
श्रीलंकाको राजधानी कोलम्बोमा कोरोना नियन्त्रणका लागि लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएकाले त्यसलाई थप बढ्न नदिन कर्फ्यु बढाउँदै लैजाने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
श्रीलंकामा पछिल्लो एकैदिनमा आठ सय ३० जना संक्रमित थपिएका छन् । योसहित १५ सयभन्दा बढी कोरोना संक्रमित घरमै क्वारेन्टिनमा बसेका छन् । श्रीलंकामा हालसम्म कोरोना भाइरसबाट तीन हजार सात सय ३३ जना संक्रमित भएका छन् । तीमध्ये १३ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये तीन हजार दुई सय ६६ जना संक्रमणमुक्त भइसकेका छन् ।
श्रीलंकामा कोरोना भाइरस समुदायस्तरमा फैलिएको आइतबार दुई महिना पुगेको छ । संक्रमित हुनेहरूमा उद्योगधन्दामा काम गर्ने धेरै छन् । क्वारेन्टिनमा बसेकालाई पनि कडाइका साथ नियम पालना गर्न सरकारी अधिकारीले आग्रह गरेका छन् । उल्लंघन गर्नेलाई तीन महिनासम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।
यसैगरी स्वास्थ्य मन्त्रालयले अर्को छुट्टै आदेश जारी गर्दै सार्वजनिक रूपमा भिडभाड नगर्न आग्रह गरेको छ । प्रदर्शनी, भोजभतेर, सभा–सम्मेलन, भित्री तथा बाहिरी समारोह, सांस्कृतिक कार्यक्रमलगायतका भिडभाड हुने गतिविधि गर्न प्रतिबन्ध लगाइएको हो ।
प्रहरीले राजधानी कोलम्बोमा कर्फ्यु लगाएको छ । सरकारले यसअघि विद्यालय, विश्वविद्यालय, सार्वजनिक यातायातलगायत सञ्चालनमा रोक लगाउँदै आएको थियो ।
सरकारी अधिकारीले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन आमनागरिकले सहयोग नगरे अनियन्त्रित हुने चेतावनी दिएका छन् । प्रहरी र स्वास्थ्यकर्मीले घरघरमै गएर स्वास्थ्य परीक्षण गरिरहेको जनाइएको छ ।