Skip This
मनाइयो नवौँ संविधान दिवस : पूर्ण परिपालना र कार्यान्वयनमा सबैको जोड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Friday, 26 July, 2024
संविधान दिवस–२०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा टुँडिखेलमा बुधबार नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गर्दै । तस्बिर : रासस
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ४ बिहीबार o८:२९:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मनाइयो नवौँ संविधान दिवस : पूर्ण परिपालना र कार्यान्वयनमा सबैको जोड

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार o८:२९:oo

जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको दिनलाई स्मरण गर्दै बुधबार नवौँ संविधान दिवस मनाइएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मानव अधिकार र मौलिक हकको सुनिश्चित गर्दै संविधानसभाले ३ असोज ०७२ मा संविधान जारी गरेको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नुपर्ने बताएका छन् । संविधान दिवसमा शीतलनिवासमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै अझ परिणाममुखी बनाउन आवश्यक छ,’ उनले भने । 

राष्ट्रपति पौडेलले गणतन्त्र जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार भएको उल्लेख गरे । लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेको र संविधानले जनतालाई राजकीय शक्तिको मालिक बनाएको बताए । उनले राजनीतिक उपलब्धिलाई जोगाउँदै संविधानको रक्षा गरेर अगाडि जानुको विकल्प नरहेको बताए । ‘संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो, अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र जीवनस्तर उकास्ने अवसर प्रदानगर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो,’ राष्ट्रपति पौडेलको भनाइ थियो ।

यसैबीच, सरकारले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनायो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो । मैदानबाट रंगीचंगी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा सांगीतिक प्रस्तुति गरिएको थियो । काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाद्वारा परम्परागत सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । सूचना विभागबाट प्रकाशित ‘नेपाल’ द्वैमासिकको संविधान दिवस विशेषांक विमोचन गरिएको थियो । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरू, संसदीय समितिका सभापति तथा सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका र सभामुख देवराज घिमिरेले आयरल्यान्ड भ्रमणमा रहेकाले उपस्थित भएनन् । विशेष समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने तथा नागरिकहरूको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारलाई पूर्णतः संरक्षण गरेको संविधानको पूर्ण परिपालना र कार्यान्वयनमा सबै एकबद्ध हुन जरुरी रहेको बताए । संविधानमा अभिव्यक्त नेपाली जनताको चाहनाबमोजिम मुलुकमा जनउत्तरदायी एवं जनमुखी शासन व्यवस्था स्थापना तथा सञ्चालनमा सरकार दृढ रहेको उनको भनाइ थियो । 

स्वावलम्बी अर्थतन्त्रमा जोड दिऔँ : पूर्वराष्ट्रपति भण्डारी 
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएकी छिन् । संविधान दिवसका अवसरमा बुधबार शुभकामना वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यस्तो आवश्यकता औँल्याएकी हुन् ।

‘संविधानले सामाजिक न्यायमा आधारित समातामूलक समाजको परिककल्पनालाई साकार बनाउन समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि मार्गदर्शन गरेको छ । उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्दै कृषि वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकासमार्फत स्वावलम्बी अर्थतन्त्रको निर्माण गर्नु आवश्यक छ । यसैगरी, संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारहरूको कार्यान्वयन गरी राज्यबाट प्रापत हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्छ,’ भण्डारीले वक्तव्यमा भनेकी छिन् ।

संविधान केवल साधन मात्र भएकाले कार्यान्वयनका लागि राजनीतिक नेतृत्वको काँधमा ठूलो जिम्मेवारी रहेकोतर्फ सजग गराउँदै पूर्वराष्ट्रपति भण्डारीले संवेदनशील विषयमा आत्मसीक्षा र सुधार गर्दै आगामी दिनमा नयाँ कार्ययोजनासहित जनताको सपना पूरा गर्ने दिशामा अघि बढ्न आह्वानसमेत गरेकी छिन् ।

राष्ट्रिय एकता बलियो पार्दै संविधान कार्यान्वयन गरौँ : ओली 

एमालेले नवौँ संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाएको छ । काठमाडौंसहित देशैभर एमालेले राष्ट्रिय झन्डा प्रदर्शन र दीप प्रज्वलन गरेर संविधानलाई राष्ट्रिय उत्सवका रूपमा मनाएको हो । 

‘सेल्फी विथ नेसनल फ्ल्याग कार्यक्रम’ भन्ने नारासहित काठमाडौंको नारायणचौरमा बुधबार बिहान आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डोत्तोलन गरे । उनले दीप प्रज्वलन पनि गरेका थिए । कार्यक्रममा एमालेका पदाधिकारी तथा स्थायी समिति, केन्द्रीय कमिटीका नेता, सांसद, एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि तथा ठूलो संख्यामा कार्यकर्ता राष्ट्रिय झन्डासहित सहभागी भएका थिए । 

कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले राष्ट्रिय एकता बलियो बनाउँदै संविधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गरेर देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने धारणा राखे । प्राप्त उपलब्धिलाई समाप्त पार्न छिटपुट रूपमा प्रयास भइरहेको भन्दै उनले सजग बन्नुपर्ने जिकिर गरे । ‘कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति र क्रियाकलाप छिटपुट रूपमा हुने गरेको देखिएका छन्,’ ओलीले भने, ‘त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई खलबल्याउने खालका कुरा सकारात्मक हुन सक्दैनन् ।’

अध्यक्ष ओलीले दिवसले एकताको सन्देश दिएको भन्दै आगामी वर्षमा दिवसलाई राष्ट्रियस्तरमा मनाइने बताए । त्यस्तै, ओलीले सामाजिक सञ्जालमा दशकौँ लामो संघर्ष, बलिदान र धेरै ठूलो अवरोध छिचोलेर संविधानसभामार्फत संविधान जारी भएको चर्चा गर्दै संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएर ३१ वटा मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गरे । यसैबीच बुधबार बिहानै ओलीले संविधानले दिएको अधिकार कार्यान्वयनमा जोड दिँदै देशवासीलाई शुभकामना दिएका थिए । ‘संविधानले हामीलाई अधिकार दिएको छ, कर्तव्य, विवेक र इमानदारी भने हामी आफैँसँग हुनुपर्छ, संविधान दिवसको सबैलाई शुभकामना !’ सामाजिक सञ्जालमा ओलीले भनेका छन् । 

लोसपाले भन्यो कालो दिन, जसपा मौन
जनकपुरधाम- संविधान जारी भएको दिनलाई कालो दिन भन्दै मधेश प्रदेशका धनुषा, सप्तरी, सिराहा, महोत्तरी, सर्लाहीलगायत जिल्लामा लोसपा, तमलोपाले प्रदर्शन गरेका छन् । मधेशमा सबैभन्दा ठूलो जनाधार भएको जसपा भने मौन बस्यो । केन्द्रीय सत्तागठबन्धनमा रहेको जसपाकै नेतृत्वमा रहेको मधेश सरकारले भने संविधान दिवस मनाउने निर्णय गरेको थियो । यद्यपि, मुख्यमन्त्री सरोजकुमार यादव कार्यक्रममा सहभागी भएनन् ।

लोसपा र तमलोपाले भने केही जिल्लामा विरोध प्रदर्शन गरे । लोसपाको मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले संविधानलाई पूर्ण रूपमा स्वीकार गर्न नसकिएकाले ३ असोजमा विरोध कार्यक्रम गरेको बताए । ‘संविधान दिवसमा कालो दिवस मनाउनु भनेको संविधानलाई अस्वीकार्य गर्नु होइन । हामी आंशिक रूपमा संविधानलाई स्वीकार्य गरेर नै अगाडि बढेका छौँ । तर, संविधान कुन परिवेश र अवस्थामा घोषणा गरियोे, त्यसको पृष्ठभूमि बुझ्नुपर्छ,’ उनले भने, ‘संविधान घोषणा हुँदा काठमाडौंले उत्सव मनाए पनि मधेशमा प्रहरीले गोली हानेर मधेसीलाई हत्या गरियो । अन्यत्र दीपावली हुँदा पूरै मधेशमा ब्ल्याकआउट थियो । त्यस कारण हामीले कालो दिनको रूपमा सम्झने गरेका हौँ ।’

जसपा नेता रहेका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले संविधानप्रति असहमति, असन्तुष्टि हुँदाहुँदै पनि संविधानलाई स्वीकार्य गरे अगाडि बढेको प्रतिक्रिया दिए । मधेशमा पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले संविधान संशोधन गरी मधेशका सरोकार सम्बोधन नगर्दा मुलुक पटक–पटक राजनीतिक दुर्घटनामा फस्दै आएको जिकिर गरे । 

राजनीतिक विश्लेषक चन्द्र किशोरले संविधान घोषणा भएको आठ वर्ष भइसक्दा पनि संघीयता पक्षधरहरू संविधान संशोधनमा गम्भीर नहुँदा संघीयता नरुचाउने शक्तिहरूको हालिमुहाली भएको बताए । ‘संविधानमा मधेशी जनताले आफ्ना भविष्य, सुरक्षा, शान्ति, द्वन्द्वको व्यवस्थापन, समृद्धि खोजेका छन्, जुन संविधानकै प्रस्तावनामै उल्लेख छ,’ उनले भने, ‘तर, शासक वर्ग र शासित सामुदायबीच संविधान संशोधनको विषयमा खाडल देखिएको छ । मधेश आश्रितहरूले संविधान संशोधनका मुद्दा नछोडे पनि मुखर रूपमा उठान सकेका छैन । त्यसकारण यो विषय अब आममधेशी जनताको भएको छ ।’