लामो समयदेखि आर्थिक क्रियाकलाप संकुचित बन्दा कर्जा प्रवाह बढ्न सकेको थिएन । तर, भदौ लागेयता कर्जा प्रवाह बढ्न थालेको बैंकरहरूले बताएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ४८ खर्ब ५९ अर्ब थियो । तर, १७ भदौमा आइपुग्दा कर्जा प्रवाह ४८ खर्ब ८२ अर्ब पुगेको छ । अर्थात्, यसबीच बैंकिङ प्रणालीबाट २१ अर्बको कर्जा प्रवाह भएको छ ।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै व्यापार बढ्दा कर्जाको माग बढ्न थालेको बैंकरहरूको भनाइ छ । विगतमा झैँ भदौमा दसैँ–तिहारलाई लक्षित गरेर व्यापारीले बढी मात्रामा वस्तु आयात गर्न सुरु गर्ने भएकाले कर्जाको माग बढ्नु स्वाभाविक भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए । उनले भने, ‘चाडपर्वका लागि व्यापारीले आयात बढाउने भएकाले पनि कर्जाको माग बढ्न थालेको हो । लामो समयसम्म कर्जा माग बढ्न सकेको थिएन ।’
यसरी माग बढ्न खोज्नुलाई सकारात्मक रूपमा लिएको उनले बताए । उनले अहिलेको बढ्दो मागलाई दिगोपन दिनेबारे भने चुनौती रहेको उनको भनाइ छ । त्यस्तै, २६ भदौेखि अटो व्यवसायको कुम्भ मेला नाडा अटो सो सुरु हुँदै छ । लामो समयदेखि गाडीको व्यापार कमजोर रहेको अवस्थामा आउँदै गरेको नाडा अटो सोबाट गाडीको व्यवसाय फस्टाउने अनुमान गरिएको छ । बजारमा नयाँ किसिमका गाडीको माग बढ्ने समय भएकाले यसले कर्जाको मागलाई बढाउने बैंकरहरूको अपेक्षा छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गाडीको कुम्भ मेलाले आयात बढ्नेसँगै कर्जाको मागलाई समेत बढाउने अपेक्षा गरेका छन् । त्यस्तै, सरकारले जग्गाको कित्ताकाटमा खुकुलो नीति लिँदा घरजग्गा कारोबार प्रोत्साहित हुने भएकाले यसमा टेवा पुग्ने उनको भनाइ छ ।
औद्योगिक कर्जा सुस्त
यद्यपि, उद्योगहरूबाट कर्जाको मागमा भने सुधार आउन नसकेको बैंकरहरूको भनाइ छ । एभरेष्ट बैंकका सिइओ खालिङ भन्छन्, ‘अहिले उद्योग क्षेत्रबाट नभई व्यापारका लागि मात्रै कर्जाको माग बढ्न थालेको छ । यो चिन्ताको विषय हो । यद्यपि, कर्जाको माग बढ्दा अर्थतन्त्र चलायमान हुने अपेक्षा भने गर्न सकिन्छ ।’
विगतमा बैंकहरूले ब्याजदर घटाएको परिणाम कर्जा सस्तिएको थियो । जसले कर्जा प्रवाह बढाउन मद्दत पुगेको थियो । तर, भदौका लागि बैंकहरूले बढाएको निक्षेपको ब्याजदरले कर्जाको ब्याजदर बढ्दै जाने संकेत दिएको छ । यसले ब्याजदर स्थायित्व कायम राख्न भने चुनौती थपिएको छ ।
ब्याजदर बढ्दै जाने अवस्था रहेमा फेरि मागमा संकुचन आउने अर्थशास्त्रीले आकलन गरिसकेका छन् । पछिल्लो समय बैंकको निक्षेप खोसाखोस हुने स्थिति बढ्दै गएपछि साउन र भदौमा सबैजसो बैंकले निक्षेपमा ब्याजदर बढाइसकेका छन् । साउनमा चारवटा बैंकले र भदौमा १२ बैंकले ब्याजदर बढाएका थिए । साउनमा औसतमा ९.८३ प्रतिशत ब्याज दिइरहेका बैंकले भदौमा बढाएर १०.३२ प्रतिशत पुर्याएका थिए । व्यवसाय बढ्ने स्थितिलाई मध्यनजर गरेर बैंक निक्षेप संकलनमा बढी केन्द्रित हुन थालेका छन् ।