Skip This
रोनाल्डो फेरि सर्वाधिक कमाउने खेलाडी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३ बुधबार
  • Saturday, 27 July, 2024
एजेन्सी
२o८o असोज ३ बुधबार o६:५७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डो फेरि सर्वाधिक कमाउने खेलाडी 

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार o६:५७:oo

एक वर्षको अवधिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक सय ३६ मिलियन अमेरिकन डलर कमाएका छन्, इन्टर मियामी क्लबमा आबद्ध लियोनल मेसी एक सय ३० मिलियन अमेरिकन डलरका साथ दोस्रो स्थानमा छन्

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच वर्षपछि सर्वाधिक कमाउने फुटबलर बनेका छन् । फोर्ब्सले मंगलबार धेरै कमाउने खेलाडीको सूची सार्वजनिक गर्दा रोनाल्डो शीर्ष स्थानमा परेका हुन् । सन् २०१७ मा उनी अन्तिमपटक सर्वाधिक कमाउने खेलाडीको शीर्ष स्थानमा पुगेका थिए । करिअरमा उनी तेस्रोपटक फोर्ब्सको सूचीको शीर्ष स्थानमा रहे । यसै सिजनमा अमेरिकाको इन्टर मियामी क्लबमा पुगेका लियोनल मेसी दोस्रो स्थानमा छन् । फोर्ब्सले एक वर्षभित्र खेलाडीले आर्जन गरेको तथ्यांकका आधारमा सूची तयार पारेको हो । 

गत सिजनमा रोनाल्डो म्यानचेस्टर युनाइटेड परित्याग गरी साउदी प्रो लिगमा आबद्ध भएका थिए । युरोपियन लिगलाई चटक्कै छाडेका रोनाल्डो अल नासेरमा आबद्ध हुँदा एक सय ३६ मिलियन अमेरिकी डलर आर्जन गरेका छन् । उनी अल नासेरमा कीर्तिमानी रकममा आबद्ध भएका थिए । 

फोर्ब्सका अनुसार उनले अल नासेरबाट तलब र बोनसबापत ४६ मिलियन डलर लिने गर्छन् । यसैगरी, उनले विभिन्न कम्पनीको ब्रान्ड एम्बासडर र सम्झौताबाट ९० मिलियन अमेरिकन डलर आर्जन गरेका छन् । एक वर्षको अवधिमा एक सय ३६ मिलियन अमेरिकन डलर अन्य कुनै पनि फुटबल खेलाडीले आर्जन नगरेको फोर्ब्सले उल्लेख गरेको छ । यसअघि टेनिसका रोजर फेडेरर, गल्फका टाइगर उड र बक्सिङका कनर म्याकग्रेगरले रोनाल्डोले जत्तिकै रकम आर्जन गरेका थिए । रोनाल्डोको मुख्य आम्दानी स्रोतमध्ये सोसल मिडिया पनि हो ।

दोस्रो स्थानमा मेसी

अर्जेन्टिनी कप्तान मेसीले करिअरमा पहिलोपटक युरोपियन लिग छाडे । पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नगर्ने भएपछि उनले इंग्लिस फुटबलका आइकोनिक खेलाडी डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीसँग सम्झौता गरे । मेसीको आगमनसँगै अमेरिकाको लिगले ख्याती कमाएको छ । मेसीको प्रत्येक खेल हेर्न रंगशाला भरिभराउ हुने गर्छ । अर्जेन्टिनी खेलाडीले प्रतिस्पर्धा गर्ने दिनमा टिकट सोल्डआउट हुने गरेको छ । बार्सिलोना तथा पिएसजीजस्ता चर्चित क्लबबाट खेलिरहेका मेसीले यस वर्ष एक सय ३० मिलियन अमेरिकन डलर कमाएका छन् । फोर्ब्सले जनाएअनुसार उनले मियामीबाट तबल र बोनसबात ६५ मिलियन अमेरिकन डलर आर्जन गर्छन् । यसैगरी, उनले विभिन्न कम्पनीको प्रायोजनबाट ६६ मिलियन अमेरिकन डलर लिने गरेका छन् । गत वर्ष कतारमा आयोजना भएको फिफा विश्वकप फुटबल प्रतियोगिता अर्जेन्टिनालाई दिलाएपछि मेसी कीर्तिमानी रूपमा आठौँपटक बालोन डिअर विजेता बन्ने सम्भावना बढेको छ । 

एम्बाप्पे पूर्वसहकर्मीलाई पछ्याउँदै
फोर्ब्सको सर्वाधिक कमाइ गर्ने सूचीको तेस्रो स्थानमा फुटबलकै खेलाडी छन् । फ्रान्स तथा पिएसजीका युवा स्ट्राइकर केलियन एम्बाप्पे तेस्रो स्थानमा रहेको फोर्ब्सले जनाएको छ । फोर्ब्सका अनुसार उनले एक वर्षको अवधिमा एक सय २० मिलियन अमेरिकन डलर कमाएका छन् । उनले पिएसजीबाट तलब र बोनस गरी सय मिलियन अमेरिकन डलर लिने गरेका छन् । विभिन्न कम्पनीको विज्ञापन गरी उनले २० मिलियन अमेरिकन डलर लिने गरेका छन् । यस सिजनमा उनी रियल म्याड्रिडमा जाने निकै हल्ला चलेको थियो । पिएसजीले सिजनको सुरुवाती प्रि–म्याच तथा खेलमा उनलाई समावेश गरेको थिएन, तर पिएसजीले केलियनसँग सम्झौता गर्दै क्लबमै राख्यो ।

बास्केटबलका खेलाडी हावी
तेस्रो स्थानपछि बास्केटलबका खेलाडी हावी भएको देखिन्छ । फोर्ब्सको सूचीमा बास्केटबलका लेब्रोन जेम्स चौथो स्थानमा छन् । उनले ११९.५ मिलियन अमेरिकी डलर कमाएका छन् । यसैगरी, बक्सिङका कानेलो अल्भाराज एक सय १० मिलियन अमेरिकन डलरका साथ पाँचौँ स्थानमा छन् । गल्फका डस्टिन जनसन १०७ मिलियन अमेरिकन डलरका साथ छैटौँ स्थानमा रहेको फोर्ब्सले जनाएको छ । फिल मिकेलसन १०६ मिलियन अमेरिकन डलर आर्जन गरी सातौँ स्थानमा छन् । बास्केटबलका स्टेफन करीले आठौँ स्थान रक्षा गर्दा १००.४ मिलियन अमेरिकन डलर कमाए । गत वर्ष टेनिस करिअरबाट सन्न्यास लिएका २० पटकका ग्रान्डस्लाम विजेता टेनिसका रोजर फेडेरर नवौँ स्थानमा छन् । उनले ९५.१ मिलियन अमेरिकन डलर कमाए । बास्केटबलका केभिन डुरान्ट ८९.१ मिलियन अमेरिकी डलरका साथ दशौँ स्थानमा छन् ।