१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हवाईजहाजमा इन्धन भर्न नयाँ रिफ्युलर खरिद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४१:oo

देशभरका विमानस्थलमा उडान र अवतरण गर्ने जहाजहरूमा इन्धन भर्नका लागि नेपाल आयल निगमले १४ वटा नयाँ रिफ्युलर खरिद गरेको छ । आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार १६ हजार लिटर क्षमताका आठवटा र ११ हजार लिटर क्षमताका ६ वटा रिफ्युलर खरिद गरिएको हो । यसपटक निगमले काठमाडौंबाहिरका विमानस्थललाई लक्षित गरेर मध्यम क्षमताका रिफ्युलर खरिद गरेको उनले बताए । खरिद गरिएकामध्ये चारवटा रिफ्युलर आयल निगमको सिनामंगल डिपोमा आइसकेका छन् भने अन्य रिफ्युलरहरू एक महिनाभित्रै प्राप्त हुने प्रवक्ता ठाकुरले जानकारी दिए ।

तीन वर्षअघि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा तेल हाल्न निगमले २७ हजार लिटर क्षमताका चारवटा नयाँ रिफ्युलर थपेको थियो । निगमले नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी अधिकांश विमानस्थलपरिसरमै हवाई इन्धन डिपो स्थापना गरेको छ । यी डिपोबाट धावनमार्गमा रहेका विमानहरूसम्म पुगेर तेल भर्न रिफ्युलर प्रयोग हुने गरेको छ । विमानस्थलछेउकै डिपोमा वा निगमले प्रादेशिक तथा शाखा कार्यालयमा रहेको भण्डारणगृहसम्म भने इन्डियन आयल कर्पोरेसन (आइओसी)का विभिन्न रिफाइनरी–डिपोबाट ट्यांकरले हवाई इन्धन ओसार्ने गरेका छन् । ट्यांकरबाट ल्याएको तेल रिफ्युलरमा हालेर विमानहरूमा भर्ने गरिन्छ ।

विमानस्थलछेउमै रिफ्युलर राखिने र लामो दूरीको यात्रा नगर्ने भएकाले रिफ्युलरहरू धेरै समय टिक्ने गर्छन् । निगमले यसअघि ०७७ मा २७ किलोलिटर क्षमताका चारवटा रिफ्युलर खरिद गरेको थियो भने ०७० मा १६ हजार लिटर क्षमताका चारवटा र ०६७ मा १२ हजार लिटर क्षमताका ६ थान रिफ्युलर खरिद गरेको थियो ।निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने विमान कम्पनीमा इन्धन भर्नका लागि सिनामंगलमा देशभरकै सबैभन्दा ठूलो हवाई इन्धन डिपो सञ्चालन गरिरहेको छ । सो डिपोमार्फत अहिले १३ वटा रिफ्युलर प्रयोगमा छन् । २७ हजार लिटर क्षमताका सातवटा, १६ हजार लिटर क्षमताका चारवटा र ११ हजार लिटर क्षमताका दुईवटा रिफ्युलरले त्रिभुवन विमानस्थलका विमानमा इन्धन भर्दै आएका छन् । 

ad
ad