Skip This
अमेरिका बसेर नेपालमा मानव तस्करी गर्ने गिराेहका नाइके पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २२ शुक्रबार १६:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिका बसेर नेपालमा मानव तस्करी गर्ने गिराेहका नाइके पक्राउ

आफू पनि अवैध बाटो हुँदै अमेरिका, दुई सय जनालाई अमेरिका लगिसकेको स्वीकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार १६:४७:oo

अमेरिकामा बसेर नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ।

भारत हुँदै नेपाल आउने क्रममा उनलाई गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भैरहवाबाट पक्राउ गरेको हो। गौतम नेपाली युवा–युवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार गर्दै आएको गिरोहका नाइके भएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए।

‘उनीविरुद्ध ६ जना पीडितको जाहेरी छ,’ उनले भने, ‘गौतमसहित चारजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।’ पक्राउ परेकाविरुद्ध प्रहरीले मानव बेचबिखत तथा ओसारपसारका साथै संगठित अपराधको कसुर पनि लगाएको छ।

ब्युरोले गत ७ साउनमा कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। आफ्नो बैंक खाता प्रयोग गर्न दिएर गिरोहलाई सघाउने अन्य दुईजना पनि थुनामा रहेको ब्युरोले जनाएको छ। गिरोहमा धेरैजना भए पनि गौतम नै नाइके भएको एसएसपी श्रेष्ठले बताए।

विभिन्न देशमा गौतमका एजेन्ट
रुकुम पूर्वको सिस्ने स्थायी घर भएका गौतम आफैँ पनि अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्। प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव थिए।

त्यसवेला एक कार्यक्रममा सहभागी हुन उनी अमेरिकाको टेक्सास पुगेका थिए। टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उनीहरूसँगकै संगतले पछि अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पुगेका थिए।

सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड लिएका उनले २०१५ मा त्यहाँको पासपोर्टसमेत लिइसकेका छन्। पक्राउ परेपछि उनले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गरेका छन्। दुई सयजनालाई अमेरिका लगिसकेको र १३ जना अहिले पनि बाटोमा भएको उनले बताएका छन्।