१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 05 July, 2024
शिल्पा कर्ण काठमाडौं
२o८o भदौ २६ मंगलबार २१:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

आठ वर्षमा तीन करोड गैरकानुनी सम्पत्ति आर्जन गर्ने लेखापालले पाए सफाइ

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार २१:२२:oo

सिमरा मालपोत कार्यालयका तत्कालीन लेखापाल युगोलकिशोर ठाकुरलाई विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा सफाइ दिएको छ । विशेषले मुद्दा दायर भएको तीन वर्षपछि फैसला गर्दै मंगलबार उनीमाथि कसुर कायम नहुने फैसला सुनाएको हो । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासबाट यस्तो फैसला आएको हो । ठाकुरमाथि १५ असार ०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । 

०६८ बाट बाराकै कोष तथा लेखा नियन्त्रक कार्यालयमा सहलेखापालका रूपमा सरकारी सेवामा प्रवेश गरेका ठाकुर ०७२ मा लेखापालमा बढुवा भएपछि बाराको सिमरा मालपोतमा पदस्थापन भएको थियो । 

उनको सम्पत्ति गणना गर्दा तीन करोड चार लाख ९४ हजार रुपैयाँभन्दा बढी रकमको स्रोत खुल्न सकेको थिएन । सार्वजनिक पदधारण गरेको आठ वर्षमा उनले अवैध स्रोतबाट उक्त रकम आर्जन गरेको अभियोग लगाइएको थियो । 

मालपोतमा रहँदा उनले राजस्व रकमबापत सरकारी खातामा जम्मा गर्नुपर्ने रकमलाई आफ्नो र मालपोत प्रमुखको संयुक्त खातामा जम्मा गरी व्यक्तिगत खर्च गर्ने गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो । 

सिमरा मालपोतका तत्कालीन कार्यालय प्रमुख मदनप्रसाद गुप्तासँगको मिलेमतोमा सरकारी राजस्व हिनामिना गरेको र दुवैजनाले सञ्चालन गर्ने खातामा पैसा राखेर चलाउने गरेको अभियोगपत्रमा उल्लेख थियो । 

तत्कालीन मालपोत प्रमुख गुप्तामाथि पाँचवटा भ्रष्टाचारका मुद्दा थिए । एउटाबाहेक सबै मुद्दामा उनी दोषी पाइएका छन् । गुप्ताले पनि नक्कली राजस्व रसिद दिने गरेका थिए भने राजस्वबापतको रकम सरकारी खातामा नभई आफ्नो खातामा राख्न लगाउने गरेका दिए । 

लेखापाल ठाकुरसमेतको संलग्नतामा उक्त भ्रष्टाचार भएको ठहर अख्तियारको थियो । ठाकुरको ०७६ सम्मको सम्पत्ति जाँच गर्दा उक्त अवधिमा उनले १० लाख ८० हजार रुपैयाँ वैध आय गर्नुपर्नेमा त्यसभन्दा ३० गुणा बढी व्यय, लगानी तथा खर्च गरिएको अख्तियारको अनुसन्धानले देखाएको थियो । त्यसपछि उनीमाथि मुद्दा चलाइएकोमा मंगलबार उनले सफाइ पाएका हुन् ।

ad
ad
ad
ad