१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Saturday, 28 September, 2024
२o८o असोज ७ आइतबार २o:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छली ल्याइएको मदिरासहित पाँच भारतीय नागरिक पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार २o:२१:oo

मकवानपुर प्रहरीले भन्सार छली ल्याइएका विभिन्न ब्रान्डका आठ सय ५५ बोतल मदिरासहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेकाे छ। 

शनिबार पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार सार्वजनिक गर्‍यो। त्यसक्रममा प्रहरीले बरामद मदिरासहित भारतीय नागरिकसहित ओसारपसारमा प्रयोग भएका दुईवटा भारतीय कार पनि सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षीय बिक्की, २५ वर्षीय राहुल, २८ वर्षीय कुनाल, ३१ वर्षीय नहिम र ३७ वर्षीय राजु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए। 

उनका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा– १५ रातोमाटे चेकपोस्टअगाडिबाट उक्त मदिरा र कारसहित पाँचजना भारतीयलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा सवारीसाधनहरू रोकी जाँच गर्ने क्रममा चितवनबाट आउँदै गरेको डिएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको भारतीय कारबाट भारतको उत्तर प्रदेशबाट भन्सार छली ल्याइएको रोयल ग्रिन ह्विस्की तीन सय ७५ एमएलको सात सय १५ बोतल र एक सय ८० एमएलको एक सय ४० बोतल गरी आठ सय ५५ बोतल मदिरा बरामद गरेको उनले जानकारी दिए।

उक्त मदिरा भारतको बिहारतर्फ लैजाने क्रममा हेटौँडामा नियन्त्रणमा लिएको उनको भनाइ छ। भारतको बिहारमा मदिरा प्रयोगमा प्रतिबन्ध रहेकाले उनीहरूले नेपालको बाटो हुँदै तस्करी गरेको हुन सक्ने प्रहरी प्रमुख रिजालले बताए।

नियन्त्रणमा लिएको मदिरासहित कार र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको उनले जानकारी दिए।

दुईजना फरार प्रतिवादी पक्राउ
मकवानपुर प्रहरीले आइतबार गैँडा मारी खाग चोरी लगेको मुद्दामा फरार रहेका दुईजना फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौँडा उपमहानगरपालिका– १६ हटिया बस्ने ५२ वर्षीय विष्णु कार्की र ४६ वर्षीय काले बानियाँ रहेको प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार उनीहरूलाई हेटौँडा– १६ हटियाबाट शनिबार साँझ पक्राउ गरिएको हो। गैँडा मारी खाग चोरी लगेको मुद्दामा फरार उनीहरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रवक्ता भण्डारीले जानकारी दिए। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि कसरा सेक्टर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको प्रहरीले जनाएको छ।