नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि चितवन एफसी र बुटवल लुम्बिनीले आफ्नो मार्की खेलाडी अनुबन्ध गरेका छन् । आठ मंसिरबाट सुरु हुने प्रतियोगिताका लागि चितवन र बुटवल लुम्बिनीले राष्ट्रिय टोलीका सदस्यलाई आफ्नो मुख्य खेलाडी घोषणा गरेको हो । एफसी चितवनले गोलकिपर विशाल श्रेष्ठ र बुटवल लुम्बिनीले मिडफिल्डर एरिक विष्टलाई अनुबन्ध गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुस १४ मा हुने तालिका छ ।
यसअघि, सात टोली विराटनगरसँगै च्याम्पियन काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगन्ज युनाइटेड एफसी र झापा एफसीले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्नेछन् ।
एरिक पहिलोपटक मार्की
बुटवल लुम्बिनी एफसीले मार्की खेलाडीमा मिडफिल्डर एरिक विष्टलाई अनुबन्ध गरेको छ । पहिलो संस्करणको एनएसएल ए डिभिजन लिग र नेपाली राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका एरिक पहिलोपटक मार्की भएका हुन् । २३ वर्षीय एरिक विष्टले ‘ए’ डिभिजन लिगमा चर्च ब्बाइज युनाइटेडबाट खेलेका थिए । टोली डेब्युमै च्याम्पियन भएको थियो । मार्की खेलाडीमा अनुबन्ध भएपछि एरिकले आफू निकै उत्साहित रहेको बताएका छन् ।
‘मार्की खेलाडीका रूपमा आउन पाउँदा निकै खुसी छु र उत्तिकै उत्साहित पनि छु,’ एरिकले भने, ‘अब बन्ने टिम राम्रो बन्ने विश्वास गरेको छु । यसपटक उपाधिका लागि खेल्नेछौँ ।’ गत सिजन घरेलु फुटबलमा खेलेका ५५ बढी खेलाडी विदेश पलायन भएका हुँदा यसपटक नयाँ खेलाडीले बढी अवसर पाउँदै छन् । मार्की खेलाडी तीन क्लबले छनोट गर्दा दुई नयाँ अनुहार छन् । धनगढी एफसीले राष्ट्रिय टोलीबाट ६ खेल मात्रै खेलेका आशिष चौधरीलाई मार्की बनाएको छ । दोस्रो संस्करणका लागि दोस्रोपटक शनिबार अक्सन हुँदै छ ।