मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १९ मंगलबार o६:३४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा महासचिव राईको कार्यकक्षमा ताला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार o६:३४:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईको कार्यकक्षमा ताला लगाइएको छ । सोमबार असन्तुष्ट केन्द्रीय सदस्य रविन चन्दले दिउँसो २ बजे एन्फा पुगेर तालाबन्दी गरेका हुन् । राई विगत पाँच दिनयता गृहजिल्ला उदयपुरमा छन् । त्यसअघि उनी अस्ट्रेलियामा फिफा महिला विश्वकप फाइनल हेर्न पुगेका थिए । अस्ट्रेलिया पुग्दा कार्यवाहक महासचिवको जिम्मेवारी अरुणमान जोशीलाई दिए पनि यसपटक उनले तीन सहमहासचिवमध्ये कसैलाई पनि जिम्मेवारी दिएका छैनन् ।

जसका कारण दैनिकी कामकाज नभएको भन्दै असन्तुष्ट समूहले ताला लगाएका हुन् । ‘उनी एन्फामा नभएको धेरै भयो । विगत पाँच दिनदेखि घरमा छन् । कसैलाई पनि कामकाजको जिम्मेवारी दिएका छैनन् । यसको जवाफदेही को ? उनले जे चाहे त्यही हुने हो ? त्यसैले ताला लगाएका हौँ,’ असन्तुष्ट टोलीका एक सदस्यले नयाँ पत्रिकासँग भनेका छन् । 

ताला लगाउने समयमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, सदस्यहरू रमेश व्यञ्जनकार, रुपेश अधिकारीलगायतको उपस्थिति थियो । पछिल्लो समय प्रशासनको कामकारबाहीप्रति अधिकांश सदस्य असन्तुष्ट छन् । उनीहरूले वेला–वेला महासचिव राईको राजीनामा माग्दै आएका छन् । 

दैनिकी काम नहुँदा समस्या 
नेपाली राष्ट्रिय फुटबल टोली दुई मैत्रीपूर्ण खेल खेल्न सोमबार म्यानमार प्रस्थान गर्‍यो । कार्यसमिति सदस्यलाई ४ बजे खेलाडी बिदाईमा बोलाए पनि मिडियालाई भने पुनः सूचना निकाल्दै बिहान साढे १० बजेलाई बोलाइएको थियो । तर, खेलाडीले ११ बजेसम्म आवश्यक पोसाक नपाएपछि बिदाई समारोह ११ बजे पनि सुरु भएन । खेलाडीले दिउँसो १२ बजेसम्म पनि स्पोर्टस् सुज पाएनन् । यसैगरी, एन्फाले २४ भदौमा एन्फा साधारणसभा बोलाएको छ । त्यसको कुनै तयारी भएको छैन ।

यसैगरी बी डिभिजन लिग र सी डिभजिन लिग हुन सकेको छैन । यू–१९ प्रतियोगिता आयोजना गर्ने विषयमा एन्फाभित्र कुनै तयारी नै नभएको आरोप एक उच्च अधिकारीले लगाएका छन् । ‘महासचिवलाई केही वास्ता छैन । प्रशासनको काम भएको छैन । अध्यक्षलाई पनि वास्ता नै छैन । दैनिकी कार्य केही भएका छैनन् । निराश भएर ताला लगाएका हौँ,’ एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने । एन्फा प्रवक्ता सुरेश शाहले भने यो समस्या चाँडै समाधान हुने मात्रै बताए ।