१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मारियाना चन्द काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपत्यकामा गाईजात्राको रौनक

Read Time : > 1 मिनेट
मारियाना चन्द काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:१७:oo

काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरेर गाईजात्रा मनाइएको छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्राका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको हो । तिथि अन्योलका कारण केही ठाउँमा बिहीबार गाईजात्रा मनाइएको छ भने काठमाडौंकै केही ठाउँमा भने शुक्रबार गाईजात्रा मनाइँदै छ । उपत्यकामा बसोवास गर्ने गोरखा ताकुकोटका नेवार समुदायले बिहीबार काठमाडौंमा गाईजात्रा देखाएका छन् । गाईजात्रा मनाउने क्रममा युवाहरूको समूहले टाकटुके नाच देखाएका थिए । 

भक्तपुर नगरपालिकाले यो वर्षको गुन्हिपुन्ही (जनै पूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परे पनि दुई दिन गरेर मनाउने निर्णय गरेअनुसारे बुधबार गुन्हिपुन्ही र बिहीबार सापारु मनाउने निर्णय गरेको थियो । सोहीअनुसार नगर क्षेत्रभित्र सापारु मनाइएको छ । 

यी स्थानमा आज गाईजात्रा निकालिँदै 
काठमाडौंको बौद्ध क्षेत्रमा भने शुक्रबार गाईजात्रा मनाइँदै छ । यसका लागि तयारी पूरा भएको आयोजकले बताएको छ । ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको गाईजात्रा, रोपाइँ जात्रा र घोनाई जात्रा सम्पन्न गर्नका लागि बौद्धनाथ क्षेत्र विकास समिति, काठमाडौं महानगरपालिका– ६ र बौद्ध तामाङ कल्याण गुठीको संयुक्त आयोजनामा शुक्रबार गाईजात्रा मनाइँदै छ ।

काठमाडौंका केही क्षेत्रमा शुक्रबार गाईजात्रा निकालिँदै छ । गाईजात्रा निकालिने हनुमानढोका क्षेत्रलगायत असन, इन्द्रचोक, मखन, मरुटोल, जैशी देवल, भीमसेनथान, लगन चोक, ब्रह्मटोल, बांगेमुढा, भोटाहिटी क्षेत्रमा सवारीसाधन निषेध गरिने भएको छ । शुक्रबार यो क्षेत्रमा यातायात निषेध हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न महानगरपालिकाले अनुरोधसमेत गरेको छ ।

(प्रशिक्षार्थी)

ad
ad