कांग्रेस नेता डा. शेखर कोइरालाले ०८२ मा हुने महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न अहिलेदेखि दौडिनुपर्ने समय आइनसकेको बताएका छन् । राजधानीमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले कुनै पनि बहानामा महाधिवेशन धकेलिन नहुने, तर अहिले नै सभापतिका लागि दौडिनु नपर्ने बताए ।
‘पार्टी विधानअनुसार चार वर्षमा महाधिवेशन हुनुपर्छ । ०७८ मंसिरमा महाधिवेशन भएकाले अब १५औँ महाधिवेशन ०८२ भित्रै हुनुपर्छ । महाधिवेशन आउन अझै धेरै समय छ । तर, समय छँदै मानिसहरू सभापतिका लागि दौडिएका छन्,’ उनले भने, ‘यो देखेर मलाई अचम्म लागेको छ । यसपटक छिट्टै महाधिवेशन लागेजस्तो छ ! तर, किन छिटो महाधिवेशन लाग्यो मैले बुझेको छैन । सायद, अब देउवा जाँदै हुनुहुन्छ भनेर पो हो कि ! तर, सभापतिका लागि अहिलेदेखि नै दौडिन पर्दैन, समय आउँछ ।’
तर, उनले आफू तल्लो तहसम्म पुग्ने गरी अभियान लिएर जाने र महाधिवेशनतर्फ केन्द्रित बन्नेसमेत संकेत गरे । कोइरालाले आफू र महामन्त्री गगन थापाबीच एजेन्डामा कुनै विवाद नरहेको स्पष्ट गरे । ‘शेखर र गगनबीच असमझदारी भएका विषय आइरहेको देख्छु । सुशासनजस्ता एजेन्डामा हामी एकै ठाउँ छौँ । कहिलेकाहीँ कुनै विषयमा म र गगनबीच फरक मत हुन सक्छ,’ यसको कारण खुलाउँदै उनले भने, ‘गगन एग्रेसिभ छन्, म अलि मध्यमार्गी छु । उमेरले पनि काम गर्दो हो । मभन्दा उनी २६ वर्ष कान्छा छन् । युवा जोस, जाँगर अर्कै हुन्छ ।
साथै उनले सभापति शेरबहादुर देउवासँग नजिक भएको भन्ने आरोपको खण्डन गरे । ‘मलाई सभापति देउवासँग मिल्यो भन्छन्, तर केमा मिल्यो कसैले भन्न सक्दैनन्,’ कोइरालाले भने । अर्को प्रसंगमा उनले तत्काल कांग्रेस संसदीय दलको नेता परिवर्तनको परिस्थिति नबनेको बताए ।