१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Friday, 09 May, 2025
भारतका इसान किसनलाई आउट गरेपछि खुसीयाली मनाउँदै बंगलादेशका खेलाडी 
कोलम्बो
२o८o भदौ ३० शनिबार o७:o३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया कप : भारत बंगलादेशसँग स्तब्ध

Read Time : > 2 मिनेट
कोलम्बो
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार o७:o३:oo

सर्वाधिक ६ पटकको च्याम्पियन भारतलाई सुपर फोरको अन्तिम खेलमा बंगलादेशले ६ रनले हरायो 

एसिया कपअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारत बंगलादेशसँग स्तब्ध भएको छ । शुक्रबार राति कोलम्बोमा सम्पन्न खेलमा भारत ६ रनले पराजित भएको हो । अब, आइतबार हुने फाइनल खेलमा भारतले श्रीलंकाको सामना गर्नेछ । बंगलादेशले प्रस्तुत गरेको दुई सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९.९ ओभरमा सबै विकेट गुमाउँदा एक सय ५९ रनमा समेटिएको थियो । भारतका लागि सुभमन गिलले शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

गिलले एक सय २१ रन बनाएका थिए । अक्षर पटेलले ४२ रन बनाउँदा अन्य ब्याट्सम्यानले बलियो साझेदारी गर्न सकेनन् । बंगलादेशका मुस्तफिजुर रहमानले सर्वाधिक तीन विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६५ रन बनाएको थियो । भारतविरुद्ध बंगलादेशका कप्तान सकिब अल हसनले ८० र तोबहिद ह्रिदोयले ५४ रन बनाएका थिए । नसुम अहमदेले ४४ रन बनाए । सकिब र ह्रिदोयले एक सय एक रनको साझेदारी गरेका थिए । 

नेपालविरुद्ध रोहित शर्मा, विराट कोहली, हार्दिक पांड्या, कुलदीप यादव, मोहम्मद सिराजजस्ता चर्चित खेलाडीलाई मैदान उतारेको भारतले बंगलादेशविरुद्ध भने जसप्रीत बुमराहसँगै रोहित, विराट, हार्दिक, कुलदीप र सिराजलाई विश्राम दिएको थियो । उनीहरूको स्थानमा तिलक बर्मा, सूर्यकुमार यादव, मोहम्मद सामी, शार्दुल ठाकुर र प्रसिद्ध कृष्णालाई मौका दिएको हो । सूर्यकुमारको एसिया कप २०२३ मा पहिलो खेल हो । तिलकले डेब्यु गरेका छन् । 

उपाधिका लागि भारत र श्रीलंका भोलि भिड्ने
उपाधिका लागि आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । सुपर फोरमा भारत शीर्षस्थानमा रहँदै र श्रीलंका दोस्रो भएर फाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भए पनि नेटरनरेटका आधारमा भारत शीर्षस्थानमा रहेको हो । यसअघि बिहीबार अन्तिम बलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै घरेलु टोली श्रीलंका एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बोस्थित प्रेमादाशा क्रिकेट रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको दुई सय ५२ रनको विजयी लक्ष्य श्रीलंकाले अन्तिम बलमा आठ विकेट गुमाउँदै भेट्टाएको हो । श्रीलंकाका कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रनको योगदान गरेका थिए । अन्तिम बलमा नायम बनेका चरिथले ४७ बलमा तीन चौका र एक छक्कासहित अविजित ४९ रन बनाउन सफल रहे । सदिरा समाराविक्रमले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाए । तेस्रो विकेटका लागि सदिरा र कुशलले एक सय रनको साझेदारी गरेका हुन् । पाकिस्तानका इफ्तिखर अहमदले तीन विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाउँदै दुई सय ५२ रन बनाएको थियो । वर्षा भएपछि ४२ ओभरमा झारिएको खेलमा पाकिस्तानका मोहम्मद रिजवानले अविजित ८६ रन बनाएका थिए । अब्दुल्लाह सफिकले ५२, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ र मोहम्मद नवाजले १२ रन बनाएका हुन् । छैटौँ विकेटका लागि रिजवान र अहमदले एक सय आठ तथा दोस्रो विकेटका लागि सफिक र आजमले ६४ रनको बलियो दुई साझेदारी गरेका थिए ।

भारतविरुद्ध पाकिस्तान र श्रीलंका कमजोर 

फाइनल प्रतिद्वन्द्वी श्रीलंकाले पनि सुपर फोरमा भारतलाई कडा चुनौती दिन सकेन । भारतविरुद्ध श्रीलंका एक सय ७२ मा समेटिएको थियो । दुई सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमै अलआउट भएको थियो । श्रीलंकाका कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । दुुनिथ वेलालागेले ४२ र धनञ्जय डी सिल्भाले ४१ रनको योगदान गरेका थिए । ओपनर र मध्यक्रमका ब्याट्सम्यानले कमजोर प्रदर्शन गर्दा श्रीलंका सस्तैमा समेटिएको थियो । श्रीलंकाविरुद्ध कप्तान रोहित शर्माले ५३ रन बनाए । 

यता पाकिस्तानले पनि भारतविरुद्ध राम्रो रन बनाउन सकेन । समूह ‘ए’को खेलमा भारत र पाकिस्तानबीचको खेल पहिलो इनिङ्सपछि हुनै सकेन । वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए । दोस्रो प्रतिस्पर्धामा भारतले तीन सय ५६ रन बनाउँदा पाकिस्तानले मात्र एक सय १८ रन बनाएको थियो । खेलमा भारत दुई सय २८ रनको विशाल जित निकाल्न सफल भयो । भारतविरुद्ध पाकिस्तानका अघा सलमान र इफ्तिकर अहमेदले सर्वाधिक २३ रन बनाएका थिए । कुनै पनि खेलाडीले ठूलो साझेदारी गर्न नसक्दा पाकिस्तान लज्जास्पद हार व्यहोर्न पुग्यो । पाकिस्तानलाई सस्तैमा समेट्न कुलदीप यादवले सर्वाधिक पाँच विकेट लिएका थिए । आठ ओभर बलिङ गरेका कुलदीपले २५ रन मात्रै खर्च गरेका हुन् । 

पाकिस्तानविरुद्ध भारतका विराट कोहली र केएल राहुलले अविजित दुई सय ३३ रनको साझेदारी गरेका थिए । कोहलीले एक सय २० तथा राहुलले एक सय ११ रन बनाएपछि भारत बलियो स्कोर बनाउन सफल भएको थियो । यसैगरी, कप्तान रोहित र सुभमन गिलले पहिलो विकेटका लागि एक सय २१ रनको साझेदारी गरेका थिए । रोहितले ५६ र गिलले ५८ रन बनाएका थिए ।