
ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा छाड्न आदेश भएको छ।
जिल्ला अदालत काठमाडौंले केशव तुलाधरबाहेक अन्य १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतले तुलाधरलाई साधारण तारेखमा छाड्न भनेको छ।
अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख धरौटी मागेको छ। कलाधर देउजा र विनोदप्रसाद पौडेलसँग १५–१५ लाख तथा रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, धमनकुमार कार्की, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ र लोकहरि घिमिरेसँग जनही सात लाख ५० हजार धरौटी मागिएको छ।
त्यसैगरी, शिवजी भट्टराई र ध्रुवप्रसाद अर्यालसँग तीन लाख ३० हजार, बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजय महर्जनसँग जनही एक लाख १० हजार धरौटी मागिएको छ।