
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्।
पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईलगायतले स्वागत गरेका थिए।
नेपालले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपकोसमेत भ्रमण गरेका थिए। पूर्वप्रधानमन्त्री नेपाललाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइएको विकास कोषले जनाएको छ।
कोषका अनुसार लुम्बिनीलाई बृहत् क्षेत्रको हिसाबले विकास गरी विश्वकै पर्यटकीय केन्द्र बनाएर लुम्बिनीको विकासको पहल गर्न नेपालले उपाध्यक्ष डा.लामालाई शुभकामनासमेत व्यक्त गरेका थिए।
लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा भएको भन्दै उनले लुम्बिनीलगायत बुद्धसँग सम्बन्धित पुरातात्त्विक क्षेत्रलाई समेटेर बृहत्तर लुम्बिनीका रूपमा विकासमा सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।