Skip This
एमाले लुम्बिनी प्रदेश अधिवेशन : सरकारले तमासा देखाएको ओलीको आरोप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १७ आइतबार
  • Friday, 26 July, 2024
२o८o भदौ १७ आइतबार o७:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले लुम्बिनी प्रदेश अधिवेशन : सरकारले तमासा देखाएको ओलीको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १७ आइतबार o७:५१:oo

एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले सन्तोषजनक काम नगरेको आरोप लगाएका छन् । बुटवलमा शनिबारदेखि सुरु भएको एमाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले सरकारमा भएका व्यक्तिहरू, उनीहरूका आसेपासे जोडिएका घटना सबै गुपचुप बनाउने गरिएको दाबी गरे ।

ओलीले भन्सारमा चोरी तस्करी बढ्दा राजस्व संकलनसमेत प्रभावित भएको भन्दै सरकारले देशलाई बर्बादीतिर लगेको आरोपसमेत लगाए । ‘सरकारमा रहेकाहरूले भ्रष्टाचारविरुद्ध अभियान भन्न सुहाउँदैन । सरकारले सुन तस्करीमा संलग्न रहेकाहरूमाथि अनुसन्धान गरेको छैन । लाजलाग्दो र घिनलाग्दो तमासा गरिरहेको छ,’ उनले भने, ‘भ्रष्टाचारीहरूलाई बयानसम्म गराइँदैन, दुनियाँले देखेको छ ।’

उनले चर्चामा रहेका विभिन्न प्रकरणबारे अनुसन्धान गरे सरकारमा रहेकाहरू नै जेल जाने स्थिति रहेको जिकिरसमेत गरे । एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको उनले दाबी गरे । प्रधानमन्त्री प्रचण्डको सडकमा उत्रिन्छौँ भन्ने अभिव्यक्तिप्रति संकेत गर्दै ओलीले प्रधानमन्त्रीलाई नै सरकार टिक्दैन भन्ने लागिसकेको बताए । ‘सरकारमा बस्ने, तर काम नगर्ने, अर्थतन्त्र ध्वस्त पार्ने अनि एमालेविरुद्ध सडकमा उत्रिने । यिनीहरूले सरकार चलाउन सक्दैनन्, यिनीहरूसँग सोच तथा गन्त्यव्य केही छैन,’ उनले भने । ओलीले एमालेको मिसन ०८४ बारे पनि उल्लेख गरे ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई बुझ्ने, पार्टीभित्र भविष्य देख्नेले गुटबन्दी नगर्ने भन्दै लुम्बिनी प्रदेश अधिवेशनबाट एकताको सन्देश दिनु जरुरी रहेको बताए । कायरहरूको काम गुटबन्दी गर्ने भन्दै उनले एकताबद्ध भएर अगाडि बढ्ने बताए । आफू सधैँ गुटबन्दीविरुद्धमा रहेको उनको भनाइ थियो । ‘पार्टी र गुटविपरीत हुन् । हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ । एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई छैन । गुट–उपगुटका रंगीन समाचारबाट सबै प्रतिनिधि सचेत हुनुपर्छ,’ उनले भने । 

एमाले महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशमा एकताबद्ध रूपमा सफल नेतृत्व चयन गर्न शुभकामना व्यक्त गर्दै आफू र उपाध्यक्ष विष्णु पौडेल एकसाथ रहेको दाबी गरे । उनले प्रदेशमा मात्रै नभई केन्द्रीय तहमा पनि एकसाथ रहेको बताए ।  

नेतृत्वका लागि कसरत

प्रदेश नेतृत्वका लागि मुख्य दुई समूह सक्रिय छन् । उपाध्यक्ष विष्णु पौडेल पक्षबाट प्रदेशका हालका अध्यक्ष राधाकृष्ण कँडेल र महासचिव शंकर पोखरेल पक्षबाट केन्द्रीय सदस्य हरि रिजाललाई अध्यक्षका लागि अगाडि सारिएको छ । अधिवेशन उद्घाटन सत्रमा सबैजसो नेताहरूले गुटबन्दीको विरोध गरे पनि केही दिनयता यहाँ गुटगत भेलाहरू हुँदै आएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सुरु भएको अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका एक हजार चार प्रतिनिधिहरू सहभागी छन् ।