
प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भेटवार्ता
बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक टुंग्याउन गठित संसदीय उपसमितिको समय सात दिन थप गरिएको छ । दलीय सहमति जुटाएर प्रतिवेदन तयार पार्न एक साता समय थप गरिएको हो । दलहरूबीच सहमति नजुट्दा विधेयक चार महिनादेखि अलपत्र छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले टिआरसी विधेयकमा संशोधन प्रतिवेदन तयार पार्न उपसमितिलाई सात दिनको समय थप्ने निर्णय गरेको समिति सचिव अधिराज राईले जानकारी दिए । उपसमितिले विधेयकमाथिको दफावार छलफल सकिसकेको छ ।
५ जेठमा २१ दिन समय दिएर उपसमिति गठन भएको थियो । काम नसकिएको भन्दै ५ साउनमा १५ दिन समय थप गरिएकोमा सहमति जुटेको छैन । समिति सदस्यहरूका अनुसार विधेयकका थुप्रै बुँदामा दलहरूबीच मतभिन्नता कायमै छ । अब शीर्ष तहबाट निकास निकाल्नुपर्ने उनीहरूको निष्कर्ष छ । यो विधेयक २५ फागुनमा प्रतिनिधिसभामा दर्ता भई १५ वैशाखमा समितिमा आएको थियो ।
विधेयकमा मतभिन्नता कायमै रहेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारै विपक्षी दलका नेता केपी ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार करिब पौने घन्टाको भेटमा प्रधानमन्त्री प्रचण्डले संसद्मा विचाराधीन अवस्थामा रहेका विधेयक र आसन्न अमेरिका तथा चीन भ्रमणमा केन्द्रित रहेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।
ओलीलाई मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले टिआरसी विधेयक टुंग्याउन सहयोग मागेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार एमाले अध्यक्ष ओलीले विधेयकलाई सुधार गरेर अगाडि बढाउन आफूहरू तयार रहेको बताएका थिए । ‘टिआरसी विधेयकबारे छलफल भयो । प्रधानमन्त्रीज्यूले यसमा सहमति गरौँ, छिटो अगाडि बढाउँ भन्नुभयो । उहाँ (ओली)ले पनि ठीक छ अघि बढौँ भन्नुभयो । सकारात्मक छलफल भयो,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आगामी ३० भदौमा अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् । उनी त्यतैबाट चीन भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डाबारे सरकारले गृहकार्य गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरणमा उपसमिति गठन
कानुन समितिले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक सम्बन्धमा दफावार छलफल गरेर प्रतिवेदन बुझाउन ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिमा कांग्रेसबाट तीनजना सदस्य छन् । सदस्यको नाम टुंगो लाग्न बाँकी छ । एमालेबाट प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा, माओवादीबाट रामकुमार राई, रास्वपाबाट सोविता गौतम, राप्रपाबाट ध्रुवबहादुर प्रधान, जसपाबाट रञ्जुकुमारी झा, एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर र जनमतबाट गोमा लाभ सापकोटा सदस्य छन् ।
सम्पत्ति शुद्धीकरण विधेयक २७ माघमा प्रतिनिधिसभामा दर्ता भई १५ वैशाखमा समितिमा आएको थियो । समितिले विधेयकमा छलफल अगाडि नबढाउँदा नेपाल अन्तर्राष्ट्रियस्तरमा कालोसूचीमा पर्ने जोखिम बढ्दै गएको छ । विधेयक समितिमा आएको चार महिनामा दफावार छलफलका लागि समिति गठन भएको हो ।