मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
रमेश रावल सुर्खेत
२०८० भदौ २३ शनिबार १५:३३:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

कर्णालीका अर्गानिक खाद्यान्नबाट बनाइएका परिकारको स्वाद चखाउने धोको 

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
२०८० भदौ २३ शनिबार १५:३३:००

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ रकुमा २०४४ साल जन्मिएका केशव कडायत प्राथमिक शिक्षा गाउँमै, माध्यमिक शिक्षा कैलालीको लम्की चुहा नगरपालिकामा भयो।

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन(गेट कलेज) पहिलो ब्याजी रहेका उनमा कर्णाली अर्गानिक खाद्यान्नबाट बनेका परिकारकाे स्वाद चखाउने धोको छ। तैपनि उनको विविध कारणले त्यो सपना पूरा हुन सकेको छैन।

पकुवान्युगिनी, दुबई, मलेसियालगायतका पाँच देशका चर्चित होटेलहरूमा आफ्नो अनुभव सँगालेर नेपाली फर्किएकाले उनले भनेअनुसारका काम गर्न भने पाएका छैनन्। २०७६ सालमा नेपाल फर्किएर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिटिएच–पाक अतिथि केन्द्र खोलेका छन्। 

विदेशको अनुभवले नेपालमा नै केही गरौँ भनेर आएका कडायत केही निराश त देखिन्छन्। तैपनि उनले आशा चाहिँ मारेका छैनन्। ‘विदेशमा सिकेको सीप नेपालमा केही गरौँ, त्यो पनि आफ्नै प्रदेशमा भनेर आएको हुँ,’ उनले भने, ‘भनेअनुसारको काम गर्न नसक्दा केही आत्मग्लानि त भएको छ। तर, हार मानेको छैन।’

कर्णालीको चिनो, कागुनो, कोदो, फापर, सिमी, जौ, मार्सीधानलगायतका यही उत्पादन हुने खाद्यान्नबाट विभिन्न स्थानीय खानाका परिकारलाई विभिन्न स्वादमा चखाउने लक्ष्य राखेको कडायतले ‘ग्रामीण पर्यटनको विकास, युवालाई गाउँमै रोजगारीको सिर्जना गर्ने,’ उद्देश्य राखेका छन्। 

‘विषादीरहित खाद्यान्न उत्पादनमा जोड, स्थानीय खाद्यको बालीको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छु,’ उनले भने, ‘त्यो पनि त्यो भेटाउनका लागि न राज्यबाट सहयोग पाएको छु न कसैबाट। मेरो लक्ष्य अधुरै छ। तर पनि काम गरिरहेको छु।’

सिटिएच–पाक अतिथि केन्द्र खोलेका उनले त्यहाँ केही ग्रामीण इलाकाका विद्यार्थीलाई पाककला अध्यापन गराउने गरेका छन्। यहाँबाट पाककलाको ज्ञान सिकेर गाउँमा नै केही गर्ने लक्ष्य राखेको उनी बताउँछन्। 

‘यहाँबाट मैले केही विद्यार्थी उत्पादन गरेर ग्रामीण पर्यटन क्षेत्रमा खटाउन खोजेको छु। तर, भनेअनुसारको उत्पादन गर्न सकिएको छैन,’ उनले भने, ‘हाम्रोजस्तो पर्यटनको सम्भावना भएको क्षेत्रमा राम्रो होटेलको हस्पिटालिटी आवश्यक छ।’

सुर्खेतमा उनले आफ्नै बारीमा फलाएको अर्गानिक कृषि उत्पादनबाट केही विद्यार्थीलाई पाककला कक्षामा खानाको परिकार पस्कने तरिका तथा अतिथि सत्कार सीप सिकाइरहेका छन्। 

स्थानीय सरकारले नबुझेका पाककला

अहिले पनि ग्रामीण इलाकामा चाउचाउ बिस्कुटलगायतका जंकफुड आयात गरिरहेको त्यसलाई निरुत्साहित गर्नका लागि स्थानीयस्तरमा उत्पादन वस्तुबाट चाउचाउ, बिस्कुटलगायतका विभिन्न खाद्यवस्तु आफ्नै कृषि उत्पादन र उपभोगलाई जोड दिनुपर्ने उनको धारणा छ। 

‘स्थानीय युवाहरूलाई विदेश जानबाट रोक्न तथा सीप सिकाउँदै कामकोसमेत जोहो गर्न सकिन्छ,’ उनले भने, ‘डोजर लिएर मात्र विकास हो भन्ने स्थानीय सरकार र अन्य सरकारको धारणा छ। खासमा हामीले हाम्रो खाद्यवस्तुको बजारीकरण गर्न सकेनौँ भने अन्य वस्तु केवल गौण भएर जान्छन्।’

अर्गानिक उत्पादनबारे शिक्षित गर्न सके स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन विकासमा समेत टेवा पुग्ने कडायतले बताए। 

‘गाउँमा युवाहरू छन्, कोहीसँग जग्गा जमिन छ तर त्यस्को सही सदुपयोग छैन। यी दुवै कुरालाई जोड्दै अगाडि बढ्ने हो,’ उनले भने, ‘अहिले युवाहरूले रोजगारी नपाएर विदेश जानेको लहर चलेको छ। हामीले विदेशमा सिकेको सीप देशमा नै गरौँ। युवालाई रोजगारी दिऊँ भन्दा स्थानीय सरकारले मानेका छैनन्। यसैमा दुःख लाग्छ।’

उनले भने, ‘स्थानीयस्तरमा उत्पादन भएका खाद्यवस्तुको स्वाद चाख्नका लागि पनि पाककला सिक्न आवश्यक छ। त्यसका लागि स्थानीय सरकारले सहजीकरण गरे म सिकाउन तयार छु।’

कर्णालीमा उत्पादन हुने खाद्यबालीबाट बन्ने विभिन्न परिकार चाख्नका उनको सिटिएच–पाक अतिथि केन्द्र सुर्खेतमा धेरै आउने गरेका छन्।