मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
रासस मकवानपुर
२०८० असोज २ मंगलबार १३:३८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रादेशिक संरचना सुदृढ भए संघीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

Read Time : < 1 मिनेट
रासस, मकवानपुर
२०८० असोज २ मंगलबार १३:३८:००

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताएका छन्।

संविधान दिवस २०८० को अवसरमा मंगलबार बिहान हेटौँडा– ६ स्थित चित्रेपानी सामुदायिक वनमा वृक्षरोपण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ, त्यति छिटो संविधानको मर्मबमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिने बताए।

उनले स्थानीय तहको संरचना पुरानो भए पनि प्रादेशिक संरचना नयाँ भएको र यही नै संघीयताको खम्बा रहेको उल्लेख गरे। मुख्यमन्त्री जम्कट्टेलले संविधानसभाबाट बनेको संविधान जनताकै रक्षाका लागि भएको भन्दै संविधानको मर्मअनुसार प्रदेश सरकारले काम गरिरहेको दाबी गरे।

संविधानले प्रदेशलाई दिएका एकल अधिकारका विषयमा धेरैजसो कानुन निर्माण भए पनि  संघ र प्रदेश, प्रदेश र स्थानीय तह तथा संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचीमा रहेका कतिपय कानुन निर्माण हुन बाँकी रहेको उनको भनाइ  छ। उनले संघीय कानुन बन्न ढिलाइ हुँदा ती विषयले मूर्तरूप लिन नसकिरहेको धारणा राखे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने राजनीतिक दस्ताबेजका रूपमा रहेको संविधान कार्यान्वयनका लागि तीनवटै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए। नेपाललाई संघीय संरचनामा लैजाने संघीयताको मुटुका रूपमा रहेका प्रदेशहरू संविधानले दिएका अधिकारबमोजिम कानुन निर्माण गरी कार्यान्वयनसमेत गरिरहेको उनको भनाइ छ।

बागमती प्रदेश सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउँदै छ। असोज ३ गते संविधान दिवसलाई भव्य रूपमा मनाउन सोमबारदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन्।