
कोशी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । एमालेको कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले प्रदेश प्रमुख खापुङबाट आजै पद तथा गोपनीयताको शपथ पनि लिए ।
सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्धव थापाले ४ भदौमा लिएको विश्वासको मतसहित उनको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ को उपधारा ३ अनुसार ४८ घन्टाभित्र प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएको थियो । सोहीअनुसार प्रदेश प्रमुख खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
छोटो अवधिमै उनी दोस्रोपटक मुख्यमन्त्री बनेका छन् । गत २४ पुस ०७९ मा उनी पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । तर, १५ असारमा विश्वासको मत आर्जन गर्न असफल भएपछि पदमुक्त भएका थिए ।