंकले गुमायो डेढ करोड 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार o६:१४:oo

अन्तर्राष्ट्रिय एटिएम कार्डमार्फत गरिने भुक्तानीमा नयाँ किसिमको बैंकिङ ठगी हुन थालेको छ । म्यानुअल पिओएस मेसिनबाट भएको एक ठगी घटनामा नेपाल एसबिआई बैंकले एक करोड ५८ लाख रुपैयाँ गुमाएको छ । प्रहरीले एक व्यक्ति पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 

प्रहरीका अनुसार प्वाइन्ट अफ सेल्स (पोज मेसिन)बाट हुने भुक्तानीमा ठगी भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठमेलमा व्यवसाय गर्ने ड्रागन इन्भेस्टमेन्ट प्रालिका सञ्चालक किसनराज सिंहलाई पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको छ । 

नेपाल एसबिआई बैंकको जाहेरीका आधारमा पक्राउ परेका सिंहलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबी प्रवक्ता एसपी नवराज अधिकारीले बताए । बैंकले उनीविरुद्ध एक करोड ६८ लाख ८१ हजार ६ सय ३६ रुपैयाँको बिगो दाबी गरेको छ । यस्तो ठगीमा अन्तर्राष्ट्रिय गिरोहको पनि संलग्नता रहेको आशंका गरिए पनि पत्ता लागेको छैन । 

कसरी फस्यो एसबिआईको रकम ?
अन्तर्राष्ट्रिय भिसा तथा मास्टर कार्ड कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले ती कम्पनीको नेटवर्कमा आबद्ध हुन नोस्ट्रो खाता खोलेका हुन्छन् । नेपाल एसबिआई बैंकको यस्तो खाता अमेरिकास्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा छ । 

यसरी भिसा तथा मास्टर कार्डमार्फत भुक्तानी हुँदा सोही नोस्ट्रो खातामार्फत सम्बन्धित बैंकले रकम पाउँछ । सोही आधारमा सो कारोबारबापतको रकम प्राप्त गरी एसबिआईले आफैँ ग्राहक रहेका सिंहको व्यक्तिगत खातामा सो रकम जम्मा गरिदियो । 

त्यसरी म्यानुअल पिओएस मेसिनबाट भुक्तानी भएको कार्ड युरोपियन बैंकका ग्राहकहरूको थियो । आफूहरूको खाताबाट पैसा चोरी भएको भन्दै उनीहरूले आफ्नो बैंकमा उजुरी गरे । मास्टर कार्डका ७० तथा भिसा कार्डका २४ ग्राहकले उजुरी गरेका थिए । 

उजुरीपछि बैंकले भिसा तथा मास्टर कार्ड कम्पनीलाई त्यसबारे जानकारी गरायो । भिसा र मास्टर कार्डले उजुरीबारे जानकारी गराउँदै यसबारे नेपालको एसबिआई बैंकसँग विवरण माग गर्‍यो । तर, बैंकले त्यसरी भुक्तानी गर्ने व्यक्तिको पासपोर्ट, सिसिक्यामेरा फुटेजलगायत नियमअनुसारको विस्तृत विवरण उपलब्ध गराउन नसकेपछि उसको नोस्ट्रो एकाउन्टबाट एक लाख १५ हजार डलर कटाएर कार्डधनीको रकम चोरिएको ग्राहकको खाता भएका युरोपियन बैंकलाई दिएको थियो । यसबाट नेपालको एसबिआई बैंक पीडित बन्यो ।

सिंहले सम्झौताअनुसार विस्तृत विवरण नराखी भुक्तानी लिएका कारण आफ्नो बैंकलाई समस्या भएको भन्दै एसबिआई सिआइबी पुगेको थियो । गत ७ असारमै उजुरी दर्ता भएकोमा २७ भदौमा सिंहलाई पक्राउ गरी ब्युरोले अनुसन्धान अघि बढाएको थियो । सुरुमा बैंकले उनीसँग सो रकम माग गरेको थियो उनले फिर्ता गर्न नसकेपछि जाहेरी दिएको हो । सिंहले भने यसबारे आफूलाई बैंकले ढिलो गरी मात्र जानकारी गराएकाले पैसा फिर्ता गर्न नसकेको बताएका छन् । 

