
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गएराति निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व. सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व. नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्ष नेम्वाङको गएराति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो । उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुगेका छन् ।