१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Friday, 09 May, 2025
२o८o असोज ४ बिहीबार १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री मेन्याङ्बोलाई पहिचान पक्षधरले कालो झन्डा देखाएपछि झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १४:२७:oo

कोशी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङ्बोलाई खोटाङका पहिचान पक्षधरले बिहीबार कालो झन्डा देखाएका छन्। 

चरणबद्ध आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले मन्त्री मेन्याङ्बोलाई जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चोकमा कालो झन्डा देखाएका हुन्।

कालो झन्डा देखाउने र सुरक्षाकर्मीबीच झडप हुँदा किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किराँत, किराँत युवा फोर्सका संयोजक निर्मल राई, मूल संघर्ष समितिका सचिवालय सदस्य सुनील चाम्लिङलगायत घाइते भएका छन्। 

आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै पहिचान पक्षधर नेता तथा कार्यकर्ताले प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए। 

निर्माणाधीन जिल्ला अस्पताल खोटाङको भवन निरीक्षण तथा अनुगमन गरेर मन्त्री फर्कने बाटो क्लियर गर्ने क्रममा झडप भएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताए। 

‘घटनास्थलमा म आफैँ पनि उपस्थित थिएँ। मन्त्रीज्यू फर्कने क्रममा आन्दोलनकारी र प्रहरीबीच सामान्य धकेला–धकेल भएको भयो,’ उनले भने, ‘आन्दोलनमा सहभागी केही साथीहरू घाइते भएका छन् भन्ने सुनिएको छ । उहाँहरूलाई बोलाएर छलफल गर्ने योजना बनाएको छु।’ 

प्रहरी हस्तक्षेपपछि पहिचान पक्षधर नेता तथा कार्यकर्ताको आकस्मिक बैठक अहिले जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बसिरहेको छ। उनीहरूले पहिचानविरोधी कोशी नाम राख्नमा संलग्न मन्त्री तथा प्रदेश सभा सदस्य जोसुकैलाई जिल्ला प्रवेशमा रोक लगाउने बताउँदै आएका छन्। 

चरणबद्ध कार्यक्रम घोषणा गरेर आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले कोशी नाम खारेज गरेर पुनः नामकरण गर्न माग गरिरहेका छन्। प्रदेशको नाम परिवर्तन नभएसम्म आफूहरूको आन्दोलन जारी रहने किराँत युवा फोर्सका संयोजक राईले बताएका छन्।