बाढी प्रभावित लिबियामा सहयोग पठाउन इयूको आग्रह

बुधबार, २७ भदौ, २०८०
डिजिटल संस्करण

युरोपेली संघले जर्मनी, रोमानिया र फिनल्यान्डको सहयोग लिबिया पठाइएको जनाएको छ। 

लिबियामा आएको बाढीका कारण कम्तीमा दुई हजार ३०० जनाको मृत्यु हुनुका साथै हजारौँ बेपत्ता भएका छन्। बाँचेकाहरूलाई पनि खाना र आश्रयस्थलको आवश्यकता रहेको छ। 

युरोपेली आयोगले यो सहायता विनाशकारी सहर डेर्नासम्म पुग्ने क्रममा रहेको र सहायता जुटाउन आफ्नो नागरिक सुरक्षा संयन्त्रलाई औपचारिक रूपमा सक्रिय बनाएको जनाएको छ। 

लिबियाका अधिकारीहरूले मंगलबार औपचारिक रूपमा सहयोगका लागि अनुरोध गरेपछि यो कदम चालिएको हो। 

इयूका तीन सदस्य राष्ट्रबाट प्राप्त हुने सहायतामा ‘टेन्ट, फिल्ड बेड र कम्बल, ८० वटा जेनेरेटर, खाद्य सामग्रीका साथै अस्पतालका टेन्ट र पानीट्यांकी’ रहेका छन्। 

इयूको संकट व्यवस्थापन आयोग जेनेज लेनार्किकका अनुसार इयूले आपतकालीन कोषका लागि प्रारम्भिक पाँच लाख युरो (पाँच लाख ३५ हजार अमेरिकी डलर) निकासा गरेको छ। 

उनले भने, ‘यो कठिन समयबाट गुज्रिरहेका लिबियाका सबैभन्दा बढी प्रभावित व्यक्तिहरूका लागि इयूले सहायता बढाउन तयार छ।’ (सिन्ह्वा)

सुझावित समाचार