१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
पामिर गौतम काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:११:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

निज्जर हत्याकाण्डका कूटनीतिक र भू–रणनीतिक प्रभाव

Read Time : > 4 मिनेट
पामिर गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:११:oo

जी–२० सम्मेलनपछि निज्जरको हत्यामा भारतको संलग्नता र त्यसको परिणामबारे विश्वभर ‘हेडलाइन’ बने पनि अन्य ‘फाइभ आइज’ सदस्यले भारतको निन्दा गरेका छैनन्

गत १८ सेप्टेम्बरमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्युडोले संसद्को आपत्कालीन सत्रमा एक क्यानडाली शिख कार्यकर्ताको हत्यामा भारत सरकारका एजेन्टको संग्लग्नताबारे विश्वसनीय सूचना रहेको र त्यस विषयमा गुप्तचर एजेन्सीले अनुसन्धान गरिरहेको बताएका थिए । प्रधानमन्त्री ट्र्युडोले सो सम्बोधनमा क्यानडाभित्र क्यानडाली नागरिकको हत्यामा विदेशी सरकारको संलग्नता क्यानडाको सार्वभौमसत्तामाथिको हस्तक्षेप भएको र त्यो स्वीकार्य नहुने बताए । क्यानडा सरकारका अनुसार निज्जर हत्याकाण्डसँग सम्बन्धित खुफिया प्रतिवेदनमा क्यानडामा उपस्थित भारतीय कूटनीतिज्ञ र भारतीय अधिकारीको संलग्नता प्रमाणित गर्ने प्रमाण समावेश छन् । क्यानडा सरकारले यस विषयमा रहेका जानकारी केवल क्यानडाली एजेन्सीबाट मात्र नभई ‘फाइभ आइज इन्टेलिजेन्स अलायन्स’का सदस्य (हरू) बाट पनि प्राप्त भएको जनाएको छ । फाइभ आइज इन्टेलिजेन्स अलायन्समा अमेरिका, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडा छन् । क्यानडाली स्रोतका अनुसार बन्द ढोकापछाडि ती प्रमाण भारतीय अधिकारीसमक्ष प्रस्तुत गर्दा निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोपलाई तिनले अस्वीकार गर्न सकेका छैनन् ।

क्यानडाली नागरिक हरदीप सिंह निज्जरको १८ जुन २०२३ मा क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा गोली हानी हत्या गरिएको थियो । एक रिपोर्टअनुसार भारतमा जन्मिएका निज्जर २००७ मा क्यानडाली नागरिक बनेका थिए । एक स्वतन्त्र खालिस्तानी राष्ट्र स्थापनाका मुखर समर्थक निज्जरलाई सन् २०२० मा भारत सरकारले आतंकवादी घोषणा गरेको थियो । भनिन्छ, निज्जरको हत्याको समयमा उनी खालिस्तानी राज्य स्थापनाका लागि शिख डायस्पोराबीच जनमतसंग्रह आयोजना गर्ने प्रयास गरिरहेका थिए । शिखका लागि स्वतन्त्र र सुरक्षित राज्यको लडाइँबारे भावुक भाषण गरेर गुरुद्वाराबाट निस्केका उनलाई गोली हानी हत्या गरिएको गार्डियनको रिपोर्टले जनाएको छ ।

क्यानडाका प्रधानमन्त्रीले संसद्मा यसबारे जानकारी दिएपछि मात्र यस घटनाले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको हो । हुन त जी–२० सम्मेलनकै क्रममा मोदी र ट्र्युडोबीच हार्दिकता देखिएको थिएन । दुवै देशले सम्मेलनका क्रममा द्विपक्षीय बैठक गरेनन् । सम्मेलनपछि भारतीय प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै मोदीले क्यानडामा चरमपन्थी तत्वहरूको भारतविरोधी गतिविधिलाई क्यानडा सरकारले बेवास्ता गरी त्यस्ता तत्वलाई थप प्रोत्साहन गरेको विषयमा ट्र्युडोको ध्यानाकर्षण गरेको जनाएको थियो । यस विषयलाई भारतीय मिडियाले मोदीको क्यानडालाई चेतावनीका रूपमा प्रस्तुत गरेका थिए । भारत सरकारको विज्ञप्ति आएपछि प्रधानमन्त्री ट्र्युडोसमक्ष घरेलु दबाब झनै बढेको थियो । संसद्को आपत्कालीन सत्रमा बोल्दै ट्र्युडोले जी–२० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीसँग निज्जर हत्याका विषयमा सीधै कुरा उठाएको र भारत सरकारलाई यस विषयमा क्यानडालाई सहयोग गर्न आग्रह गरेको बताएका थिए । लगत्तै क्यानडाले गुप्तचरीमा संलग्न रहेको आरोपमा एक शीर्ष भारतीय कूटनीतिज्ञलाई निष्कासन गर्‍यो भने भारतले ट्र्युडोका आरोपलाई बेतुका र राजनीतिक रूपमा प्रेरित भन्दै एक क्यानडाली कूटनीतिज्ञलाई निष्कासन गर्‍यो ।

