Skip This
कार्यविभाजनप्रति एकीकृत समाजवादीमा असन्तुष्टि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २९ शुक्रबार o७:२९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कार्यविभाजनप्रति एकीकृत समाजवादीमा असन्तुष्टि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार o७:२९:oo

प्रवासमा काम गरिरहनुभएका साथीहरूलाई काम गर्न दिनुपर्छ । श्रीजी (स्थायी कमिटी सदस्य श्रीप्रसाद साह)को कार्यक्षेत्र किन खोसियो, मलाई के उद्देश्यले यो जिम्मेवारी दिइयो थाहा छैन । यो जिम्मेवारी म लिन सक्दिनँ ।

मन्त्रीबाट हटेपछि पार्टीले जिम्मेवारी नदिएको गुनासो गर्दै आएकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रवासको जिम्मेवारी पाएकी छिन् । उनले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिकाको इन्चार्जको जिम्मेवारी पाएकी छिन् । तर, यसमा झाँक्री खुसी छैनन् । 

स्रोतका अनुसार महासचिव घनश्याम भुसालले के जिम्मेवारी लिने भनेर झाँक्रीलाई सोधेका थिए । झाँक्रीले पार्टीले मूल्यांकन गरेर जिम्मेवारी देओस् भनेकी थिइन् । तर, भूमिका खुम्च्याउने र युवा नेतृत्वप्रति अविश्वास पैदा हुने गरी जिम्मेवारी तोकिएको भन्दै झाँक्री निराश भएकी छिन् । भाँक्रीले नयाँ पत्रिकासँग भनिन्, ‘प्रवासमा काम गरिरहनुभएका साथीहरूलाई काम गर्न दिनुपर्छ । श्रीजी (स्थायी कमिटी सदस्य श्रीप्रसाद साह)को कार्यक्षेत्र किन खोसियो, मलाई के उद्देश्यले यो जिम्मेवारी दिइयो थाहा छैन । यो जिम्मेवारी म लिन सक्दिनँ ।’ 

स्रोतका अनुसार झाँक्रीले मोर्चा संगठन वा लुम्बिनी प्रदेशको जिम्मेवारी चाहेकी थिइन् । युवा संघको जिम्मेवारी लिन पनि उनी तयार थिइन् । तर, पार्टीले टेक्ने जमिन नै नदिएको उनको बुझाइ छ । यसअघि प्रवास संयोजनको जिम्मेवारी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले सम्हालेका थिए । साहलाई हाल एसिया, अस्ट्रेलिया र अफ्रिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ । जिम्मेवारी खुम्च्याइएकोमा साह पनि सन्तुष्ट छैनन् । छलफल, विचार, विमर्श गरेर जिम्मेवारी तोकिँदा राम्रो हुने उनले बताए । यद्यपि, साहले नेतालाई जिम्मेवारी दिने क्रममा तलमाथि हुने बताए ।

केन्द्रीय सदस्य अशोक थापाले भारत प्रवास इन्चार्जको जिम्मेवारी पाएका छन् । केन्द्रीय कमिटी र सचिवालय बैठकका निर्णय सर्कुलर गर्दै एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजनबारे जानकारी दिएको हो । यसअघि जिम्मेवारी नतोकेको भन्दै केन्द्रीय कमिटी बैठकमै झाँक्रीले असन्तुष्टि पोखेकी थिएन् । केन्द्रीय कमिटीमा पदाधिकारीले बोल्ने कार्यसूची नभएपछि सदस्यहरूले धारणा स्पष्ट गर्न माग गरेपछि झाँक्रीले सम्बोधन गरेकी थिइन् । त्यसपछि सम्मानित नेता झलनाथ खनालले पदाधिकारीलाई मात्रै नभई सबै नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिएर फिल्डमा खटाउनुपर्ने बताएका थिए । जवाफ दिने क्रममा अध्यक्ष माधवकुमार नेपालले सबै नेतालाई जिम्मेवारी दिने र जिम्मेवारी कत्तिको पूरा गरियो भन्ने पनि हेनुपर्ने बताएका थिए । उनले सर्कुलरमा नेता तथा कार्यकर्ताको जिम्मेवारी तोकिएको बताएका थिए ।

यस्तो छ कार्यविभाजन
एकीकृत समाजवादीले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इन्चार्ज बनाएर कार्यविभाजन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्ने जिम्मेवारी पाएका छन् । संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बेदुराम भुसालले पाएका छन् ।

केन्द्रीय सचिव जीवनराम श्रेष्ठले केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी पाएका छन् । उमहासचिवसमेत रहेका केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् । स्थायी कमिटी सदस्य हरि पराजुली सचिवमा बढुवा भएका छन् । उनलाई लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । 

घनेन्द्र बस्नेतलाई कोशी, धर्मनाथप्रसाद साहलाई मधेश, तुलबहादुर गुरुङलाई गण्डकी, प्रकाश ज्वालालाई कर्णाली र गरिमा साहलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै, उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल र सम्पर्क विशेषको इन्चार्जको जिम्मेवारी विजय गुरुङलाई दिइएको छ । 

कतिपय पदाधिकारीले दोहोरो जिम्मेवारी पाएको र महिला र युवाको प्रतिनिधित्व अपेक्षित नभएको भन्दै आलोचना भएको छ । समानुपातिक, समावेशी सिद्धान्तअनुसार महिलाको प्रतिनिधित्व र जिम्मेवारी नभएको भन्दै महिला नेतृहरूले असन्तुष्टि जनाएका छन् । महिला उपाध्यक्ष र सचिवले महिलाको प्रतिनिधित्व बढाउने भूमिका खेल्न नसकेको भन्दै आलोचना भएको छ । २१ जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्दा ३ जना मात्रै महिला परेका छन् । जिम्मेवारी तोक्दा पनि उपमा सीमित गरिएको आरोप महिला नेतृहरूको छ । पोलिटब्युरो सदस्य दिलु पन्तले महिला र युवाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हामीले महिला र युवाको प्रतिनिधित्व बढाउनैपर्छ । समानुपातिक, समावेशी सिद्धान्तका आधारमा महिला र ४० प्रतिशत युवाको उपस्थिति केन्द्रीय कमिटीमा गराउने नेताहरूले नै भन्दै आउनुभएको हो । सोहीअनुसार अगाडि बढ्नुपर्छ भन्ने पार्टीपंक्तिको धारणा छ ।’