
संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवा जाने प्रवेशमार्ग र पावरहाउसको सम्पूर्ण काम पाँच दिनदेखि बन्द छ ।स्थानीय जग्गाधनीले मुआब्जा रकम माग गर्दै पावरहाउस पुखुवा जाने प्रवेशमार्ग र पावरहाउस गृह पुखुवाका सम्पूर्ण काम ठप्प पारेका हुन् ।
गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जापीडित संघर्ष समितिले सम्पूर्ण काम र यातायात ठप्प पारे पनि जिल्ला प्रशासन कार्यालय र अरुण तेस्रो आयोजनाले भने कुनै प्रतिक्रिया जनाएको छैन । मुआब्जापीडित संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले माग सम्बोधन नभएसम्म वार्तामा पनि नबस्ने बताए । ‘वार्ता र सहमति गर्न छलफल ग¥यो, विनानिष्कर्ष टुंगिन्छ, मुआब्जाबापतको रकमचाहिँ आउँदैन । हाम्रो माग सम्बोधन हुनपर्यो,’ राईले भने, ‘स्थानीय जग्गाधनीलाई मुआब्जाबापतको रकम दिने भनेर निर्धारण भइसकेको मुआब्जा किन रोकियो, पटक–पटक झुक्याएकाले अब चुप लागेर बस्दैनौँ, मुआब्जा तत्कालै वितरण हुनुपर्छ ।’
खाँदबारी नगरपालिका–४ को छयाङ्कुटी डाँडाबाट अरुण तेस्रोको कुनै पनि यातायातका साधान आयोजनास्थल जान दिएको छैन । सात वर्षदेखिको आन्दोलनपछि गत वैशाखमा मुआब्जा दर निर्धारण भए पनि पैसाचाहिँ नपाएको भन्दै स्थानीयहरू आन्दोलनरत छन् । पटक–पटकको मागलाई बेवास्ता गरेकाले सडकमा नै उत्रिनुपरेको स्थानीयहरू बताउँछन् ।
अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङ्कुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत्गृहसम्म जाने २४ किमि सडकखण्डको तत्कालै मुआब्जा दिनुपर्ने उनीहरूको माग छ । गत ०८० वैशाख २६ गते छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । पहिलो चरणमा चार सय ५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । तर, सरकारले रकम बाँड्न सकेको छैन । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ । हालसम्म करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।