गत बिहीबार ट्र्युडोले न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि क्यानडाको स्थायी नियोगमा आयोजना गरिएको पत्रकार सम्मेलनमा हाउस अफ कमन्सको फ्लोरमा आफूले यी आरोप सार्वजनिक गर्ने निर्णय हल्का रूपमा नभएर अत्यन्त गम्भीरतासाथ गरेको र यसको प्रमाण कानुनी प्रक्रियाका क्रममा क्रमशः बाहिर आउने बताएका छन् । ट्र्युडोले थप अगाडि भने– क्यानडा कानुनी शासनको देश हो र अन्तर्राष्ट्रिय नियम र मूल्य–मान्यतामा आधारित व्यवस्थालाई कायम राख्न आवश्यक काम गर्न क्यानडा सधैँ लाग्नेछ । ट्र्युडोले सोही पत्रकार सम्मेलनमा भारत सरकारलाई यो विषयलाई गम्भीरतापूर्वक लिन र यस मामिलामा जवाफदेहिता र न्याय सुनिश्चित गर्न पूर्ण पारदर्शितासाथ क्यानडाली अधिकारीलाई सहयोग गर्न आह्वान गरेका छन् । यसैबीच भारतमा अवस्थित क्यानडाको उच्च आयोगले आफ्ना केही कूटनीतिज्ञलाई विभिन्न सामाजिक सञ्जालमार्फत धम्की आएका कारण भारतमा आफ्नो आयोग र वाणिज्य दूतावासमा कर्मचारीको उपस्थितिलाई अस्थायी रूपमा समायोजन गरिरहेको बताएको छ । अर्कातर्फ भारतले क्यानडाली उच्च आयोगमा कार्यरत कर्मचारी संख्या क्यानडामा अवस्थित भारतीय उच्च आयोगमा कार्यरत संख्यासँग समानता नरहेकाले त्यसलाई घटाउन क्यानडालाई निर्देशन दिएको बताएको छ । बुधबार भारतले क्यानडामा बढ्दो भारतविरोधी गतिविधिका कारण आफ्ना नागरिकलाई अत्यधिक सावधानी अपनाउन सूचित गरेको छ भने बिहीबार सुरक्षा खतरा उल्लेख गर्दै क्यानेडियनका लागि सबै भिसा आवेदन रोकेको छ ।

निज्जर हत्याकाण्डमा भारतको संलग्नताका विषयमा बोल्दै गर्दा क्यानडाकी उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले यो विषय भूराजनीतिको नभई कानुनी शासनको भएको बताएकी छिन् । प्रधानमन्त्री ट्र्युडोले यस घटनालाई नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको प्रतिकूल रहेको बताएका छन् । ‘फाइनान्सियल टाइम्स’ले छलफलमा संग्लग्न तीन स्रोतलाई उद्धृत गर्दै जो बाइडेन र अन्य फाइभ आइज सदस्यले दिल्लीमा आयोजित हालैको जी–२० शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीसामु यस विषयमा चिन्ता व्यक्त गरेको जनाएको छ । तर, जी–२० शिखर सम्मेलनअघि नै यस विषयमा जानकार फाइभ आइज सदस्यमध्ये क्यानडाका प्रधानमन्त्रीबाहेक कसैको पनि हाउभाउले कुनै समस्याको संकेत गरेन । 

जी–२० सम्मेलनपछि निज्जरको हत्यामा भारतको संग्लग्नता र त्यसको परिणामबारे विश्वभर प्रमुख हेडलाइन बने पनि कुनै अन्य फाइभ आइज सदस्यले भारतको निन्दा गरेका छैनन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले यी आरोपलाई गम्भीर भन्दै त्यसको अनुसन्धान हुनु ठिक हुने बताएका छन् । तर, भारतसँग स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता गरिरहेको बेलायतले सो घटनाले दुई देशबीचको व्यापार सम्झौता वार्तालाई कुनै असर नगर्ने बताएको छ । स्मरण रहोस्, बेलायती प्रधानमन्त्री सुनक भारतसँगको प्रस्तावित स्वतन्त्र व्यापार सम्झौतालाई लिएर स्वार्थको द्वन्द्वको सामना गरिरहेका छन् । व्यापार विशेषज्ञ र सांसदका अनुसार सो सम्झौताद्वारा सुनक परिवारिक फाइदा उठाउन चाहन्छन् ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले यो विषय चिन्ताजनक रहेको र अस्ट्रेलियाले यी घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको बताएकी छिन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ट्विटरमा जी–२० बैठक सफल भएकामा मोदीको प्रशंसा गर्दै दुई देशबीचको बृहत् आर्थिक सहयोग सम्झौतालाई टुंगोमा पुर्‍याउने विषयमा पनि राम्रो द्विपक्षीय छलफल भएको बताएका थिए । अल्बानिज र मोदीको सेल्फी र दुईजनाले अंकमाल गर्दा अल्बानिजकी श्रीमतीको अनुहारको भावले भारतीय मिडियामा खुबै ‘कभरेज’ पाएको थियो । न्युजिल्यान्डकी विदेशमन्त्रीले ती आरोप सत्य सावित भएमा गम्भीर चिन्ताको विषय हुने तर यो क्यानडामा चलिरहेको आपराधिक अनुसन्धान भएकाले थप टिप्पणी नगर्ने बताइन् । यस मुद्दामा भारतसँगको अमेरिकी भूराजनीतिक स्वार्थका कारण क्यानडासँग दूरी बढ्दै गएको चर्कंदो आरोप र घरेलु दबाबबीच अमेरिकाले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले बिहीबारको नियमित पत्रकार सम्मेलनमा अमेरिका क्यानडाली समकक्षी र भारत सरकारसँग निरन्तर सम्पर्कमा रहेको र यस मुद्दामा क्यानडा र अमेरिकाबीच दूरी रहेको रिपोर्टमा सत्यता नरहेको बताएका छन् । सुलिवानले यस्तो कार्य अमेरिकी सिद्धान्तविपरीत रहेकाले यसलाई अमेरिकी सरकारले गम्भीरतासाथ लिने बताउँदै यस्तो कार्यका लागि कुनै पनि राष्ट्रले विशेष छुट नपाउने बताए । उनले भने– अमेरिका अनुसन्धान अगाडि बढेको र दोषीलाई कारबाही भएको हेर्न चाहन्छ । अमेरिकी नीतिसम्बन्धी सुलिवानको कथन यसको भावनाअनुरूप रहने छ कि छैन भविष्यले नै निर्णय गर्नेछ, तर बाइडेन प्रशासनको विगत अभ्यास हेर्दा शंका गर्ने प्रशस्त कारण छन् ।