आफूलाई कार्डमार्फत भुक्तानी दिने व्यक्तिको विस्तृत विवरण खुलाउन नसक्दा आरोपी सिंह पक्राउ परेका हुन् । उनले दैनिकजसो ती विदेशी आफ्नो पसलमा आउने र म्यानुअल पिओएसमार्फत भुक्तानी दिने गरेको बताएका छन् । यसरी म्यानुअल पिओएसमार्फत कारोबार हुनुभन्दा ११ दिनअघि मात्र उनले नेपाल एसबिआई बैंकको ठमेल शाखाबाट सो मेसिन लिनु र पछि कारोबार बन्द गर्नुले पनि यसमा उनकै संलग्नता रहेको सिआइबी निष्कर्ष छ । 

कुनै अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर उनले ठगी गरेको हुन सक्ने सिआइबी अधिकारी बताउँछन् । यो घटनाले एटिएम कार्डको विवरण सुरक्षामा पनि प्रश्न उठेको छ । कसरी सयौँ ग्राहकको एटिएमको विवरण सो समूहले पायो भन्ने विषयमा प्रस्ट हुन सकेको छैन ।

नक्कली एटिएम कार्डमार्फत नेपालमा बैंक ठगीका घटना नयाँ होइनन् । तर, म्यानुअल पिओएस मेसिनबाट हुने ठगीका घटना भने पहिलोपटक देखिएको सिआइबीका अधिकारी बताउँछन् । एटिएममार्फत ठगीमा विगतमा चिनियाँ तथा पूर्वी युरोपियन देशका नागरिकहरू ठूलो संख्यामा पक्राउ परेका थिए । 

१५ दिनमा डेढ करोडको ठगी 
पक्राउ परेका सिंह विदेशी पर्यटकलाई लक्षित गरी थान्का र मूर्तिलगायतको व्यापार गर्दछन् । गत १० पुसदेखि २५ पुससम्म उनले शंकास्पद रूपमा एक लाख १५ हजार चार सय १६ अमेरिकी डलरबराबरको भुक्तानी म्यानुअल पिओएस मेसिनबाट लिएका थिए । म्यानुअल पिओएस मेसिनबाट भुक्तानी गर्दा भौतिक रूपमा एटिएम कार्ड आवश्यक हुँदैन । 

कार्ड नम्बर, कार्ड म्याद सकिने मिति र कोड नम्बर भए भुक्तानी गर्न मिल्छ । यसरी म्यानुअल मेसिनबाट उनले करिब डेढ सयपटक कारोबार गरेको सिआइबीको अनुसन्धानमा देखिएको छ । यस्तो कारोबार गर्दा ग्राहकको पासपोर्टलगायत पहिचान खुल्ने विवरण अनिवार्य हुन्छ । तर, सिंहसँग न सम्बन्धित व्यक्तिको पासपोर्टको सक्कली विवरण थियो, न त सिसिक्यामेराको फुटेज नै । 

पक्राउ परेपछि उनले दुई विदेशी नागरिकलाई आफ्नो पसलबाट त्यसरी म्यानुअल पिओएस मेसिनबाट भुक्तानी दिई सामान खरिद गरेको बताएका छन् । तर, त्यसको प्रमाण उपलब्ध गराउन सकेका छैनन् । सोही कारण आफ्नो पैसा फसेको भन्दै बैंकले उनीविरुद्ध उजुरी गरेको हो । 

पिओएस भुक्तानीले जोखिममा व्यवसायी 
अन्तर्राष्ट्रिय कार्डमार्फत हुने भुक्तानीमा व्यवसायी सतर्क हुन थालेका छन् । अन्य घटनामा पनि ‘डिस्प्युट’सम्बन्धी उजुरी पर्न थालेपछि ठमेल क्षेत्रका कतिपय व्यवसायीले म्यानुअल पिओएस मेसिनबाट हुने कारोबार बन्द गर्न थालेका छन् । ‘म्यानुअल पिओएस मेसिनबाट भुक्तानी गर्ने व्यक्तिको पासपोर्ट, सिसिक्यामेरा फुटेजलगायत विवरण सधैँ राख्न सकिन्न,’ एक व्यवसायी भन्छन्, ‘सम्बन्धित व्यक्तिले नै पछि पैसा दाबी गर्न यस्तो उजुरी गर्नेसमेत देखिएपछि म्यानुअल पिओएसबाट भुक्तानी रोक्न थालेका छौँ ।’