
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलन आगामी १६ चैतमा श्रीलंकाको कोलोम्बोमा गर्ने तयारी भएको छ । बिमस्टेकका महासचिव तेन्जिङ लेकफेलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग बुधबार गरेको शिष्टाचार भेटमा यो जानकारी दिएका हुन् ।
बिमस्टेक सचिवालयले नेपाललाई सम्मेलनको मिति कूटनीतिक च्यानलबाट प्रस्ताव गरिसकेको छ । नेपालले चौथो शिखर सम्मेलन गरेको तीन वर्षपछि पाँचौँ शिखर सम्मेलनको तयारी भएको हो । यसअघि सम्मेलनको तयारी भए पनि कोभिड–१९ को जोखिमका कारण रोकिएको थियो ।
कूटनीतिक स्रोतहरूका अनुसार बिमस्टेक सचिवालयले १६ चैतमा कोलोम्बोमा शिखर सम्मेलन आयोजना गर्ने विषयमा नेपाल, भारत, भुटान, बंगलादेश, म्यानमार, थाइल्यान्ड र श्रीलंकालाई प्रस्ताव पठाइसकेको छ । महासचिव तेन्जिङले सदस्य मुलुकका शीर्ष नेतासँग छलफलपछि सम्मेलन तय हुने कूटनीतिक स्रोतले बताएको छ । श्रीलंकाले कोलोम्बोमा सातै सदस्य मुलुकका शीर्ष नेतालाई बोलाएर शिखर सम्मेलन आयोजना गर्ने चाहना कूटनीतिक च्यानलमार्फत व्यक्त गरेको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले बिमस्टेक प्रक्रिया अघि बढोस् भन्ने नेपालको चाहना व्यक्त गर्दै यो क्षेत्रमा आर्थिक सहकार्यमा जोड दिएका छन् । बिमस्टेक प्रक्रियालाई सक्रिय बनाउने महासचिव तेन्जिङको प्रयासमा नेपालले सहयोग गर्ने वचन प्रधानमन्त्री देउवाले दिएको बिमस्टेक सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासचिव तेन्जिङले ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री प्रेम आले, परराष्ट्र सचिव भरतराज पौड्याल, वाणिज्य सचिव दिनेश भट्टराईलगायतसँग पनि शिष्टाचार भेट गरेका थिए ।
नेपालले १४–१५ भदौ ०७५ मा काठमाडौंमा विमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गरेको थियो । महासचिव तेन्जिङले चौथो सम्मेलन विमस्टेकको संस्थागत सुदृढीकरण तथा क्षेत्रीय सहकार्यका लागि कोशेढुंगा सावित भएको परराष्ट्रमन्त्री खड्कालाई बताएका छन् । मन्त्री खड्काले बिमस्टेक प्रक्रियाका पक्षमा नेपाल रहेको भन्दै पाँचौँ सम्मेलन सुनिश्चित गर्नुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव तेन्जिङ बिहीबार ढाका फर्किने कार्यक्रम छ ।