अमेरिकी सरकारको आफ्नै प्रतिवेदनमा भारतको घट्दो प्रजातान्त्रिक मूल्य–मान्यता र बढ्दो मानवअधिकार उल्लंघनका विषयमा चिन्ता व्यक्त गरे पनि अमेरिकी सरकार दुई देशबीचको सम्बन्ध ‘साझा मूल्य–मान्यता’मा आधारित रहेको उल्लेख गर्न हिचकिचाउँदैन । निज्जर हत्यासम्बन्धी मोदीसँगको द्विपक्षीय भेटघाटमा यस विषयमा चिन्ता व्यक्त गरेका भनिएका बाइडेनलाई उल्टै मोदीले २६ जनवरीमा मनाइने गणतन्त्र दिवसमा मुख्य अतिथिका रूपमा उपस्थित हुन निम्तो दिएर पठाएका छन् । जी–२० सम्मेलनपछि भारत सरकारले बाइडेनलाई कुनै प्रकारको ‘प्रेस मिट’ गर्न दिएन । अमेरिकी राष्ट्रपतिले ‘कम्युनिस्ट भियतनाम’मा गएर बल्ल पत्रकार सम्मेलन गरेका थिए । स्वतन्त्र मिडिया तथा गलत र विकृत समाचारविरुद्धको लडाइँलाई प्राथमिकता दिएका बाइडेनले ‘गोदी मीडिया’लाई अफवाहका समाचार सम्प्रेषण गरेर मोदीको जयजयकार गर्ने प्रशस्त मौका भने अवश्य दिएका छन् । २६ जनवरीको कार्यक्रममा बाइडेनको उपस्थितिले कसैलाई अचम्मित पार्नेछैन । पत्रकार खसोग्गीको हत्याको प्रतिक्रियास्वरूप साउदी युवराजसँग कुनै पनि छलफलमा संलग्न नहुने र साउदी अरेबियालाई एक बहिष्कृत राज्यमा परिणत गरिदिने अभिव्यक्ति दिएका बाइडेन अहिले साउदी युवराजलाई आकर्षित गर्न मौका पर्खेर बसेका छन् । आफ्नो नीतिमा भएको यु–टर्नको औचित्य पुष्टि गर्दै बाइडेनले भनेका थिए, रुसको आक्रामकताको प्रतिरोध गर्ने र चीनलाई पराजित गर्ने अमेरिकी रणनीतिलाई प्रभाव पार्न सक्ने देशसँग प्रत्यक्ष रूपमा सहकार्य आवश्यक छ । वर्तमान समयमा चीनको बढ्दो प्रभाव रोक्ने अमेरिकी र पश्चिमा रणनीतिक गन्तीमा भारतसँगको सम्बन्ध सबैभन्दा महŒवपूर्ण छ, क्यानडासँगको सम्बन्धभन्दा पनि बढी ।

आर्थिक र रणनीतिक दृष्टिले भारतको महŒव बढ्दै गएको अवस्थामा भारतको आलोचना गरेर यसलाई चिढ्याउने मनस्थितिमा पश्चिमा मुलुक छैनन् । यस्तो अवस्थामा उनीहरूले निज्जर मुद्दालाई क्यानडा र भारतबीचको द्विपक्षीय सम्बन्धको पर्खालभित्र मात्रै सीमित राख्न सक्दो प्रयास गर्नेछन् । 

ad
ad