टाइब्रेकरमा नेपाललाई ३–२ ले पराजित गर्दै भारतले साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ। टाइब्रेकरमा नेपालले तीन पेनाल्टी खेर फालेपछि भारत विजयी भएको हो।
दशरथ रंगशालामा भएको खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेपालले तीन पेनाल्टी प्रहार खेर फाल्यो भने भारतले दुई प्रहार खेर फाले पनि नतिजा ३–२ ले आफ्नो पक्षमा पार्यो।
नेपालका लागि अश्विन घोरासैनी र कुशल देउवाले मात्र गोल गरे। प्रशान्त लक्नन र लक्षु थापाको प्रहार भारतीय गोलरक्षकले बचाए भने विक्रम तामाङले प्रहार गरेको बल अकासियो।
भारतका लागि भने अर्जुन सिंह, गोगोम्सर गोयरी र मागिलेतम किपगेमले गोल गरे । दीनेश सिंहको बल नेपाली गोलरक्षक ग्यारेथले रोकेका थिए । यस्तै, भारतीय रिक्की मितेयीको प्रहार बारमा लाग्दै बाहिरिएको थियो।
त्यसअघि २६औँ मिनेटमा गोल गर्दै भारतले खेलमा अग्रता लिएको थियो । ७४औँ मिनेटमा नेपालले खेलमा बराबरी गर्यो। दीपक थापा मगरको क्रसमा समीर तामाङले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
नेपालले पहिलो र दोस्रो हाफमा केही राम्रा अवसर गोलमा परिणत गर्न नसक्दा फाइनल पुग्ने अवसरबाट वञ्चित रह्यो।
अब उपाधिको लागि भारतले शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानले पहिलो सेमिफाइनलमा भुटानलाई सडेन डेथमा ६–५ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।